शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अन्तरराष्ट्रिय शेयर : सबै ओरालो

 



अमेरिका


लगातार उकालो लागेको अमेरिकी शेयर बजार गतहप्ता भने ओरालो लागेको छ । यूरोपको ऋणसङ्कट बढ्दै गएको छ भने अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले दुईदिने बैठकका बेला अर्थतन्त्रबारे केही उत्साहपूर्ण मूल्याङ्कन गर्दैै अल्पकालीन ब्याजदरलाई झण्डै शून्यनजिक नै राखेको छ । तर, फेडले वित्तीय बजार प्रवद्र्धन गर्न कुनै नयाँ योजना भने घोषणा नगरेका कारण लगाानीकर्ताको मनोबल घट्न गएकाले गतहप्ता अमेरिकी शेयर बजार ओरालो लागेको हो । त्यसैगरी उपभोक्ता खर्च बढ्दै गए पनि व्यापारिक लगानी मत्थर हँुदै गएको तथा घरजग्गा बजार अझै मन्दीमा रहेको सो बैठकमा बताइएपछि अमेरिकी शेयर बजार घट्ने क्रममा रह्यो । गतहप्ता प्रमुख अमेरिकी शेयर परिसूचक ‘एसएण्डपी–५००’ २ दशमलव ८ प्रतिशतले ओरालो लागेर १ हजार २ सय १९ दशमलव ६६ मा बन्द भयो । त्यसैगरी ऊर्जा र प्राविधिसम्बन्धी कम्पनीहरूको शेयरमूल्यमा उच्च ह्रास आएकाले डाउजोन्स परिसूचक गतहप्ता २ दशमलव ६ प्रतिशतले ओरालो लागेर ११ हजार ८ सय ६६ दशमलव ४० मा बन्द भयो । ‘न्यासड्याक’ परिसूचक पनि ३ दशमलव ५ प्रतिशतले तल झरेर २ हजार ५ सय ५५ दशमलव ३३ मा बन्द भयो ।


यूरोप


अघिल्लो हप्ता मिश्रित रहेको यूरोपियन शेयर बजार गतहप्ता भने ओरालो लागेको छ । यूरोपको ऋणसङ्कट अझ बढ्दै गएकाले र फेडद्वारा वित्तीय बजार प्रवद्र्धन गर्ने कुनै नयाँ योजना घोषणा नगरेकाले गतहप्ता त्यसको असर सम्पूर्ण यूरोपियन शेयर बजारमा पर्न गएको छ । विश्वको ठूलो लेखापरीक्षण संस्थान ‘अर्नष्ट एण्ड योङ’ले यो वर्ष यूरोजोन क्षेत्रमा आर्थिक मन्दीको प्रभाव झनै बढ्ने चेतावनी दिएको छ । यूरोजोनको आर्थिक अवस्थाबारे एक प्रतिवेदनमा अर्नष्ट एण्ड योङले सन् २०१२ को पहिलो अर्धवार्षिक अवधिभरि मन्दी थप जटिलतातर्फ उन्मुख हुने बताएको छ । सन् २०१२ मा यूरोजोनको समग्र आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतभन्दा माथि नरहने अनुमान गरिएको छ । त्यसैगरी सो क्षेत्रका समग्र रोजगारी दर सन् २०१५ सम्म १० प्रतिशतभन्दा कम हुने देखिएका कारणले पनि गतहप्ता सम्पूर्ण यूरोपियन शेयर बजारमा नकारात्मक असर परेको हो । सम्पूर्ण यूरोपियन बजारको बेञ्चमार्क परिसूचक ‘स्टक्स यूरोप–६००’ गतसाताभरि २ दशमलव ८ प्रतिशतले घटेर २ सय ३३ दशमलव ७१ मा बन्द भएको छ । बेलायतको ‘फुट्सी’ २ दशमलव ६ प्रतिशत घट्यो । त्यसैगरी जर्मनीको ‘ड्याक्स’ गतहप्ता ४ दशमलव ८ प्रतिशतमा झरेर बन्द भयो भने फ्रान्सको ‘क्याक’ ६ दशमलव ३ प्रतिशत ओरालो लागेर बन्द भयो ।


एशिया


गतसाता एशियाली शेयर बजार पनि बियरिश रह्यो । यूरोपको ऋणसङ्कटमा सुधार नदेखिएको साथै सुधारका लागि कुनै कडा नियम र योजना निर्माण नभएकाले सम्पूर्ण विश्वको आर्थिक सुधार सुस्त हँुदै गएकाले लगानीकताको मनोबल घटेर गतहप्ता सम्पूर्ण एशियाली शेयर बजार घटेको हो । चीनमा प्रत्यक्ष वैदेशिक लगानी घटेका कारण चीनको आर्थिक वृद्धि झनै सुस्त हँुदै जानुका साथै नयाँ अर्डरमा कमी आएबाट औद्योगिक उत्पादनमा समेत कमी आउने सम्भावना देखिएकाले गतहप्ता चीनको प्रमुख शेयर परिसूचक ‘शाङ्घाई कम्पोजिट’ ३ दशमलव ९ प्रतिशतले घटेर बन्द भयो । गतहप्ता जापानको ‘निक्केई– २२५’ १ दशमलव ६ प्रतिशतले ओरालो लाग्यो भने हङकङको ‘≈याङसेङ’ पनि १ दशमलव ६२ प्रतिशत झरेर बन्द भयो । त्यसैगरी दक्षिण कोरियाको ‘कोस्पी’ ३४ दशमलव ७९ अङ्कले घट्यो भने अष्ट्रेलियाको ‘एसएण्डपी–२००’ परिसूचक पनि ४३ दशमलव ८७ अङ्कले घट्यो ।


भारत


एशियाली बजारलाई पछ्याउँदै गतहप्ता भारतीय शेयर बजार पनि ओरालो लागेको छ । भारतको महँगी दर नोभेम्बर महीनामा ९ प्रतिशतभन्दा माथि रहेको छ साथै, खाद्यवस्तुको मूल्य बढ्ने क्रम सुस्तिए तापनि डलरको तुलनामा भारतीय रुपैयाँको घट्दो मूल्यका कारण इन्धन र उत्पादित मालसामानको भाउ बढेकाले गतहप्ता यसको नकारात्मक असर सम्पूर्ण भारतीय शेयर बजारमा परेको छ । भारतीय केन्द्रीय बैङ्कले ब्याजदर पनि घटाएकाले गतहप्ता बजार ओरालो लागेको हो । बम्बे स्टक एक्सचेञ्जको सेन्सेटिव परिसूचक (सेन्सेक्स) गतसाताभरि ७ सय २२ दशमलव ५ अङ्कले घटेर १५ हजार ४ सय ९१ दशमलव ३० मा बन्द भयो । त्यसैगरी भारतकै अर्को शेयर परिसूचक ‘निफ्टी’ पनि गतसाताभरि २ सय १५ दशमलव १० अङ्कले ओरालो लागेर बन्द भयो ।