शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 01, 2012
  

लक्ष्मीले बढायो नेप्सेको कारोबार


माघ १७, काठमाडौं । मंगलवार लक्ष्मी बैङक्को शेयर ठूलो परिमाण (बल्क)मा किनबेच भएपछि नेपाल स्टक एक्सचेञ्जको कारोबार रकम औसतभन्दा दोब्बर भयो । कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचक भने बढ्न सकेन । लक्ष्मी बैङ्कका १ लाख ४२ हजार ५ सय ४८ कित्ता शेयर रू. ३ करोड २७ लाख ७६ हजारमा किनबेच भएको हो । त्यसैले, अन्य दिनमा औसत रू. २ करोडको हाराहारीमा हुँदै आएको नेप्सेको कारोबार रकम मङग्लवार रू. ५ करोड नाघ्यो ।


लक्ष्मीका १ लाख ३६ हजार २ सय ९२ कित्ता शेयर ब्रोकर नम्बर ६, अग्रवाल सेक्युरिटिजमार्फत तीनपटक गरेर किनबेच भएका थिए । यी शेयरमध्ये १७ हजार हारती इन्भेष्टमेण्ट, ९५ हजार नेपाल मेन्था प्रोडक्स र २४ हजार ड्रिम्स क्यापिटलले विक्री गरेको थाहा भएको छ ।

 

ती तीनओटै कम्पनीले विक्री गरेको शेयर पिए इन्भेष्टमेण्ट कम्पनीले खरीद गरेको बुझिएको छ । लक्ष्मी बैङ्कको शेयर विक्री गर्ने सबै कम्पनी राकेश अकुडिया समूहका हुन् भने खरीद गर्ने पिए इन्भेण्टमेण्ट कम्पनी राजेन्द्र खेतानको भएको खुल्न आएको छ ।


मङ्गलवार व्यापार शुरू भएको केही समयसम्म बढेको नेप्से परिसूचक करीब साढे १ बजेपछि घट्न शुरू गरेको थियो । शुरूमा नेपाल टेलिकमका साथै केही बैङ्कहरूको शेयरमूल्य बढेकाले वृद्धि भएको परिसूचक केही समयपछि सबै समूहका कम्पनीको मूल्य घटेपछि ओरालो लागेको हो । त्यसकारण दिनभरिमा ‘अन्य’बाहेक सबै समूहका परिसूचक पनि घटेपछि नेप्से परिसूचक शून्य दशमलव १७ प्रतिशतले घट्यो ।


मङ्गलवार व्यापारमा आएका सातमध्ये विकास बैङ्क, वित्त कम्पनी, बैङ्किङ, होटल, जलविद्युत् र बीमा समूहका परिसूचक क्रमशः शून्य दशमलव ४४, शून्य दशमलव २८, शून्य दशमलव २२, शून्य दशमलव १४, शून्य दशमलव १ र शून्य दशमलव शून्य ९ प्रतिशतले घटे । अघिल्लो दिनको तुलनामा व्यापार सङ्ख्या घटे पनि कारोबार रकमका साथै कम्पनी सङ्ख्या र शेयर सङ्ख्यामा भने वृद्धि भयो ।

 

मङ्गलवार १ हजार ५ सय १ कारोबारबाट ९१ कम्पनीका २ लाख ३५ हजार २१ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ खर्ब ९३ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो । सो दिन ५० कम्पनीको शेयरमूल्य घट्यो २० कम्पनीको मूल्य बढ्यो भने बाँकीको स्थिर रह्यो ।


मङ्गलवार शेयरसङ्ख्या र व्यापार रकमका आधारमा लक्ष्मी बैङ्क सबैभन्दा अग्रस्थानमा रह्यो । बैङ्कको कुल रू. ३ करोड २७ लाखको व्यापार भयो । त्यसैगरी, १ सय १ पटक शेयर किनबेच भएको कामना विकास बैङ्क कारोबार सङ्ख्याका आधारमा अग्रस्थानमा रह्यो ।

 

दियालो विकास बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ४१ प्रतिशतले घट्यो भने पाथिभरा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ४९ प्रतिशतले बढ्यो ।