शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सामाजिकता - शकुन्तला जोशी

वृद्धाश्रम, स्वास्थ्य सेवा र पुस्तकालय
सामाजिक सेवाभावले अभिप्रेरित लायन्स क्लबमध्ये एक हो- 'लायन्स क्लब अफ काठमाडौं, सामाखुसी' । मानवीय हितमा केही सार्थक काम गरौं' भन्ने उद्देश्य भएका केही सदस्यले ११ वर्षअघि संस्थाको स्थापना गरेका हुन् । संसारबाट अन्धोपन निवारण गर्ने अन्तरराष्ट्रिय उद्देश्यसहित खासगरी पहुँचहीनहरूको हितका लागि यो क्लबले अन्य धेरै काम गर्दै आएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमका बाँके, बर्दिया, म्याग्दी, प्यूठानलगायत जिल्लासम्म क्लबले सामाजिक गतिविधि विस्तार गरेको छ । क्लबले वार्षिक रूपमा योजना बनाएर काम गर्ने गरेको अध्यक्ष दुर्गा  रायमाझी बताउँछन् । हाल क्लबमा व्यवसायी, उद्योगी, निजी कम्पनीका जागीरे, सरकारी कर्मचारीलगायत बहुपेशामा संलग्न १ सय ३ जना सदस्य छन् । क्लबको आम्दानीको स्रोत लायन्स क्लब इण्टरनेशनल र आफ्नै सदस्य हुन् ।

आँखा शिविर :
लायन्स क्लब अफ काठमाडौं, सामाखुसीले वार्षिक ७ देखि १० ओटासम्म आँखा शिविर सञ्चालन गर्दै आएको छ । खासगरी मोतीबिन्दुको उपचारमा केन्द्रित यस्ता शिविरबाट एकपटकमा १० देखि १२ हजार मानिसले स्वास्थ्य लाभ लिने गरेका छन् । सिराहा, धनुषा, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा शिविर सञ्चालन गर्दै आएको छ । वार्षिक ३ सयदेखि ५ सय जनासम्मको शिविरमै मोतिबिन्दुको शल्यक्रिया गर्ने गरिएको छ । शिविरका लागि तराईका जिल्ला मात्रै रोज्नुको कारण खोल्दै रोका भन्छन्, 'गर्मी, धूलो, धूवाँ बढी हुने कारण यस क्षेत्रका मान्छे मोतिबिन्दुको समस्याबाट पीडित हुन्छन्  । त्यसैले अहिलेसम्म कार्यक्रम यतै लक्षित गरिएको हो ।'

स्कूले विद्यार्थीलक्षित दन्त शिविर
क्लबले नेदरल्याण्ड्सका १० जना चिकित्सकको टोलीसँग मिलेर म्याग्दी, बाग्लुङ, चितवन, लमजुङ र उपत्यकाका तीनओटै जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाका लागि दन्त शिविर सञ्चालन गर्दै आएको छ । शिविरमा चिकित्सकहरूको प्रत्यक्ष संलग्नतामा विद्यार्थीहरूको दन्तपरीक्षण तथा शल्यक्रियासमेत गरिन्छ । यसका लागि चिकित्सक टोलीले नै प्रति वर्ष करीब रू. २० लाखबराबरको खर्चको जोहो पनि गर्ने गरेको क्लबका पूर्वअध्यक्ष तथा सल्लाहकार मानबहादुर रोका बताउँछन् ।

दन्त उपचारका सेवाका लागि क्लबले दुईजना दन्त चिकित्सक नियुक्त गरी दीर्घकालीन अभियान नै शुरू गरेको छ । स्थानीय सङ्घसंस्थासँगको सहकार्यमा सञ्चालित शिविर प्रत्येक महीना दुईओटा जिल्लाका दुई/दुईओटा सरकारी विद्यालयमा सम्पन्न हुन्छ । हालसम्म काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, म्याग्दी, बर्दियालगायत ९ जिल्लामा कार्यक्रम लागू गरिएको छ । यसबाट हालसम्म २० विद्यालयका विद्यार्थी लाभान्वित भएका छन् ।

छात्रवृत्ति
शिक्षामा पहुँचहीन वर्गका बालबालिकाहरूका लागि छात्रवृत्ति दिँदै आएको छ क्लबले । यो कार्यक्रम धादिङ, भक्तपुर, गोर्खालगायत ६ जिल्लाका सिमान्त क्षेत्रमा लागू गरिएको छ । ३ वर्षदेखि सञ्चालित कार्यक्रमअन्तर्गत प्रतिविद्यार्थी रू. ३ हजार ५ सयका दरले एक विद्यालयका ६० विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ । रोका भन्छन्, 'गरीब गाउँलेहरूले कापी र कलमसम्म किनिदिन नसकेपछि छोराछोरी गोठाला पठाएको देखेका छौं । तिनलाई थोरै सहयोग तथा प्रोत्साहन मिलोस् भनेर यो अभियान चलाएका हौं ।'

पुस्तकालय
अत्यधिक तामाङ बस्ती भएको काभ्रेको तिमाल क्षेत्रका ७ गाविसमा क्लबले ६० ओटा पुस्तकालय स्थापना गर्दै छ । निकै पिछडिएको ती क्षेत्रका महिलालाई साक्षर र सचेत बन्न सहयोगी होस् भन्ने उद्देश्यले पुस्ताकालय स्थापना गरिएको पूर्वअध्यक्ष रोका बताउँछन् । नेदरल्याण्ड्सका २९ जना महिला सदस्य मात्र भएको 'लायन्स रेनकम नेदरल्याण्ड्स' र साथसाथी नेपाल नामक संस्थासँगको सहकार्यमा पुस्तकालय अभियान शुरू गरिएको हो । क्लबले ३० ओटा पुस्तकालय स्थापना गरिसकेको छ भने थप ३० ओटा पुस्तकालय यसै वर्षभित्र खोल्ने तयारी भइरहेको छ ।

