नेप्सेमा करीब ६ अङ्कको वृद्धि
पुस १८, काठमाडौं । गत साता ३ सय १२ बिन्दुबाट टेवा पाएको नेप्से परिसूचक सोमवार थप ६ अङ्कले बढेको छ । नेप्सको वृद्धिमा आधारभूत सूचनाले सघाएको यस क्षेत्रसम्बद्ध व्यक्तिहरूले बताएका छन् । ‘बजार निकै घटेपछि ठूला लगानीकर्ताले समेत शेयर विक्री गर्ने क्रम बढ्ने खबर बजारमा आइरहेको थियो,’ ब्रोकर सङ्घका अध्यक्ष अञ्जनराज पौड्यालले भने । ‘तर अहिले ठूला लगानीकर्ताले शेयर बेच्ने सम्भावना टरेको महसूस गरिएपछि बजार बढ्न थालेको हो,’ पौड्यालले भने ।
अहिले सरकारले समेत शेयर बजार सुधार गर्ने प्रयास थाल्ने बताउन थालेको र सीडीएस विनियमावलीसमेत पारित भएको खबरले पनि नेप्से परिसूचक बढ्न थालेको विश्लेषकहरू बताउँछन् । फलस्वरूप नेप्से परिसूचक सोमवार १ दशमलव ७७ प्रतिशतले बढेर ३ सय २४ दशमलव ३८ बिन्दुमा पुगेको छ । परिसूचकले गत १ महीनामा कायम गरेको उच्च, न्यून र बन्द बिन्दुको आधारमा निकालिएको पीभट विश्लेषणले आगामी १ महीनामा परिसूचकको पहिलो लक्ष्य ३ सय ४१ मा देखिन्छ ।
सोमवार कारोबारमा आएका ७ समूहमध्ये बैङ्किङ समूहको परिसूचक सबैभन्दा धेरै बढ्यो भने त्यसलाई ‘अन्य’, बीमा र विकास बैङ्क समूहले क्रमशः पछ्याएका छन् । यी समूहका परिसूचक क्रमशः २ दशमलव ६७, २ दशमलव ११, शून्य दशमलव ७ र शून्य दशमलव ६२ प्रतिशतले बढे । बैङ्किङ समूहका सिद्धार्थ, एनएमबी, लुम्बिनी, सनराइज, सिटिजन्स, एभरेष्ट, डीसीबीएललगायत बैङ्कको शेयरमूल्य बढेको छ । नेपाल टेलिकमको शेयरमूल्य रू. ९ ले बढेपछि ‘अन्य’ समूहको परिसूचक बढेको हो । बीमा समूहका एशियन लाइफ, लाइफ इन्स्योरेन्स, प्राइम लाइफलगायतको शेयरमूल्य बढेको छ ।
मूल्य बढ्ने विकास बैङ्कमा क्लिन इनर्जी, ज्योति, गरिमा, स्वावलम्बनलगायत छन् । होटल, जलविद्युत् र वित्त कम्पनी समूहका परिसूचक भने क्रमशः १ दशमलव १९, शून्य दशमलव शून्य ३ र शून्य दशमलव शून्य ९ ले घटे । सोमवार रकम परिचालन बढे पनि कम्पनी सङ्ख्या, शेयर सङ्ख्या, कारोबार सङ्ख्या भने घटे । सोमवार १ हजार २ सय ४७ कारोबारबाट ७३ कम्पनीका ८८ हजार २ सय ७६ कित्ता शेयर किनबेच भए, जसबाट रू. २ करोड ४३ लाखभन्दा बढी रकम परिचालन भयो भने रू. ३ खर्ब १ अर्ब बजार पूँजीकरण भयो । सो दिन ४४ कम्पनीको शेयरमूल्य बढ्यो, २२ कम्पनीको शेयरमूल्य घटे भने बाँकीको स्थिर र≈यो ।
सोमवार कारोबार सङ्ख्याका आधारमा प्रोफेशनल विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रहे । प्रोफेशनलको १ सय ३० पटक शेयर किनबेच भयो भने बैङ्क अफ काठमाण्डूको ११ हजार ७१ कित्ता शेयर किनबेच भए । रकम परिचालनका आधारमा अग्रस्थानमा रहेको एभरेष्ट बैङ्कको रू. ६२ लाख ७३ हजारभन्दा धेरै रकमको कारोबार भयो । सोमवार नेपाल एक्सप्रेस फाइनान्सको शेयर सबैभन्दा धेरै ७ दशमलव २९ प्रतिशतले घट्यो भने सिद्धार्थ बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै २४ दशमलव ४८ प्रतिशतले बढ्यो ।