नेप्सेको वृद्धि निरन्तर
असार २९, काठमाडौं (अस)। यस साताको शुरूदेखि लगातार बढेको नेप्से परिसूचक बुधवार पनि ४ दशमलव २४ अङ्कले बढयो । नेपाल राष्ट्र बैङ्कले शेयर धितोमा दिने कर्जाको सीमा सम्बन्धित बैङ्कले नै निर्धारण गर्न पाउने व्यवस्था गरेपछि बुधवारको बजार उकालो लागेको हो । बुधवार बैङ्किङ र जलविद्युत् समूहको परिसूचक ७ अङ्कभन्दा धेरैले बढेपछि नेप्से बढेको हो । कारोबार रकमका आधारमा प्रमुख १० मा पर्ने कम्पनीमध्ये सात बैङ्क र एक जलविद्युत् कम्पनीको शेयरमूल्य वृद्धि भएपछि यी परिसूचक बढेका हुन् । ९ लाख देखि ८४ लाख रुपैयाँसम्म कारोबार भएका यी कम्पनीहरूको शेयरमूल्य रू. १ देखि २९ सम्म बढेको छ । बुधवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।
कारोबारमा आएका आठ समूहमध्ये विकस बैङ्क र वित्त कम्पनीसहित चार समूहका परिसूचक बढे, तीन समूहका परिसूचक घटे भने एक समूहको स्थिर रह्यो । घट्ने समूहमा उत्पादन तथा प्रशोधन समूह, 'अन्य’ र बीमा समूह हुन् । यी समूहका परिसूचक क्रमश: ४ दशमलव शून्य ७ ,२ दशमलव ३५ र २ दशमलव १६ ले घटे । बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य रू. ३७ ले घटेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको हो । 'अन्य’ समूहको नेपाल टेलिकमको शेयरमूल्य पनि रू. २ ले घटयो ।
बुधवार रकम परिचालन, कारोबार सङ्ख्याका साथै शेयर र कम्पनी सङ्ख्या पनि बढे । कुल ९ सय ७८ कारोबारबाट ७९ कम्पनीका १ लाख ५ हजार कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३ करोड ५१ लाखको रकम परिचालन भयो भने ३ खर्ब १७ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ५६ कम्पनीको शेयरमूल्य बढयो, १४ कम्पनीको शेयर मूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।
बुधवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालनका आधारमा बैङ्क अफ काठमाण्डू सबैभन्दा अग्रस्थानमा रह्यो । बैङ्कका ६६ कारोबारबाट १५ हजार १ सय ८१ शेयर किनबेच भई रू. ८४ लाख ८० हजारको कारोबार भयो ।
Admin 2011-07-14