''नेप्सेमा तिहारको प्रभाव'' - रमेशकुमार निरौला
उपाध्यक्ष
धितोपत्र लगानीकर्ता सङ्घ
शेयर बजार परिसूचक नेप्से आइतवार केही घटेको छ । यसलाई सामान्य नै मान्नुपर्छ । किनकि तिहारअगाडि नेप्से बढ्ने सम्भावना निकै कम छ । चार्डपर्वको समयमा मानिसको खर्च अन्य क्षेत्रमा बढी हुने भएकाले शेयर बजारमा असर परेको हो । आजभोलि अधिकांश बैङ्कको बुक क्लोज हुने क्रम छ । तर, यसको प्रभाव शेयर बजारमा खासै परेको छैन ।
किनकि बैङ्कहरूले दिएको बोनस शेयर र लाभांशले बुक क्लोज हुँदा घटेको मूल्यलाई समायोजन गर्छ । आइतवार नेप्से परिसूचक घटे पनि कारोबार रकम, शेयर सङ्ख्या र कारोबार सङ्ख्यामा वृद्धि भएको छ । फलस्वरूप, कुल बजार पूँजीकरण पनि बढेको छ । खासगरी मर्चेण्ट फाइनान्सको संस्थापक शेयर खरीद-विक्री भएको कारणले समग्र नेप्सेको कारोबार बढेको हो । साताको पहिलो दिन भएकाले पनि आजकै अङ्कको आधारमा आगामी साताको शेयर बजारको आँकलन गर्न सकिँदैन ।
आइतवार वित्त कम्पनी बाहेक सबै समुहका परिसूचक घटेकाले नेप्से घटेको हो । बैङ्किङ समुहको परिसूचक सामान्य घटेको छ भने बिकास बैङ्क समुहको परिसूचक केही बढी घटेको छ । केहि विकास बैङ्कहरुको म्याचिङ कारोबार नरो किएकाले समग्र विकास बैङ्क समुहको परिसुचक घटेको हो । वित्त कम्पनी समुहको सिमित मात्रामा भएकाले यो समुहको परिसूचक बढे पनि नेप्सेमा कुनै असर परेन ।