शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से तीन वर्षमा तीन चौथाई घटयो
यज्ञ वञ्जाडे
जेठ २९, काठमाडौं । विगत ३ वर्षमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७३ दशमलव ७२ प्रतिशत घटेको छ । विसं. २०६५ भदौ १५ गते नेप्से परिसूचक करीब १ हजार २ सय रहेकोमा ०६८ जेठ २६ गते ३ सय ८ दशमलव ८८ मा झरेको थियो । यो अवधिमा मागको तुलनामा करीब पाँच गुणा बढी शेयर आपूर्ति बढेको र बजार प्रणालीमा सुधार नआएकाले शेयर बजार निरन्तर ओरालो लागेको नेप्सेका वरिष्ठ अधिकृत निरञ्जन फुयालले बताए ।  'अहिले मुलुकमा राजनीतिक अन्योल र वित्तीय सङ्कटका लक्षणहरू देखा पर्दै गएकाले लगानीकर्ताको मनोबलमा नकारात्मक असर परेको छ,' उनले भने । लगानीकर्ताले लगानी गर्न डराएका कारण शेयरको माग घट्नु तर आपूर्ति बढ्दै गएकाले शेयर बजारको घट्ने क्रम बढेको उनको भनाइ थियो ।

चालू आर्थिक वर्षको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, फागुन, चैत र वैशाख गरी ८ महीनामा शेयर बजारबाट लगानीकर्ताले नोक्सानी व्यहोरेका छन् । सोही आवको पुस र माघ महीनामा भने शेयर बजारमा केही सुधार देखिएपछि लगानीकर्ताले उचित प्रतिफल प्राप्त गरेको फुयालले जानकारी दिए । यसैगरी आव ०६४/०६५ को भदौ, असोज, कार्त्तिक, मङ्सिर, पुस, चैत र वैशाखमा शेयर बजारमा लगानीकर्ताले नोक्सान व्यहोरेका थिए । तर, साउन, माघ, फागुन, जेठ र असारमा केही प्रतिफल प्राप्त गरेको पनि उनले बताए ।

सोही अवधिमा बजार पूँजीकरण ५५ दशमलव १२ प्रतिशत घटेको छ । विसं. ०६५ भदौ महीनाको आधाआधिमा रू. ६ खर्ब १२ अर्ब बजार पूँजीकरण भएकोमा ०६८ जेठ २६ मा २ खर्ब ७४ अर्बमा झरेको हो ।  यसैगरी सोही अवधिमा शेयर बजारको वार्षिक दैनिक औसत कारोबार करीब ७४ प्रतिशत नकारात्मक रहेको छ । यो अवधिमा सूचीकृत शेयर सङ्ख्या करीब १ सय ११ प्रतिशत बढेको छ । विसं. ०६५ भदौ १५ गते ४८ लाख ४५ हजार कित्ता शेयर सूचीकृत भएकोमा ०६८ सालमा १ अर्ब २ करोड ५१ लाख कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।

Admin 2011-06-13