नेप्सेमा सुधारको सङ्केत
कात्तिक २८, काठमाडौँ । साताको दोस्रो दिन सोमवार नेप्से परिसूचकमा झीनो सुधार भयो । सोमवार ४ सय २३ दशमलव ५ मा शुरू भएको नेप्से शून्य दशमलव २ अङ्कले बढेर ४ सय २३ दशमलव ६४ मा बन्द भयो । नेप्सेमा सुधार भएपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव २ ७ अङ्कले सुधार भयो । तर, सर्वसाधारणले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरको मूल्य मापक फ्लोट परिसूचक भने शून्य दशमलव शून्य १ अङ्क तल झर्यो । सोमवार १ हजार २ सय २३ कारोबारबाट ६८ कम्पनीका ६८ हजार ७ सय ३३ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. २ करोड १५ लाख १६ हजारबराबरको रकम परिचालन भयो भने रू. ३ खर्ब ६० अर्बभन्दा धेरैको कुल बजार पूजीकरण भयो ।
सोमवार ६८ कम्पनीको शेयर किन-बेच भएकोमा ३८ कम्पनीको शेयर मूल्य घटयो, १९ कम्पनीको शेयर मूल्य बढयो भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहयो । सोमवार बैङ्किङ समूह र जलविद्युत् समूहका परिसूचक क्रमशः शून्य दशमलव ९४ र शून्य दशमलव ५३ अङ्कले बढे । एभरेष्ट बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कको शेयर मूल्य क्रमशः रू. ५८ र ३६ ले बढेपछि बैङ्किङ समूहको परिसूचकमा सुधार आएको हो । त्यसैगरी, अरूण भ्याली र चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मूल्य बढेकाले जलविद्युत् समूहको परिसूचक बढेको देखिन्छ ।
सोमवार कारोबार रकम, कारोबार सङ्ख्या र किन-बेच भएका शेयर सङ्ख्याका आधारमा अरुणभ्याली हाइड्रोपावर कम्पनी सबैभन्दा अघि रहयो । यसको कुल १ सय ६६ कारोबारबाट ५ हजार ४ सय ६४ कित्ता शेयर खरीद-विक्री भएर रू. २८ लाख ५९ हजारभन्दा बढी रकम परिचालन भयो । सोमवार एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ५८ ले बढयो भने जेनिथ फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रू. १७ घटयो ।