असोज २७, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड -नेप्से परिसूचक बढ्ने क्रम बुधवार पनि रोकिएन । लगातार एक हप्तादेखि बढिरहेको नेप्से बुधवार शून्य दशमलव ६५ अङ्कले बढेर ४ सय २० भन्दा माथि पुग्यो । कारोबार रकम भने मङ्गलवारको तुलनामा रू. ३ करोडभन्दा बढीले घटेर रू. ६९ लाखमा सीमित भयो । नेप्सेसँगै बुधवार 'क' वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक, फ्लोट परिसूचक र सेन्सेटिभ फ्लोट परिसूचकसमेत बढे ।
बुधवार कारोबार भएका वाणिज्य बैङ्क, विकास बैङ्क, बीमा र उत्पादनमूलक समूहका परिसूचक बढे भने जलविद्युत्, वित्त कम्पनी र अन्य समूहका परिसूचक घटे । बुधवार जम्मा २ सय ७७ कारोबारबाट ३४ कम्पनीका २२ हजार १ सय ३७ कित्ता शेयर खरीद-विक्री भए । कारोबार रकम, शेयर सङ्ख्या, कम्पनी सङ्ख्या सबै घटे पनि कुल बजार पूँजीकरण भने मङ्गलवारको तुलनामा खासै परिवर्तन भएन । बुधवार रू. ३ खर्ब ५५ अर्बभन्दा माथिको कुल बजार पूँजीकरण भयो ।
बुधवार कारोबार सङ्ख्या, शेयर सङ्ख्या र कारोबार रकमका आधारमा प्राइम कमर्शियल बैङ्क सबैभन्दा अगाडि रह्यो । प्राइमको ५० कारोबारबाट रू. १९ लाखका ३ हजार कित्ताभन्दा बढी शेयर खरीद-विक्री भए । त्यसैगरी, प्राइमको शेयर मूल्य पनि रू. १८ ले बढेर ५ सय ३३ मा बन्द भयो । बुधवार युनिलिभरको शेयर मूल्य सबैभन्दा बढी बढयो । युनिलिभरको शेयर मूल्य रू. ९७ ले बढेर ४ हजार ९ सय ९३ मा बन्द भयो । लुम्बिनी बैङ्कको शेयर मूल्य सबैभन्दा बढी घटयो । यस बैङ्कको शेयर मूल्य रू. २२ घटेर २ सय ४५ मा बन्द भयो ।