शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चलखेल बढे पनि बजार बढेन

पुस २८,काठमाडौँ  । साताको चौथो दिन बुधवार नेप्सेले अगाडिका दुई दिनकै प्रवृत्ति पछयाउन खोजे पनि सफल हुन सकेन । पुस अन्त्यमा बैङ्कहरूले लगानीकर्ताहरूलाई मार्जिन कल गर्ने भएकाले लगानीकर्ताहरूबाट केही दिन यता नेप्से बढाउने प्रयास हुँदै आएको छ । चलखेलकै कारण सोमवार र मङ्गलवार कारोबारको अन्त्यतिर आएर नेप्से बढे पनि बुधवार बढ्ने प्रक्रिया बन्द भयो । बुधवार नेप्से शून्य दशमलव ४७ अङ्कले घटेर ४ सय दशमलव २ कायम भयो । बुधवार कारोबारमा आएका समूह र कम्पनीहरूको सङ्ख्या बढे पनि रकम परिचालन घटयो । केही महीना यता रकम परिचालन औसत रू. २ करोडसम्म हुने गरेकामा बुधवार घटेर रू.१ करोड २९ लाखमा सीमित भयो । बुधवार जलविद्युत् समूहको परिसूचक दोहोरो अङ्कले र विकास बैङ्क समूहको परिसूचक  सामान्यले बढे पनि यसले नेप्से वृद्धि गर्न टेवा पुगेन । जलविद्युत् र विकास बैङ्क समूहको परिसूचक क्रमशः १३ दशमलव १६ र १ दशमलव ५ अङ्कले बढयो । चिलिमे  र नेशनल हाइड्रोपावरको शेयर मूल्य क्रमशः रू.१५ र ४ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । गोरखा, क्लिन इनर्जी, बिजनेश डेभलपमेण्ट बैङ्कलगायतको शेयर मूल्य बढेपछि विकास बैङ्क समूहको परिसूचक बढ्न टेवा मिल्यो ।  बुधवार नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो ।

बुधवार कारोबारमा आएका ९ समूहमध्ये होटल समूहको परिसूचक दोहोरो अङ्कसहित सबैभन्दा धेरै १० दशमलव ९३ अङ्कले घटयो ।  सोल्टी र ओरिएण्टल होटलको शेयर मूल्य क्रमशः रू.९ र २ ले घटेपछि होटल समूहको परिसूचक घटेको हो । त्यसैगरी, 'अन्य', बैङ्किङ, वित्त र बीमा समूहको परिसूचक सामान्यले घटयो भने ट्रेडिङ  र उत्पादनमूलक समूहको परिसूचक स्थिर रहयो ।  

बुधवार ७५ कम्पनीका १ हजार १ सय ११ कारोबारबाट ५१ हजार ८ सय ६० कित्ता शेयरको खरीद-विक्री भएको छ । यसबाट ३ खर्ब ४७ अर्ब कुल बजार पूँजीकरण भएको छ । बुधवार कारोबारमा आएका मध्ये ४३ कम्पनीको शेयर मूल्य घटयो,  २३ कम्पनीको शेयर मूल्य बढयो भने ९ कम्पनीको शेयर मूल्य स्थिर रहयो ।

बुधवार शेयर सङ्ख्या र रकमको आधारमा बुटवल फाइनान्स अग्रस्थानमा रहयो । बुटवल फाइनान्सको ३ हजार २ सय ३४ शेयर खरीद-विक्रीबाट रू.७ लाख ६४ हजार रकमको कारोबार भयो । कारोबार सङ्ख्याको आधारमा सेवा विकास बैङ्कको सबैभन्दा धेरै १ सय ५१ कारोबार भयो । बुधवार एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३९ ले बढयो भने बुटवल पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रू ५६ ले घटयो ।