नेप्से फर्कने सङ्केत
मङ्सिर २८ काठमाडौँ (अस)। साताको तेस्रो दिन मङ्गलवार नेप्से आशङ्काअनुरूप घटेन । यसले नेप्से सामान्य अवस्थामा फर्कन सक्ने सङ्केत गरेको छ ।
मङ्गलवार नेप्से सामान्य घटेर ४ सय ९३ दशमलव ४८ मा रोकियो । मङ्गलवार दिउँसो ३ सय ९१ तिर आएको नेप्से कारोबार अन्त्य हुदासम्म बढेर सो बिन्दुमा पुगेको हो । बैङ्क अफ काठमाण्डू, एभरेष्ट बैङ्कलगायतको शेयरमूल्य घटेको भए पनि कारोबार अन्त्य हुदासम्म यी बैङ्कको शेयरमूल्य बढ्न थालेपछि नेप्से सुधारोन्मुख देखिएको हो । मङ्गलवार कारोबारमा आएका ६ समूहमध्ये होटल, जलविद्युत् र विकास बैङ्कसमूहको परिसूचकमा सुधार आए पनि यसले नेप्सेको वृद्धिमा योगदान पुर्याउन सकेन । यी समूहको परिसूचक क्रमशः ३ दशमलव ३९, २ दशमलव ३१ र शून्य दशमलव ४२ बढ्यो । शेयर बजारमा बाहुल्यता रहेको बैङ्किङ, वित्त कम्पनी र बीमा समूहको परिसूचक घटेपछि नेप्से ओरालो लाग्न बाध्य भएको हो ।
मङ्गलवार भएको १ हजार ६ सय ९ कारोबारबाट ९९ हजार ३१ कित्ता शेयरको खरिदविक्री भई रू. ३ करोड ३९ लाख रकम परिचालन भएको छ । यसबाट ३ खर्ब ३७ अर्ब कुल बजार पूँजीकरण भएको छ । मङ्गलवार कारोबारमा आएका ७१ मध्ये ३० कम्पनीको शेयर मूल्य घट्यो, २८ कम्पनीको शेयर मूल्य बढ्यो भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहयो ।
मङ्गलवार शेयरसङ्ख्या र कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डै अग्रस्थानमा रहयो । बैङ्क अफ काठमाण्डूका ११ हजार ३ सय ५ कित्ता शेयर खरीदविक्रीबाट रू. ६२ लाख ४२ हजारको कारोबार भयो । कारोबार सङ्ख्याका आधारमा जेनिथ फाइनान्स सबैभन्दा अघि रहयो । जेनिथका १ सय ५० कारोबार भए । मङ्गलबार विराटलक्ष्मी विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १६ ले बढयो भने युनियन फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ३० ले घट्यो ।