शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शेयरको पूर्ण बियरिश साता
अघिल्लो सातादेखि घट्न शुरू गरेको नेपालको शेयर बजार परिसूचक नेप्से यो साताका पाँचै दिन निरन्तर घटयो । साताको पहिलो दिन ४ सय १७ दशमलव १८ बाट शुरू भएको नेप्से साताभरि ८ दशमलव ३० अङ्कले घटेर अन्तिम दिन ४ सय ८ दशमलव ८८ मा बन्द भयो । साप्ताहिक रूपमा यो लामो समयपछिको उच्च दरको घटाइ हो ।

लगानीका अन्य क्षेत्रमा देखिएको अन्योलको प्रभाव शेयर बजारमा पनि परेकाले शेयर लागानीकर्ताहरू हतोत्साही बनेको अवस्था छ । केही हप्ता पहिला शेयर बजारमा सुधारको सम्भावना देखिएपछि उत्साही बनेका लगानीकर्ताको मनोबल पुनः गुम्न गएको भान भएको छ । तर, बजार बढ्न सक्ने झीनो सम्भावना अझै पनि कायम देखिन्छ । यस्तै अन्योलमय वातावरणका कारण देशमा सम्पूर्ण आर्थिक गतिविधि शिथिल बन्दै गएपछि शेयर बजार पनि प्रभावित भएको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जमा नयाँ शेयर सूचीकृत हुने क्रम यो साता पनि कायम रहयो । यो साता नेप्सेमा दियालो विकास बैङ्कका १० लाख कित्ता, गौरीशङ्कर डेभलपमेण्ट बैङ्कका २० लाख कित्ता र युनिक फाइनान्सियल इन्षिटच्युशनका १० लाख कित्ता शेयर सूचीकृत भए । ती कम्पनीको शेयर क्रमशः रू.३ सय १४, ३ सय ३३ र २ सय ९८ मा कारोबार भए । यसरी नयाँ कम्पनीका साधारण शेयर तथा पुराना कम्पनीका हकप्रद र बोनस शेयर थपिएकाले पनि समग्र शेयर बजार घटेको हुन सक्ने अनुमान छ ।

गत असोज ४ गते ४ सयको हाराहारीमा टेवा पाएर क्रमशः वृद्धि भएको नेप्से परिसूचक कात्तिक ७ गते त्यसपछिको सबैभन्दा उच्च बिन्दु ४ सय २६ दशमलव ३३ सम्म पुगेको थियो । त्यसपछिका केही दिन लगभग स्थिर जस्तै देखिएको नेप्से अध्यादेशमार्फत आव ०६७/६८ को वार्षिक बजेट प्रस्तुत भएपश्चात् निरन्तर घटिरहेको छ । बजेटमा पूँजी बजारको दीर्घकालीन विकास तथा विस्तार गर्ने खालका कुनै नयाँ कार्यक्रम नआएकाले पनि शेयर बजार परिसूचक ओरालो लागेको भनाइ पनि र्सार्वजनिक भएका छन् । बजार घट्दो अवस्थामा देखिए पनि नेपाल स्टक एक्सचेञ्जमा किन-बेच हुने कम्पनी र शेयर सङ्ख्यामा  भने खासै कमी आएको छैन । यसले वातावरण अनुकुल हुनेबित्तिकै शेयर बजार  उकालो लाग्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

यसरी नयाँ कम्पनीका साधारण शेयर तथा पुराना कम्पनीका हकप्रद र वोनस शेयर थपिएकाले बजारमा शेयरको मागभन्दा आपूर्ति बढी भएको छ । साथै नयाँ कम्पनीका शेयर नामसारी गर्नका लागि म्याचिङ कारोबार गर्ने क्रम पनि बढेको देखिन्छ । शेयर मूल्य कम भएको समयमा नामसारी गर्दा खर्च कम लाग्ने भएकाले यो समयमा म्याचिङ कारोबार बढी भएको हुन सक्छ ।

फलस्वरूप, बजारको कुल कारोबार रकम पनि निकै कम भइरहेको छ । नेप्सेमा सूचीकृत अघिकांश कम्पनीहरूको वाषिर्क साधारणसभा र प्रतिफल वितरणका लागि बुक क्लोज भइरहेकाले पनि नेप्से घट्न थप सहयोग मिलेको देखिन्छ । यस हिसाबले यो समयलाई शेयर बजार घट्ने समयका रूपमा नै लिने भएकाले यसलाई लगानीकर्ताहरूले सामान्य रूपमा नै दिने गर्दछन् ।

