शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 19, 2012
  

नेप्से ६ महीनामा ४३ अङ्क घट्यो


माघ ४, काठमाडौं । चालू आवको पहिलो ६ महीनामा नेप्से परिसूचक ४२ दशमलव ९३ अङ्कले घटेको छ । २०६८ असार मसान्तमा ३ सय ६२ दशमलव ८५ कायम भएको नेप्से परिसूचक बुधवार २ दशमलव २१ अङ्कले घटेसँगै ३ सय १९ दशमलव ९२ मा आइपुगेको छ । २०६७ असार मसान्तमा नेप्से परिसूचक ४ सय ७७ दशमलव ७३ थियो । यो ६ महीनाको अवधिमा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको व्यापारमापक फ्लोट परिसूचक पनि ५ दशमलव ३६ अङ्कले घटेको छ ।


नेप्सेमा सूचीकृत शेयर सङ्ख्या बढे पनि लगानीकर्ता बढ्न नसक्दा परिसूचक घटेको हो । राष्ट्र बैङ्कको एक तथ्याङ्कअनुसार असोज मसान्तसम्ममा मात्रै २ करोड ९ लाख कित्ता थप शेयर नेप्सेमा सूचीकृत भएका छन् । तर, नियमित व्यापार गर्ने लगानीकर्ताहरूको सङ्ख्या घटिरहेको ब्रोकरहरूले बताउँदै आएका छन् । बैङ्क तथा वित्तीय संस्थाले चुक्ता पूँजी बढाउन हकप्रद तथा बोनस शेयर दिन थालेपछि बजारमा सूचीकृत शेयर सङ्ख्या बढेको हो ।


गत असार मसान्तमा सूचीकृत कम्पनीहरूको कुल चुक्ता पूँजी रू. १ खर्ब २४ करोड रहेकोमा बुधवारसम्ममा रू. १ खर्ब ५० अर्ब पुगेको छ । ६ महीनाको यो अवधिमा नेप्से परिसूचकको उच्च बिन्दु साउन ४ गते कायम भएको ३ सय ८० बिन्दु र≈यो भने न्यून बिन्दु पुस ११ गते कायम भएको ३ सय १२ दशमलव ४९ बिन्दु रह्यो ।


बुधवार भने जलविद्युत्बाहेक सबै समूहका परिसूचक घटेपछि नेप्से घटेको हो । व्यापारको शुरूमा बढिरहेको परिसूचक नेपाल टेलिकमको शेयरमूल्य करीब १ बजेर १० मिनेट जाँदा रू. ८ ले घटेपछि सोझै घटेर अघिल्लो दिनको बन्द बिन्दुभन्दा मुनि आइपुग्यो । त्यसयता दिनभर नेप्से परिसूचक बढ्न सकेन । व्यापारमा आएकामध्ये जलविद्युत् समूहको परिसूचक २ दशमलव ८३ प्रतिशतले बढेको छ । केही दिनदेखि घटेको चिलिमेको शेयरमूल्य रू. ३१ ले बढेपछि जलविद्युत् समूहको परिसूचक बढेको हो । ‘अन्य’, बैङ्किङ, बीमा, वित्त र विकास बैङ्क समूहका परिसूचक क्रमशः १ दशमलव ७९, शून्य दशमलव ८, शून्य दशमलव ३६, शून्य दशमलव १ र शून्य दशमलव शून्य ६ ले घट्यो ।


स्ट्याण्डर्ड चार्टर्ड, किष्ट, हिमालयन, डीसीबीएललगायत बैङ्कको शेयरमूल्य घट्यो । मूल्य घट्ने बीमा कम्पनीहरूमा नेपाल इन्स्योरेन्स, गुराँस लाइफ र एशियन लाइफ इन्स्योरेन्स रहे । वित्त कम्पनीहरूमा नेपाल, जानकी, जनरल, युनियन, जेनिथलगायतको शेयरमूल्य घटेको छ । विराटलक्ष्मी, साङ्ग्रिला, नीलगिरि, मनकामनालगायत विकास बैङ्कको शेयरमूल्य घट्यो ।


बुधवार कम्पनी सङ्ख्या र व्यापार सङ्ख्या बढ्यो भने शेयर सङ्ख्या र व्यापार रकम भने घटेका छन् । सो दिन १ हजार ३ सय ४० पटक भएको किनबेचबाट ७५ कम्पनीका ७१ हजार ४ सय ९७ कित्ता शेयर किनबेच भए । यसबाट रू. १ करोड ४२ लाखभन्दा धेरै रकमको व्यापार भयो । ३४ कम्पनीको शेयरमूल्य घट्यो, २७ को बढ्यो भने बाँकीको स्थिर रह्यो यो ।