शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेपालका चर्चित  दुई आदर्श
मदन लम्साल

वर्तमान नेपालमा दुई आदर्श पुरुषहरुको चर्चा सगरमाथाको शिखरभन्दा माथि छ । एक आदर्श मन्त्री, अर्का आदर्श व्यवसायी । पूर्वीय दर्शनको महान् ग्रन्थ गीतामा लेखिएको छ- जबजब धर्तीमा अन्याय, अत्याचार र पापकर्म बढ्छ तबतब त्यसलाई अन्त्य गर्न भगवान् कृष्ण टुप्लुक्क अवतरण गर्नुहुनेछ । ठीक त्यसै गरी आधुनिक कृष्णको भेषमा अवतरण गरे- ऊर्जामन्त्री गोकर्ण विष्ट । चर्चामा हुँदाहुँदै पनि उनको जहाजको क्याप्टेनले सरकारको जहाजै छोडेर भागेपछि यी विचरा परिचरको जागीर पनि धरापमा परेको छ, त्यो बेग्लै कुरा हो । ६ महीनामा उनले कम्तीमा ६ ओटा आदर्श काम त गरे नै । विद्युत् प्राधिकरणको गाडी लगेर ससुरालीको दाइँजो सम्झने नेताहरुकहाँबाट ती चारपाङ्ग्रे फिर्ता गर्ने उर्दी जारी गरे । एउटा कटिबद्ध एमाले कार्यकर्तालाई विद्युत् प्राधिकरण जिम्मा लगाउन खुला प्रतिस्पर्धाको प्रक्रिया पूरा गरे । बिजुलीको पैसा नतिर्ने सरकारी कार्यालयहरुको तार काट्न आफै दौडे । बिजुली बैङ्क नामको अर्को सरकारी संस्थान खडा गरे । समाचार माध्यममा बाक्लै अन्तरवार्ता दिए । र, मन्त्री भएकै दिन कुनैबेला आफैले पालेका भिजिलान्तेको खुकुरी प्रहार पचाए ।

अहिले मुलुकमा एउटा आदर्श मन्त्रीको रुपमा उनको चर्चा विरोधीहरुको मुखबाट पनि सुनिन थालेको छ । प्रधानमन्त्रीको पदका लागि दह्रो च्याँखे थापेर बसेका डा. बाबुराम भट्टराईले समेत अर्को पार्टीका गोकर्णलाई ऊर्जामन्त्रीको जागीर पुन: दिनुपर्ने सिफारिशलाई यही प्रकाशमा हेर्नुको विकल्प छैन ।सालोको जेठान, मामाको भदो, सालीको साथीलाई जागीर दिने, राजधानीमा घर बनाउने र एकाध मोटर जोड्ने मन्त्रीका मुख्य काम हुन् भन्ने मात्र देखेका नेपालीलाई गोकर्णशैलीको मन्त्री मन परेको छ । अब हुने मन्त्रीहरुलाई गोकर्णले नयाँ बाटो देखाएका छन् । अब हुने मन्त्री पोर्टफोलियोअनुसार फिल्डमै खटेको देख्न पाइनेछ । भौतिक योजनामन्त्री पिक र घन लिएर सडक खन्न निक्लनेछन् । कृषिमन्त्री खेत रोप्न जानेछन् । प्रविधिमन्त्री कम्प्युटर मर्मत, वातावरणमन्त्री धूवाँ प्रशोचन, सिँचाइमन्त्री नहर निर्माण, आपूर्तिमन्त्री ट्रक चलान, शिक्षामन्त्री अध्यापन आदिजस्ता काम गर्न फिल्डमा नै खटिनेछन् ।

नीतिनिर्माण, अनुगमन, व्यवस्थापनको सट्टा केही पत्रकार र फोटोग्राफर अघिपछि लाएर आफ्नो विभागअन्तर्गतका यस्ता काम मन्त्रीले नै गर्न थालेपछि मुलुकमा आदर्शमन्त्रीहरुको सङ्ख्या ह्वात्तै थपिनेछ ।दोस्रो आदर्शपुरुष व्यवसायी छन् । उनी अर्थात् पीयूषबहादुर अमात्य व्यवसायीहरुको आदर्श भएकै कारण भर्खरै जेलबाट छुटेका छन् । उनी आदर्शव्यवसायी हुनुका कैयौं कारण छन् । आफ्नो फूलबारी नामको रिसोर्टमा क्यासिनो खोल्न भनेर पार्टनरलाई नै ठगेका छन् । नेपाली बैङ्किङ प्रणालीबाट ठूलो ऋण लिएर नतिरेबापत कालोसूचीमा परेका छन् । कुनैबेलाको बियर, आइसक्रिम उत्पादन, विदेशी महँगा गाडीको डिलरशिप र होटल आतिथ्य व्यवसाय सबै क्षेत्रमा ईर्ष्यालाग्दो प्रगति गरेका उनी अब दुईचार साथीभाइलाई झुक्याएर हिँड्ने अवस्थामा पुगेका छन् । हुन सक्छ, उनले राज्यलाई करठगी गरेका हुन् । यस्ता होनहार व्यापारीलाई सम्पूर्ण उद्यमीव्यवसायी समुदायले आदर्श मानेकै कारण उनी यति चाँडै जेलमुक्त हुन पाएका हुन् ।

एक दुई वा तीन व्यापारी मात्र होइन, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायतका उद्यमीव्यवसायीका छाता सङ्गठनले नै उनको पक्षमा दरिलो लबिङ गरे । आफ्ना सहधर्मी आदर्शपुरुषलाई यसरी बचाउनु कुनै आश्चर्यको कुरा भएन । शायद यो कला उद्यमीव्यवसायीहरुले पनि एमाले भ्रातृ सङ्गठनबाट भर्खरै सिकेको हुनुपर्छ । जे भए पनि नेपाली समाजमा आदर्शपुरुषहरुको अझै खडेरी परेको रहेनछ भनेर ढुक्क हुन भने यी दृष्टान्तले पक्कै सघाएको छ ।