सङ्क्रमणकालीन राजनीतिक अवस्था अझ वढ्दै गएकाले पनि शेयर बजारमा यस्तो अवस्था देखिएको हो । नेपालका लगानीकर्ताहरू कहिले देशमा स्थिर सरकार बन्ला र पूँजी बजारको विकासमा सघाउने खालको नीति बन्ला भनेको प्रतिक्षा गरेको बसेका पनि हुन सक्छन । तर, देशका प्रमुख राजनीतिक दलहरू भने आफ्नै धुनमा व्यस्त देखिएका छन् । यसले स्थिर सरकार गठन हुने सम्भावना पनि न्यून बन्दै गएको छ । यस्तो अवस्थालाई तत्काल सामाधान गरी हाल देखिएका अवरोधहरूलाई पन्छाएर देश र जनताको हितमा निर्णय गर्नु आवश्यक भइसकेको छ । यदि देशमा यस्तो वातावरणको सृजना भएमा देशको अर्थतन्त्र सकारात्मक बाटोतिर अगाडि बढ्ने निश्चित छ । त्यसको सकारात्मक प्रभाव पूँजी बजार तथा अन्य आर्थिक क्षेत्रहरूमा पनि पर्नेछ ।

यस हप्ता नेप्से परिसूचक ८ दशमलव ३० अङ्कले घटेर ४ सय ८ दशमलव ८८ मा कारोबार बन्द भयो । सो अवधिभर रू. २४ करोड ७ लाख ३१ हजार ४ सय ७२ बरावरको रकम परिचालन भयो । उक्त अवधिमा ७ हजार ५ सय ५० कारोबारबाट १८ लाख ७० हजार ५ सय ६५ कित्ता शेयर खरिद-विक्री भए ।

यो साताभरिमा नेरुडे लघुवित्त विकास बैङ्कको शेयर मूल्य सबैभन्दा बढी बढयो भने युनिक फाइनान्सियल इन्षिटच्युशनको शेयर मूल्य सबैभन्दा बढी घटयो । त्यसैगरी, कारोवार रकम र शेयर सङ्ख्याका आधारमा तारागाउँ रिजेन्सी होटल अग्रस्थानमा देखियो, यो कम्पनीको शेयर साताको अन्तिम दिन मात्रै म्याचिङ कारोबारबाट किन-बेच भएको थियो ।

यस हप्ताभरिको कारोबारमा वाणिज्य बैङ्क समूहको परिसूचक १३ दशमलव ५७ अङ्कले घटेर ३ सय ७१ दशमलव ७ मा बन्द भयो भने विकास बैङ्क समूहको परिसूचक २ दशमलव १९ अङ्कले कम भई ३ सय ९१ दशमलव ११ मा अन्त्य भयो । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक ३ दशमलव ८७, बीमासमूहको परिसूचक ४ दशमलव ६५ अङ्कले घटे । वित्तसमूहको परिसूचक शून्य दशमलव १४ र व्यापार समूहको परिसूचक ४ दशमलव ८० अङ्कले सुधार भए । यो साता होटल समूहको परिसूचक सबैभन्दा बढी ८ दशमलव ६६ अङ्कले वृद्धि भयो ।

साताको कारोबार रकमलाई क्षेत्रगत आधारमा बाँडफाँट गर्दा वाणिज्य बैङ्क समूहले २३ दशमलव ४४ प्रतिशत, होटल समूहले ४६ दशमलव ९२ प्रतिशत, वित्त कम्पनी समूहले १० दशमलव ४२ प्रतिशत हिस्सा ओगटे । त्यसैगरी, अन्य समूहले १ दशमलव ०८ प्रतिशत, विकास बैङ्क समूहले ६ दशमलव ५६ प्रतिशत, जलविद्युत् समूहले २ दशमलव २२ प्रतिशत हिस्सा ओगटे भने वोण्ड एण्ड डिवेन्चरले ३ दशमलव ९१ प्रतिशत हिस्सा ओगटे । त्यस्तै, व्यापार समूहले शून्य दशमलव ७३ प्रतिशत र बीमासमूहले ४ दशमलव ७४ प्रतिशत हिस्सा ओगटे । लामो समयदेखि वाणिज्य बैङ्कको समूहले सबैभन्दा बढी कारोबार गर्दै आएकोमा यो साता भने होटल समूहले सबैभन्दा हिस्सा ओगट्न सफल भयो ।

साताभर कुल १ सय १६ कम्पनीको कारोबार भएकोमा २६ कम्पनीको शेयर मूल्य बढयो, ५५ कम्पनीको शेयर मूल्य घटयो भने ३५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन ।
साप्ताहिक शेयर विश्लेषण ज्याम् टेक्नोजोलिज प्रालि (नेपाल शेयरमार्केट डटकम) द्वारा प्रस्तुत गरिएको हो ।