शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सरुवा क्रान्ति


     मदन लम्साल


विगत करीब डेढ दशकदेखि नयाँनयाँ किसिमका क्रान्ति, जस्तै— राजनीतिक क्रान्ति, कृषिक्रान्ति, शिक्षाक्रान्ति आदि गर्दै आएको एमाओवादी दल, अहिले सरकार र सडक दुवै क्रान्तिको नेतृत्व आफै गरिरहेको छ । उसले अब अर्को एक नयाँ क्रान्ति गरेको छ, जसलाई ‘सरुवा क्रान्ति’को नाम दिन सकिन्छ । सरुवा रोगजस्तै यो ‘सरुवा क्रान्ति’अन्तर्गत एमाओवादी सरकारले पूर्वका मानिस उत्तर, दक्षिणका कर्मचारी पश्चिम सरुवा गरेको मात्र छैन, एकै संस्थानहरुमा दुईदुई ओटा महाप्रबन्धक पनि राखेर दुई गुना विकासको अभियान थालेको छ । अरुले अदक्ष भनेकाहरुलाई दुई ठूलै संस्थानका अध्यक्ष बनाइदिएको छ । पुराना सत्तामा खाइखेली गरेर उग्राएर वर्षौंदेखि घरमा आराम गरी बसेकाहरुलाई पुनः जागीर, मान, सम्मान जेजे सकिन्छ सबै दिएर सरकारी जागीरमा भियभयाएको छ । गुलेली खेलाउँदै गोठालो गएकाहरुलाई कठालोमा समातेर सके राजदूत नभए आफ्नो व्यक्तिगत वा दलगत दूत बनाएको छ ।

यस्तै उपाय र त्यस्तै मानिसहरुबाट आफ्नो पार्टी र सरकार सँगै चलाउन द्वैत–अद्वैत, ज्ञात अज्ञात सबै उपाय अपनाएको छ । क्याण्टोनमेण्टबाट लडाकूका नाममा तलब नआउने भएपछि सरकारी ढुकुटीबाट तलब पाउने नयाँनयाँ तरकिव सुझाएको छ । सके विभिन्न संस्थानमा आफ्ना लागि नयाँ सेनामेना तयार पारेको छ या आफ्ना पुराना सेनाहरुलाई ती ठाउँमा पदस्थापन गर्न भ्याएको छ । निजीक्षेत्रका हरेक कम्पनीमा समेत आफ्ना मानिसलाई जागीर सृजना गरेको छ । भ्याट छलीको मुद्दामा डटेर बसेका अर्थ र राजस्वका कर्मचारीहरुलाई सरुवा गरेर निजीक्षेत्रसँग मिलिभगत गर्न शिपालुहरुलाई त्यहाँ भियभयाएको छ । भित्रभित्रै सबै मिलाउन सक्ने कलामा निपुण मानिएकी प्रमपत्नीको समेत विशेष निगाह प्राप्त भएको कुरा पनि प्रकाशमा आइसकेकै छ । यसैले त यसलाई मिलीजुली सरकार भनिएको । अर्थात् सबै कुरा भित्रभित्रै सबै मिलाउने र यसै गरी आफ्नो पार्टी र सरकार चलाउने । आखिर पार्टी पनि त चलाउनुप¥यो नि ।

यसलाई भन्छन्— मानव संसाधनको प्रभावकारी व्यवस्थापन । नेपाली तथाकथित कर्पोरेट क्षेत्रले सिके हुन्छ— एमाओवादीबाट यो व्यवस्थापन कला । मुस्ताङ मात्र होइन, सरकार नै हाँकेर बसेका प्रधानमन्त्री बाबुरामले अब अर्थ मन्त्रालय (अम) पनि सम्हाल्ने भएका छन् । हिजो उनी अम आए, देशमा आर्थिक संवृद्धिको शुरुआत भइसकेको उर्दी सुनाए, चिया पिए र गए । राजनीतिक क्रान्ति सम्पन्न भइसकेको स्थितिमा यति भएपछि देशमा आर्थिक क्रान्ति पनि सम्पन्न हुने पक्का भएको छ । नेपालका राजा महाराजाहरुले पनि दरबारमै बसीबसी दलितलाई जनै लगाइदिन लगाएर खत्रीमा, खत्रीलाई क्षत्रीमा, क्षत्रीलाई बाहुनमा बढुवा गर्ने गरेको हामी सबैले इतिहासमा पढेकै हो, सुनेकै हो । वर्तमान कालमा प्रम पनि कार्यकारी प्रमुखका हिसाबले राजा नै हुन् । अझ एमाओवादीको भएपछि स्वतः महाराजा हुने नै भए । अब महाराजाले नै आर्थिक संवृद्धिको युग शुरु भइसकेको उर्दी सुनाएपछि नहुने कुरै भएन । आर्थिक समृद्धिको युगको शुरुआत गर्ने भूमिका तयार गर्नकै लागि बाबुरामले ‘सरुवा क्रान्ति’को पनि शुरुआत गरेका हुन् भन्ने कुरा ठोकेरै भन्न सकिन्छ । अब बाबुरामको जयगानमा देशभरिबाट जुलुस निस्कने पक्का छ । उनले शुरु गरेको ‘सरुवा क्रान्ति’ र आर्थिक समृद्धिको युगको उद्घोषको समर्थनमा यो पङ्क्तिकारसमेत उनको पक्षमा नाराबाजी गर्न मसाल जुलुससहित अग्रपङ्क्तिमा सडकमा ओर्लनेछ ।