नेप्सेमा सुधार हुन सकेन, कारोबार न्यून
फागुन २९, काठमाडौं (अस)। गत साताको अन्तिम दिन ३ सय ९० भन्दा तल झरेको नेप्से परिसूचक यस साताको पहिलो दिन अझै तल झरेको छ । अघिल्लो दिनको तुलनामा १ दशमलव ५५ अङ्कले घटेर नेप्से ३ सय ८८ दशमलव २५ अङ्कमा बन्द भएको छ । यसैगरी अघिल्लो दिनको तुलनामा कारोबार रकम रू. २० लाखले घटेर १ करोड ५० लाखमा सीमित भएको छ ।
आइतवार कारोबार भएका ५ ओटै समूहको परिसूचक घटेपछि नेप्से ओरालो लागेको हो । नेप्सेमा महत्त्वपूर्ण स्थान ओगट्ने बैङ्किङ, जलविद्युत् र वित्त समूहको परिसूचक क्रमशः ३ दशमलव शून्य ९, शून्य दशमलव ४७ र २ दशमलव ६ अङ्कले घटेपछि नेप्से पनि घट्न वाध्य बन्यो । बैङ्किङ समूहअर्न्तगत स्टयाण्डर्ड चार्टर्ड, कुमारी, माछापुच्छ्रे र नबिल बैङ्कको शेयरमूल्य घटेपछि यो समूहको परिसूचक घटयो । अरुण भ्याली जलविद्युत् कम्पनीको शेयरमूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक घटेको हो । त्यसैगरी विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहका परिसूचक पनि घटे । नेप्सेमा आएको कमीसगै 'क' वर्गका कम्पनीहरूको मूल्य मापक सेन्सेटिभ परिसूचक र सर्वसाधरण लगानीकर्ताले सजिलै खरीद-विक्री गर्नसक्ने शेयरको मूल्य मापक फ्लोट परिसूचक पनि क्रमशः शून्य दशमलव ४४ र शून्य दशमलव २२ अङ्कले घटे ।
अघिल्लो दिनको तुलनामा आइतवार शेयर सङ्ख्या र कारोबार सङ्ख्या बढे भने कम्पनी सङ्ख्या घटयो । आइतवार २ हजार २ सय ५ कारोबारबाट ६७ कम्पनीका ८५ हजार ९ सय ९७ कित्ता शेयर किनबेच भए । आइतवार कुल रू. ३ खर्ब ४१ अर्बबराबरको बजार पूँजीकरण भयो । आइतवार कारोबामा आएका कुल ६७ कम्पनीमध्ये ४० कम्पनीको शेयरमूल्य घटयो, १५ कम्पनीको बढयो भने १२ कम्पनीको शेयरमूल्य स्थिर रहयो । आइतवार मनकामना विकास बैङ्कका सबैभन्दा धेरै १० हजार ५ सय कित्ता शेयर खरिद-विक्रीमार्फत ११ लाख ४९ हजार को कारोबार भयो । प्रतिशतका आधारमा सूर्य दर्शन फाइनान्स, क्रिष्टल फाइनान्स र प्राइम बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै बढयो भने डीसीबीएल बैङ्क, कन्काइ र पाथीभरा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै घटयो । रकमका आधारमा क्रिष्टल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ८ ले बढयो भने स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ४० ले घटयो ।
Admin 2011-03-14