पर्यटन वर्षको भव्य तयारी
मदन लम्साल
पर्यटन वर्ष २०११ जति नजिक आउँदैछ यसको लागि तयारी पनि झन् भव्यतर हुँदै गएको देखिन्छ । सो तयारीबारे बयान गर्न कहाँबाट शुरू गरौं भनेर यो कलम नै अलमलमा परेको छ ।पर्यटकलाई नेपाल भित्र्याउने जहाजकै बखानबाट थालौं न त । खुला बजार नीति अँगालेको सरकारले खुला आकाश नीति पनि पूर्ण रुपमा अँगालो हालेको छ । त्यसैले देशमा पर्यटकहरु भित्र्याउन नेपाल एअरलाइन्स (उडान कोड आरएनएसी) ले मात्रै नसक्ला भनेर सरकारले धमाधम विदेशी एअरलाइन्सलाई रुट परमिट दिन तीव्रता बढाएको छ । यस प्रसंगमा हामी नेपालीले फिप्थ फ्रि डम, सिक्स्थ प्रिmडम आदि नानाथरि थप 'फ्रिडम' का कुरा सुन्न पाएका छौं । अस्ति भर्खर मात्र पनि एअर अरेबियाले यस्तै फ्रिडम पाएको छ । यद्यपि आफूले मात्र यात्रुहरुमाथि शोषण गर्न पाउने 'फ्रिडम ' विदेशी एयरलाइन्सलाई किन दिएको भनेर 'आर' हराएको एनएसीका कर्मचारीहरुले हडताल शुरु गरेका छन् । एनएससीभित्र अध्यक्ष र महाप्रबन्धकबीच कार्यकारी को हो भन्ने विवादले हानाहान भइरहेकोमा यो नयाँ आन्दोलन आएको छ पर्यटन वर्षको पूर्वसन्ध्यामा । अब एनएसीमा बचेका दुवै जहाज 'सी' हो कि 'ई' चेकका लागि भनेर दीर्घकालीन रुपमा विदेश पठाए भइगयो । सार्वजनिक लेखा समितिले नयाँ जहाज किन्न नदिए पनि पर्यटकहरु नेपाल आउनबाट कसैले रोक्न नसक्ने भो । माओवादीले समेत ।
नेपाल आउने पर्यटकलाई भव्य स्वागत गर्न बसेको देशको एक्लो त्रिभुवन अन्तरराष्ट्रिय (त्रिअ) विमानस्थलको तयारी त झन् वर्णनानीत छ । अन्य शहरमा पनि अन्तरराष्ट्रिय विमानस्थल भएका खण्डमा पर्यटकको स्वागत सत्कारमा कमी आउला भनेर सरकारले काठमाडौंबाहेक अन्य शहरमा त्यस्तो विमानस्थल भरसक नबनाउने कसम खाएकै छ । त्रिअ विमानस्थल छिरिसकेपछि जहाजबाट लगेज आइपुग्न समय लाग्ने भएकोले अध्यागमन काउण्टरमा लामै लाइन बसाएर पर्यटकको स्वागतको शुरूआत गरिन्छ । त्यत्ति गर्दा पनि लगेज आउनुभन्दा पहिल्यै पर्यटक अध्यागमनबाट पार भइहाल्ने सम्भावनालाई विचार गरी विमानस्थलभित्र एक दुइवटा रेष्ट रूम अर्थात पाइखानाको पनि व्यवस्था गरिएको छ । पर्यटकलाई पाइखाना खोजिरहने झन्झट नहोस् भनेर यसका ढोका,झ्याल मात्र होइन ढलसमेत खुला छोडिएको हुन्छ ।
