शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से बढ्न सकेन  
जेठ १६, काठमाडौं (अस)। साताको पहिलो कारोबार दिन सोमवार 'अन्य’, व्यापार र जलविद्युत् समूहको परिसूचक निक्कै घटेपछि नेप्से घटेको छ । यस दिन 'अन्य’ समूहको नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू.१२, व्यापार समूहको विशाल बजारको रू. १ सय १५ र जलविद्युत् समूहको बुटवल हाइड्रोपावरको रू.२७ ले घटेपछि यी समूह घटेका हुन् । यससँगै बीमा र विकास बैङ्कको परिसूचकसमेत घटेको छ । नेप्से १ दशमलव ७४ अङ्कले घटेर ३ सय ४२ दशमलव ७७ बिन्दुमा आइपुगेको छ । सोमवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक घटेको भए पनि सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक बढेको छ ।  

यस दिन कारोबारमा आएका ६ समूहमध्ये दुई समूहको मात्र परिसूचक बढेको छ । बैङ्किङ समूहका लक्ष्मी, एनएमबी, एभरेष्ट, कुमारी, नबिल, कृषि विकासलगायत बैङ्कका शेयरमूल्य बढेपछि यो समूहको परिसूचक बढेको हो । त्यसैगरी, जनरल, युनियन, नेपाल हाउजिङ एण्ड फाइनान्सलगायत कम्पनीको शेयरमूल्य बढेपछि वित्त समूहको परिसूचक बढेको हो । बैङ्किङ र वित्त समूहको परिसूचक क्रमशः १ दशमलव १४ र शून्य दशमलव ९५ ले बढे ।   

सोमवार कम्पनी, शेयर र कारोबार सङ्ख्या र रकम परिचालन घटेका छन् । यस दिन ७३ कम्पनीका १ हजार १ सय १६ कारोबारबाट ४४ हजार ९ सय २५ शेयर किनबेच भई रू. १ करोड ३९ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसैगरी, रू. ३ खर्ब ५ अर्ब कुल बजार पूँजीकरण भएको छ । कारोबारमा आएकामध्ये ३३ कम्पनीको शेयरमूल्य घटयो, ३१ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।

सोमवार कारोबार सङ्ख्याका आधारमा कर्णाली डेभलपमेण्ट बैङ्क र शेयर सङ्ख्याका आधारमा प्राइम कमर्शियल बैङ्क अग्रस्थानमा रहे । कर्णालीको  १ सय ७१ पटक कारोबार भयो भने प्राइमको ५ हजार ४ सय ७९ शेयर किनबेच भए । त्यसैगरी रू. २७ लाख ९५ हजार रकमको कारोबार भएको चिलिमे जलविद्युत् कम्पनी रकम परिचालनका आधारमा सबैभन्दा अघि रह्यो । यस दिन विशाल बजारको शेयरमूल्य सबैभन्दा धेरैले घटयो भने जनरल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू.२१ ले बढयो ।

Admin 2011-05-31