शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 10, 2012
  

तीतोमीठो


मानवअधिकारविरुद्ध सिबे र मापसे


मदन लम्साल


गणेश राई भन्ने ट्राफिक डीआईजीलाई के सनक चढेछ कुन्नि ड्राइभरहरुको मुख सुघ्ँने र पेटी लगाए–नलगाएको चेक गर्न भनेर मातहतका ट्राफिक भाइहरुलाई रातिराति जाडोमा सडकमा खटाउन थालेछन् । त्यसक्रममा सर्यौलाई मापसे अर्थात् मात्तिने पदार्थ सेवन गर्नेलाई ट्राफिक कार्यालयमा लगेर नैतिक शिक्षा पढाएपछि बल्ल घर पठाउन शुरु गरेछन् । त्यसका कारण हिजोआज काठमाडौंका सडक नै बेलुकी सात–आठ बजेपछि सुनसान हुन्छन् । झन् काठमाडौंमा त बाटो ठूला पार्ने निहुँमा भत्काइएका घर–टहराका कारण प्रत्येक सडक र गल्ली मसानघाटजस्तो देखिन थालेका छन् । शहरमा रात्रिजीवन भन्ने नै हराएको छ ।यसरी जिउँदो, जाग्दो, नाच्दो शहरलाई मसानघाटजस्तो बनाउने ट्राफिकको यो कार्यलाई विकासविरोधी, रात्रिजीवनको दुश्मन भनेर किन नभन्ने ? ट्राफिकको यो कदमले मानवहरुको स्वतन्त्रपूर्वक पिउने अधिकारको पनि हनन गरेको छ । यसले पिएर मर्न र मार्न चाहनेहरुको स्वतन्त्रता पनि हनन भएको छ । गाडी चलाउँदा सीट बेल्ट (सिबे लगाउने वा नलगाउने त व्यक्तिगत इच्छा वा खुशीको कुरा पो हो । कसैलाई गाडीमा सिबे नलगाईकनै मर्न पनि त मन पर्न सक्छ । त्यसमा अरुले ईश्र्या गर्न मिल्ने कुरा हो र ? फेरि सिबे लगाउँदा मरिँदैन र नलगाउँदा मरिन्छ नै भन्ने ग्यारेण्टी पनि त हुँदैन । सर्यौमा एक दुई जना मर्ने वा अङ्गभङ्ग सम्म हुने कुरा हो । यति जाबो कुरालाई लिएर गुण्डाले बाँधेर अपहरण गरेसरी आफ्नै गाडीमा आफै बाँधिनु पर्ने यो कस्तो ट्राफिक नियम हो ?


मोटरसाइकल र साइकल चलाउनेले चाहिँ सिबे लगाइरहन नपर्ने गाडी चलाउनेले मात्र लगाउनु पर्ने यो नियम नै पक्षपातपूर्ण छ । यो गाडी चलाउनेहरुप्रति ट्राफिक प्रहरीले गरेको घोर अन्याय हो । त्यस्तै ट्राफिकको यो कदमले होटल, रेष्टुराँ, डान्सबार र मदिरा उद्योगको व्यवसाय पनि करीबकरीब सुकेको छ । सुक्ने नै भयो । पिएर चलाउन नपाएपछि होटल, रेष्टुराँ को धाइरहन्छ र ? दुई–चार जनाको कुरा अर्कै हो । नत्र होटल, रेष्टुराँमा खानकै लागि मात्र त को गइरहन्छ र ? त्योभन्दा पनि घरमा पिउन पाउनेहरु त पिएर घरमै थुप्रिरहलान् । तर, केहीलाई छाडेर कतिपय नेपाली जातजातिमा घरमा मदिरा पदार्थ पिउन पाइँदैन । अब तिनको पिउने अधिकारको रक्षा कसले गर्ने ? त्यसैले ट्राफिकको यो मापाको मापसे विरुद्धको कारबाहीले पार्टी आयोजना र्गने सीमित धनीहरुलाई मात्र खुशी बनाएको छ । खानेको भन्दा पिउनेको बिल ठूलो देखेर पार्टीको अन्त्यमा झस्किने पार्टी आयोजकहरु अहिले ट्राफिकलाई मुरीमुरी धन्यवाद दिँदै होलान् ।


सडकमा मान्छे धेरै मरे भनेर मापसे नगर्न र सिबे अनिवार्य लगाउनु पर्ने नियम ल्याइएको ट्राफिकको दाबी छ । सबै मान्छे ढिलोचाँडो त मरिहाल्छन् । ट्राफिक नियम ल्याउँदैमा मान्छे मर्न रोकिने हो र ? त्यसमाथि हामी नेपालीहरु त यसै पनि सबै कुरा भावीले पहिल्यै लेखिदिएअनुसार हुन्छ भन्ने कुरामा विश्वास गर्ने जीव पर्‍यौ । पहिल्यै मर्ने तोकिसकिएको कुरामा ट्राफिकले रोक्ने पक्कै होइन होला । भनेपछि यो विनासित्तीको नियम ल्याएर रातविरात जनतालाई दुःख दिने तरीका ट्राफिक नायब महानिरीक्षकले किन निकाले सबैलाई बुझ्न गाह्रो परिरहेको छ । ‘ड्रीङक्स’ र ‘ड्राइभ’ बीच प्रेमीप्रेमिकाको जस्तै सम्बन्ध रहने कुरा संसारका सबै ट्राफिकलाई थाहा छ । कति मानिस ड्रीङक्स गरेर मात्र अङग्रेजी बोल्न सक्ने वा गाडी चलाउन सक्ने हुन्छन् । ड्रिङ्क्स गर्दा मानिस गाडी चलाउन सक्ने हुन्छ । ड्रिङ्क्स गर्दा गाडी चलाउन नसक्ने भए त गाडी ‘स्टार्ट’ पनि गर्न सक्तैन, ह्याण्डल घुमाउन पनि सक्तैन । ड्रिङ्क्स गरेकै कारणले कसरी ट्राफिक नियम उल्लङ्घन हुन्छ र ? कथम् बनिहाल्यो भने, अब बन्ने भनिएको संविधानमै उल्लेख भएपछि मात्र यो नियम लागू गरिनुपर्छ । होइन भने समस्या ड्रिङ्क्समा हो भने पिउन पो रोक्नुपर्छ, ड्राइभ गर्न होइन । ड्राइभ गर्नै रोकिदिएपछि रक्स्याहाहरु घर कसरी पुग्ने ? होइन भने नियमसियम भनेर फोकटमा मानिसहरुलाई रातविरात दुःख दिने अधिकार ट्राफिकलाई कदाचित् छैन । यस्तै काम गर्दै गए भने कुन दिन यी डीआईजी गणेश राईलाई पनि सरकारले अन्तै सरुवा गरिदिन बेर छैन । आखिर आफूभन्दा लोकप्रिय पुलिस किन चाहिन्छ र प्रधानमन्त्रीलाई !