शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

महासङ्घका मुक्केवाजहरू !
मदन लम्साल
यसपटकको नेउवा महासङ्घको साधारणसभा बल्ल ऐतिहासिक भन्नलायक भयो । यो सुन्दर क्षण आउन यो महासङ्घले ४५औं साधारणसभा कुर्नुपर्यो । सधैं पैसा मात्रै फालाफाल गरेकाले यसले 'चार्म' नै गुमाइसकेको थियो । यसपटक हात हालाहाल नै भइसकेपछि त्यसको चर्चा र ऐतिहासिकता अहिले मुलुकभर छताछुल्ल भएको छ । हो यही एउटा कुरा गर्न बाँकी थियो, जुन ढिलै भएर पनि पूरा भयो । बधाई छ, हात हाल्ने अभियानका अभियन्ताहरुलाई । नेपालको प्रगति हुन नसक्नुको एउटा प्रमुख कारण नै उद्योगी व्यवसायीहरु हात हाल्ने कुरामा पछाडि पर्नुरहेको थियो । अब, उनीहरुको त्यो योग्यता पनि स्थापित भएको छ ।  

जसरी राजनीतिक दल र तिनका नेता कार्यकर्ताबीच तानातान, मुक्का र लठ्ठी हानाहान हुन्छ, त्यही कुरा उद्योगी-व्यवसायीबीच हुनु जरुरी थियो । केवल घमण्ड र ईर्ष्या मात्र प्रदर्शन गरेर केही हुने थिएन । अब भने नेपालको उद्योग-व्यवसायले क्रान्ति गर्ने भो । देशमा राजनीतिक क्रान्ति सम्भव भएकै राजनीतिक दलका नेता र कार्यकर्ताबीच भइरहने हानाहान र मारामारका कारणले हो । अब त मन्त्री हुन पनि पहिले खुकुरी खान तयार हुनुपर्छ । विनाकुटाकुट र हानाहान देशको निजीक्षेत्रको नेता त्यसै हुन पाइन्छ ? यो कुरा बुझेकोमा उद्यमी-व्यवसायीहरु धन्यवादका पात्र छन् ।

जे होस् उद्योगी-व्यवसायीबीच भएको मुक्का हानाहानले धेरै कुराको सङ्केत गरेको छ । एक त हाम्रो समाज अब साँच्चै सभ्य र सुशील हुँदै गएको छ । किनकि मनमा मात्र तिक्तता राखेर बस्दा त्यो कुनै पनि बेला विस्फोट हुने सम्भावना रहन्छ । त्यसलाई समयमै बाहिर पोख्नुपर्छ । जसरी शरीरमा तीतो धैरै जम्मा भयो भने त्यो विकारलाई समयमा बाहिर फयाँक्नुपर्छ, नत्र विभिन्न रोगले गाँज्न थाल्दछ, त्यसरी नै मनमा रहेको तिक्तता पनि समयमै मुक्का हानेर बाहिर फ्याँक्नुपर्दछ ।

दोस्रो, नेपाली राजनीतिको प्रभाव नेपाली उद्योगी-व्यवसायीमा परेको स्पष्ट प्रमाण हो यो मुक्का हानाहान प्रकरण । अब कसैले पनि नेपाली उद्योगी व्यवसायीलाई हेप्ने प्रयास नगरे हुन्छ । अब नेपाली राजनीति मात्रै हैन, नेपालको निजीक्षेत्र पनि यहाँ विहारीशैली भित्र्याउन आतुर छ । सबैलाई थाहा छ, विहारले वार्षिक ११ प्रतिशत आर्थिक वृद्धि जो गरेको छ । विहारजस्तै आर्थिक वृद्धि गर्न नेपाललाई पूर्णरुपमा विहारीकरण गर्नुको विकल्प पनि छैन अब । कि विहारमा रुपान्तरण होऊ या सोमालिया बन ।

शान्ति भन्ने कुरा कायरहरुको हतियार हो । बाहुबल र लक्ष्मीले साथ दिएकाहरु लुते भएर किमार्थ बस्नु हुँदैन । कि मर्छ या मार्छ । महासङ्घको भोटिङ हुँदै गर्दा केही काँतरहरुले मुखमात्र छोडेर चुप लागेछन् । आफूसँग मुक्का हुँदाहुँदै मुखमात्र छाड्नु सुट-टाईमा सजिएर हिँड्ने सज्जनहरुलाई सुहाउने कुरा थिएन । चुनाव भनेको युद्ध हो । त्यसैले अर्को चुनावमा मुक्का मात्र सीमित हुनु हुन्न 'बुलेट' प्रदर्शन हुनुपर्छ । अनि बढ्छ गरिमा निजीक्षेत्रको । अनि चुलिन्छ उचाइ नेपालका व्यवसायीहरुको सर्वोच्च शिखररुपी संस्थाको ।

टेलिभिजनबाट महासङ्घको चुनावको मुक्कामुक्की प्रदर्शन हेरेका बच्चाले अब कुस्ती सिक्नेछन् । प्रत्येक बाबुआमाले आफ्ना छोराछोरीलाई अब भन्नेछन् 'बाबु र नानी हो, डाक्टर, इञ्जिनीयर होइन, अब उद्योगी-व्यवसायी बनेर मुक्का हानाहान गर्नुपर्छ । अनि नेपालीले मात्र होइन, समग्र विश्वले तिमीलाई चिन्नेछन् मुक्केबाज फलानो उद्योगी भनेर ।'

Admin 2011-04-14