वृद्धाश्रम
उमेरले डाँडा काटेका वृद्धवृद्धा परिवार र समाजमा अपहेलनाको शिकार बन्ने क्रम तीव्र बनिरहेको बेला क्लबले लमजुङमा वृद्धाश्रम स्थापना गरेको छ । 'लायन सर्वोदय सिटिजन होम' नामक उक्त वृद्धाश्रम जिल्लाको तार्कुघाटमा करीब ५ सय रोपनी क्षेत्रफलमा निर्माण हुँदै छ । ६० जना क्षमताको वृद्धाश्रम निर्माणका लागि १ वर्षअघि जिल्लामा लगाइएको महायज्ञबाट १ करोड रुपैयाँ सङ्कलन भएको थियो । आश्रमका २५ मध्ये पाँचओटा कटेज तयार भइसकेका छन् । रोका भन्छन्, 'वृद्धवृद्धाले पारिवारिक वातावरणको अनुभूति गर्न पाऊन् भनेर खुला ठाउँ प्रशस्त हुने गरी कटेज बनाइएको हो ।' यस परियोजनाका लागि क्लबले लायन्स क्लब इण्टरनेशनललाई ३५ हजार डलरबराबरको प्रस्तावनासमेत पठाएको छ । उनका अनुसार यो छिट्टै नै स्वीकृत हुने सम्भावना छ । आश्रमको  निरन्तरताका लागि क्लबमा आबद्ध ३० भन्दा बढी सदस्यले आफ्नो आम्दानीको केही प्रतिशत योगदान गर्ने प्रतिबद्धता गरेका छन् । तिहारपछि १० जना वृद्धवृद्धा राखेर आश्रमको उद्घाटन गरिनेछ । आश्रम क्षेत्रभित्रै क्लबले एक जडीबुटी प्रशोधन केन्द्र पनि खोल्ने जानकारी रोकाले दिए । उनी भन्छन्, 'वृद्धवृद्धा काम गर्न सकून् भन्ने उद्देश्यले केन्द्रको सञ्चालनका लागि आश्रम क्षेत्रलाई रोजिएको हो ।'

लायन्स क्लब इण्टरनेशनलको नयाँ नारा 'ट्रि प्लाण्टेशन' हो । यही नारालाई पछयाउँदै क्लबले पनि 'एक लायन सदस्य एक बिरुवा रोपौं' भन्ने अभियान लागू गर्दै छ । स्थायी रूपमा गर्दै आएको दन्त शिविर यसपालि चितवन र गोर्खामा पनि गरिनेछ । छात्रवृत्ति कार्यक्रमहरू आगामी वर्षपनि यथास्थानमै गर्ने क्लबले जानकारी दिएको छ । आँखा शिविर दाङ, बर्दिया र बाँकेलगायतका जिल्लामा सञ्चालन गर्ने क्लबको योजना छ ।

यन्त्रमा काली देखाउँदै जापानी
हिन्दू धर्ममा कालीलाई शक्तिको प्रतीकका रूपमा पुजिन्छ । कालीको यही शक्तिलाई एक कलाकारले यन्त्रको माध्यमबाट देखाएका छन् । राजधानीको द आर्ट शपमा जापानी कलाकार तादोकोरो क्याजुहारोले बनाएका चित्रको शृङ्खला 'होमेज टु गडेस काली' प्रदर्शन भइरहेको छ । उनले कालीको स्वरूपलाई प्रस्तुत नगरीकन यन्त्रमार्फत उनको शक्तिलाई देखाउने प्रयास गरेका छन् । उनी भन्छन्, 'मैले शक्तिको प्रतीक यन्त्रभित्र कालीको प्रतिमा देखाउने कोशिस गरेको छु ।'

प्रदर्शनीमा राखिएका उनका चित्रहरूमा बौद्ध धर्मका आस्थालाई दर्शाएको पनि अनुभव हुन्छ । तर, यसभित्रको अर्थ भने भिन्न छ । उनले कालीको अनुहार प्रस्ट नदेखाएर यन्त्रमा त्यसको भाव भरेका छन् । अर्किड नेपालमा रहेका गरीब तथा अनाथ बालबालिकाका लागि सहयोगार्थ यो प्रदर्शनी गरिएको हो । भदौ १८ बाट शुरू भएको यो प्रदर्शनी भदौ २८ गतेसम्म चल्ने छ । शुक्रवारसम्म करीब ४ सय जनाले प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा राखिएका ३४ ओटा चित्रमध्ये आठओटा विक्री भइसकेको आर्ट शपले जानकारी दिएको छ ।

कलाकारले आफ्नो चित्र निर्माणका लागि कम्प्युटरग्राफी र एक्रेलिक माध्यमको प्रयोग गरेका छन् । कुनैकुनै चित्रमा थप सुन्दरता थप्ने उद्देश्यले तैल र मिनरल पिग्मेण्टेजको प्रयोग गरिएको क्याजुहारोले बताए । हिन्दू धर्मका आस्था र विश्वासकी पात्र कालीको चित्रणका लागि नीलो र रातो रङ्गको बढी प्रयोग गरिएको छ । यी दुई रङ्गको मिश्रणबाट बैजनी रङ्गको निर्माण पनि गरिएको छ । हिन्दू धर्मलाई ध्यानमा राखेर चित्र कोरिए पनि चित्रहरू जापानी उच्चवर्गको प्रतीक बनेका छन् ।  बैजनी रङ्गले जापानका ठूला कुल घरानाका मानिसको प्रतिनिधित्व गर्ने कलाकार बताउँछन् ।

Admin 2011-09-10