सातामा नेप्से ३ अङ्कले घट्यो
माघ ५, काठमाडौं । यस साता नेप्से परिसूचक ३ दशमलव शून्य ९ ले घट्यो । गतसाता बिहीवार ३ सय २३ दशमलव ६२ बिन्दुमा बन्द भएको नेप्से परिसूचक घटेर ३ सय २० दशमलव ५३ बिन्दुमा आइपुगेको छ । सोमवार, मङ्गलवार र बुधवार घटेको नेप्से परिसूचकमा बिहीवार मात्र सुधार आएको छ ।
सोमवार १ दशमलव ४६ अङ्कले घटेको परिसूचक त्यसयता क्रमशः शून्य दशमलव शून्य ३ र २ दशमलव २१ अङ्कले घट्यो । बिहीवार भने नेप्से परिसूचक शून्य दशमलव ६१ अङ्कले बढेर ३ सय २० दशमलव ५३ बिन्दुमा आइपुगेको छ । यस साता ३ हजार ७ सय ७१ पटक भएको किनबेचबाट रू. ६ करोड ४० लाख ५१ हजारबराबरका ३ लाख ९० हजार ५ सय ७६ कित्ता शेयर किनबेच भए ।
गतसाताको तुलनामा खरीदविक्री, शेयर सङ्ख्या र व्यापार रकम सबै घटेका छन् । गतसाता ६ हजार २५ पटक भएको किनबेचबाट रू. १६ करोड ६० लाख १५ हजारबराबरका १० लाख ९२ हजार कित्ता शेयर खरीदविक्री भयो ।
अधिकांश कम्पनीले लाभांश दिइसकेकाले शेयर बजार घट्ने क्रममा रहेको हो । तर, यसको प्रभाव केही दिनमा नै हट्नेछ । सीडीएस विनियमावली लागू भइसकेकाले छिट्टै नै कम्पनी सञ्चालन शुरू हुन सक्ने देखिन्छ । यसले पनि शेयर बजारमा सकारात्मक पभ्राव पर्नेछ ।
बिहीवार नेपाल स्टक एक्सचेञ्जको सफ्टवेयरमा समस्या आएपछि १ घण्टाका लागिमात्र व्यापार खुला भयो । बिहीवार ३ बजे बजार खुलेदेखि नै घटिरहेको नेप्से परिसूचक बन्द हुनुभन्दा १५ मिनेट अघिबाट बढ्न थाल्यो । बैङ्किङ र बीमा समूहको परिसूचकमा भएको वृद्धिले नेप्से परिसूचक बढाएको हो ।
बिहीवार व्यापारमा आएका ६ समूहमध्ये बैङ्किङ र बीमा समूहका परिसूचक क्रमशः शून्य दशमलव ३१ र शून्य दशमलव १६ ले बढे । नेपाल बङ्गलादेश, डीसीबीएल, नेपाल इन्भेष्टमेण्ट, नबिललगायत १० बैङ्कको शेयरमूल्य बढ्यो । मूल्य बढ्ने बीमा कम्पनीहरूमा गुराँस लाइफ, लुम्बिनी जनरल, सूर्या लाइफलगायत कम्पनीहरूका शेयरमूल्य बढेका छन् ।
‘अन्य’ जलविद्युत्, विकास बैङ्क र वित्त कम्पनी समूहका परिसूचक क्रमशः शून्य दशमलव ४५, शून्य दशमलव २५, शून्य दशमलव १ र शून्य दशमलव १३ प्रतिशतले घटेका छन् । नेपाल टेलिकमको शेयरमूल्य रू. २ ले घटेपछि ‘अन्य’ समूहको परिसूचक घटेको हो । जलविद्युत् समूहका चिलिमे र अरुणभ्याली हाइड्रोपावरका शेयरमूल्य घटेका छन् । मूल्य घट्ने विकास बैङ्कहरूमा डिप्रोक्स, अल्पाइन, छिमेक लघुवित्तलगायत १० कम्पनी रहेका छन् । नारायणी नेशनल , अपि र सगरमाथा मर्चेन्ट एण्ड बैङ्किङ फाइनान्स रहेका छन् ।
नियमित रूपमा ३ घण्टा व्यापार हुँदै आएकोमा बिहीवार सो समय घटेपछि कम्पनी सङ्ख्या, शेयर सङ्ख्या, व्यापार रकम सबै घटे । बिहीवार ३ सय ४७ पटक भएको किनबेचबाट ४८ कम्पनीका २५ हजार ८० शेयर खरीदविक्री भयो । यसबाट रू. ८४ लाख ५० हजार रकमको व्यापार भयो भने रू. २ खर्ब ९८ अर्ब रकमको कुल बजार पजूँीकरण भयो । बिहीवार २२ कम्पनीको शेयरमूल्य बढ्यो, १९ कम्पनीको घट्यो भने बाँकीको स्थिर रह्यो ।
बिहीवार बैङ्क अफ काठमाण्डू शेयर सङ्ख्या र व्यापार रकमका आधारमा अग्रस्थानमा रह्यो । बैङ्कको ५ हजार ३६ कित्ता शेयर कारोबार भएर रू. २१ लाख १२ हजार रकमको व्यापार भयो । व्यापार सङ्ख्याका आधारमा ४२ किनबेच भएको ज्योति विकास बैङ्क अग्रस्थानमा रह्यो । त्यसैगरी, बिहीवार नेपाल बङ्गलादेश बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ५६ प्रतिशतले बढ्यो भने डिप्रोक्स डेभलपमेण्टको शेयरमूल्य सबैभन्दा धेरै ३ दशमलव ५४ प्रतिशतले घट्यो ।