पर्यटकको स्वास्थ्यलाई पनि सरकारले गम्भीरतापूर्वक ध्यान दिएको देखिन्छ । लामो विमानयात्रामा शारीरिक व्यायाम गर्न नपाएका पर्यटकले सकेसम्म 'आफ्नो लगेज आफैँ बोकौँ भन्ने सिद्धान्त अवलम्बन गरुन् भनेर पर्यटक सङ्ख्याभन्दा ट्रलीको सङ्ख्या सधैं कम हुने व्यवस्था गरिएको छ ।विमानस्थल बाहिर आइपुग्नेबित्तिकै त पर्यटकले संसारमै कहीँ नपाएको नेपाली सत्कारको अनुभव पाउनेछन् । किनकि टयाक्सी ड्राइभर, साना होटल र लजवालाहरूको हुल हरेक पर्यटकको लगेज र पाखुरा समातेर पर्यटकलाई आफ्नो पाहुना बनाउन हानथाप गरिरहेको हुन्छ । प्रहरीले समेत पर्यटकलाई आफ्नो विशिष्ट सेवा दिन छाड्दैनन् । सेवा होस् त यस्तो पो ⁄ त्यही बाटो ओहोरदोहोर गर्ने नेपाली मन्त्रीहरु र सरकारी अधिकारीहरू 'अतिथि देवो भव' भन्ने सद्धान्तलाई नेपालीहरुले यसरी पूर्ण कार्यान्वयन गरेको देखेर आत्मविभोर भएको देखिन्छन् ।
विमानस्थलबाट बाहिर निस्केपछि होटल पुग्नुअघिसम्म पर्यटकले बाटामा नेपाली पहाडका प्रतिकृतिहरु स्वरुप प्रशस्त थुप्रा-थुप्री र थुम्का-थुम्की देख्ने र त्यहाँबाट निसृत हुने सुगन्ध सुँघ्ने मौका पाउँछन् । जहाँ जाउ पर्यटकको सेवाका खातिर मानिस तम्तयार भेटिन्छन् । पैसा साट्न पर्यटकलाई बैङ्क, होटल वा मनि एक्सचेञ्जकहाँ पुग्नै पर्दैन । बाटोबाटोमा पर्यटकलाई सटही सुविधा दिनेहरु भेटिन्छन् । पुरानो दरबार अहिलेको पासपोर्ट विभाग अर्थात् नारायणहिटी पुग्ने जोकोही पर्यटक पनि हर्षविभोर नभई रहन सक्तैन होला । त्यहाँ उसले नेपालभित्र मात्र होइन उनीहरूकै देशमा गएर समेत उसको सेवा गरिदिन त्यत्तिका नेपाली युवायुवतीहरू घामपानी नभनी, दिनभर शौचालयसमेत नगई पासपोर्ट लिन लाइन बसेको देख्नेछ । पर्यटक किन पनि प्रभावित हुनेछ भने उनीहरूका देशका सरकार जस्तो मूर्ख नेपाल सरकार छैन । त्यसैले सामन्तका अवशेषका रूपमा रहेका पुराना दरबारलाई संरक्षण गर्ने र पैसा लिएर ती दरबार पर्यटकलाई देखाउने गर्दैन ।
सरकारले त पर्यटकहरूलाई नेपाल भ्रमण वर्ष सफल पार्न भनेर २३ करोड रुपियाँ छुटयाइदिएको छ । सरकारको तर्फबाट योभन्दा ठूलो योगदान के हुन सक्ला ? सेवा दिन त निजी क्षेत्र बसेकै छ । त्यसले नपुगेर राजनीतिक दलका, खासगरी माओवादीका, ठूलादेखि भुरेटाकुरे नेताहरूसमेत हातहातमा रसिद दिएर ट्रेकिङ जाने पर्यटकको सेवा गर्न जुटेकै छन् । यसरी नेपालमा पर्यटकलाई सेवा गर्न पाइला पाइलामा मानिस कुरेर बसेका छन् र सेवा गरिनै रहेका छन् । पर्यटन वर्ष२०११ पूर्ण सफल बनाउन यो भन्दा भव्य तयारी अरू के हुन सक्ला र ?