नेप्से लगभग स्थिर
साउन ३१, काठमाडौं (अस)। मङ्गलवार बैङ्किङ र विकास बैङ्क समूहको परिसूचकमा सुधार हुन नसक्दा नेप्से धेरै बढ्न सकेन । शेयर बजारमा उल्लेख्य उपस्थित रहेको यी कम्पनीहरूको शेयरमूल्य घटेपछि नेप्से जम्मा शून्य दशमलव २६ अङ्कले बढयो । वाणिज्य र विकास बैङ्क समूहका २८ कम्पनीको शेयरमूल्य घटे । 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक सामान्य बढे पनि सर्वसाधारणले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने घटयो ।
मङ्गलवार खरीद-विक्री भएका सात समूहमध्ये जलविद्युत्, 'अन्य’, बीमा र वित्त समूहको परिसूचक बढे । उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर रह्यो । जलविद्युत्, 'अन्य’, बीमा र वित्त समूहको परिसूचक क्रमश: ९ दशमलव ७७, ५ दशमलव ८७, १ दशमलव २२ र शून्य दशमलव ३९ ले बढे । त्यसैगरी, बैङ्किङ र विकास बैङ्क समूहको परिसूचक क्रमश: १ दशमलव ४ र १ दशमलव १३ ले घटेका छन् । मङ्गलवार चिलिमे जलविद्युत्को शेयरमूल्य रू. ३२ ले र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ५ ले बढेपछि जलविद्युत् र 'अन्य’ समूहको परिसूचक बढे । मङ्गलवार आईएमई फाइनान्सको संस्थापक शेयर ५ हजार १ सय ६० कित्ता रू. ६४ मूल्य घटेर कारोबार भयो ।
मङ्गलवार कम्पनी सङ्ख्या बढे पनि कारोबार सङ्ख्या, खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या, र रकम परिचालन भने घटे । ८३ कम्पनीका ९ सय ५६ खरीद-विक्रीबाट ९४ हजार १ सय ३ शेयर किनबेच भए, जसबाट रू.२ करोड ४२ लाखबराबरको रकम परिचालन भयो भने रू. ३ खर्ब १५ अर्बको कुल बजार पूँजीकरण भयो । २८ कम्पनीको शेयरमूल्य बढयो, ४२ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।
सो दिन मूल्यका आधारमा चिलिमे जलविद्युत् र प्रतिशतका आधारमा मनकामना विकास बैङ्कको शेयरमूल्य धेरै बढे । मनकामनाको शेयरमूल्य ८ दशमलव १३ प्रतिशतले बढेको छ । मूल्य र प्रतिशत दुवैका आधारमा आईएमई फाइनान्सको संस्थापक शेयरमूल्य घटयो । फाइनान्सको शेयरमूल्य १९ दशमलव ६९ प्रतिशतले घटेको छ ।
Admin 2011-08-17