शेयर बजार सुधारको अवस्थामा
साताको साताको पहिलो दिन ३ सय १८ दशमलव ५६ बाट कारोबार शुरू भएको नप्से परिसूचक अन्तिम दिन ३ सय २७ दशमलव ५५ मा बन्द भयो । साताको पहिलो र दोस्रो दिन नेप्से घटे पनि त्यसपछिका कारोबारमा केही सुधार देखिएको छ । साताको अन्तिम दिन बैङ्किङ र जलविद्युत् समूहमा क्रमश: ९ दशमलव ४७ र ४ दशमलव ९ अङ्क वृद्धिले नेप्से परिसूचक ४ दशमलव ५५ अङ्कले सकारात्मक देखिएको हो ।
विगतमा जस्तै यो साता पनि बैङ्किङ, जलविद्युत् र अन्य समूहको परिसूचक घटेकाले समग्र नेप्से परिसूचक घटेको थियो । साताको पहिलो दिन बैङ्किङ समूहमा ३ अङ्कले कमी आएको थियो । आइतवार र सोमवार बैङ्किङ, जलविद्युत् र अन्य समूहको परिसूचक घटेपछि नेप्से परिसूचक नकारात्मक अवस्थामा रहेको थियो । तर, पछिका दिनमा ती समूहको परिसूचकमा आएको सुधारले नेप्सेमा वृद्धि भएको हो ।
सन् २०११ को शुरुआतदेखि हालसम्मको नेप्से परिसूचकको अवस्थालाई हेर्ने हो भने फेब्रुअरी ६ मा ४ सय १३ दशमलव ७६ अङ्क सबैभन्दा उच्च र सन् २०११ जुन १५ मा २ सय ९२ दशमलव ३२ अङ्क सबैभन्दा न्यूनबिन्दु हो । करीब नौ महीनाको यो अवधिमा नेप्से परिसूचक ४१ दशमलव ५४ प्रतिशत घटेको छ । सन् २०११ जुन १५ पछिका दिनमा बढ्दो अवस्थामा देखिएको परिसूचक बिग्रँदो राजनीतिक अवस्था, बिग्रँदो लगानीको वातावरण, बैङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता अभावलगायत कारण नेप्से घट्दो अवस्थामा देखिएको हो ।
हाल बजारमा सामान्य सुधार देखिए पनि त्यो टिकाउ नहुने सम्भावना देखिन्छ । दशैंको समयमा बजारमा शेयर विक्री चाप बढ्ने भएकाले बजार घट्ने सम्भावना देखिएको हो । त्यसैगरी यो समयमा कम्पनीको दर्ता पुस्तिका बन्द हुने भएकाले नेप्से परिसूचकमा नकारात्मक असर पर्ने सम्भावना बढेको छ । यो समयमा एउटा सफल लगानीकर्ताले एउटै क्षेत्रमा मात्र लगानी नगरी क्षेत्रगत रूपमा पोर्टफोलियो बनाएर लगानी गर्न सके लगानीको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
यो साता नेप्से परिसूचकमा ८ दशमलव ९९ अङ्कले वृद्धि भई ३ सय २७ दशमलव ५५ मा कारोबार बन्द भएको छ । यस अवधिभर कुल रू. ९ करोड ४ लाख ३३ हजार ९ सय १७ बराबरको कारोबार भएको छ । उक्त समयमा ५ हजार ९ सय २० कारोबारबाट ५ लाख ५ सय ३ कित्ता शेयर किनबेच भए । अघिल्लो साताको तुलनामा यो साता कारोबार रकममा १७ दशमलव शून्य ४, कारोबारमा ४ दशमलव ८२ र शेयर सङ्ख्यामा ५ दशमलव शून्य ५ प्रतिशत कमी भएको छ ।
यो साता रेसुङ्गा विकास बैङ्कको शेयर सबैभन्दा बढी कमाउने समूहमा देखियो भने सबैभन्दा बढी गुमाउनेमा अरनिको डेभलपमेण्ट बैङ्कको शेयर अग्रस्थानमा रह्यो । सबैभन्दा धेरै कारोबार भएर चिलिमे हाइड्रोपावर कम्पनी अग्र स्थानमा छ भने शेयर सङ्ख्याका आधारमा आईसीएफसी फाइनान्सको संस्थापक शेयर अग्रस्थानमा छ ।
यो साताको कारोबारमा वाणिज्य बैङ्क समूहतर्फ१५ दशमलव ८९ अङ्कले वृद्धि भई २ सय ८४ दशमलव ८१ मा बन्द भएको छ । यसैगरी विकास बैङ्क समूहतर्फ५ दशमलव ५८ अङ्कले वृद्धि भई २ सय ८१ दशमलव ९१ मा बन्द भएको छ भने जलविद्युत् समूहतर्फ७ दशमलव ६२ अङ्क वृद्धि भएको छ । त्यसैगरी बीमा समूहतर्फ२ दशमलव ३, होटल २ दशमलव ६४ र अन्य समूहतर्फ९ दशमलव ४ अङ्क वृद्धि भएको छ । तर, वित्त समूहतर्फशून्य दशमलव ६७ र उत्पादनमूलक समूहतर्फ५ दशमलव ४५ अङ्कले कमी आएको छ ।
त्यसैगरी, कारोबार रकमका आधारमा क्षेत्रगत बाँडफँाट गर्दा यो साता वाणिज्य बैङ्क समूहले ४५ दशमलव ६३ प्रतिशत, होटल समूहले १ दशमलव २१ प्रतिशत, वित्त कम्पनीले १० दशमलव शून्य २ प्रतिशत, बोण्ड तथा डिवेञ्चर र उत्पादनमूलक समूहतर्फशून्य दशमलव २५, जलविद्युत् समूहले २१ दशमलव ७१ प्रतिशत, बीमा समूहले २ दशमलव ३६ प्रतिशत, विकास बैङ्क समूहले १५ दशमलव ४२ र अन्य समूहले ३ दशमलव ३९ प्रतिशत क्षेत्र ओगटेको छ ।
यो साता कुल १ सय १८ ओटा कम्पनीको कारोबार भएकोमा ५३ ओटा कम्पनीका शेयरमूल्य बढेको छ भने ३३ ओटाको घटेको छ । त्यस्तै, ३२ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको रह्यो ।
साप्ताहिक शेयर विश्लेषण ज्याम् टेक्नोलोजिज प्रालि (नेपाल शेयरमार्केट डटकम) द्वारा प्रस्तुत गरिएको हो ।
Admin 2011-09-23