शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेपाल-भारत विकास साझेदारी
मदन लम्साल

नेपाल-भारतबीच रहेका धार्मिक, सांस्कृतिक, सामाजिक, र राजनीतिक सम्बन्धहरुको बेलाबेलामा खुब बखान हुन्छ- गोष्ठी, सेमिनार, सभा र सम्मेलनहरुमा । हिजोआज आर्थिक सम्बन्धको पनि कुराकानी बाक्लो हुन थालेको छ । भारतले नेपाललाई १९५० को सन्धि दियो । त्यो अघि नेपालले भारतलाई सुगौली सन्धि दियो । नेपाली नेताहरुले भारतमा 'अङ्ग्रेज छोड' आन्दोलनमा सघाए । भारतीय नेताहरुले नेपालमा राणा र शाहतन्त्र सिध्याउने अभियानमा सघाए । भारतले सन् १९९६ मा नेपाललाई व्यापार तथा पारवहन सम्झौता र सन् २००८ मा १२ बुँदे राजनीतिक सम्झौता पठाइदियो । नेपालले पनि कोशी सम्झौता, महाकाली सम्झौता आदि दियो ।

यसरी नेपाल-भारतबीच लेनदेन चलिरहेकै छ । नेपाल-भारत सीमाक्षेत्रमा भारतीय चेली नेपाली चेलालाई र नेपाली चेली भारतीय चेलालाई दिने काम त हजारौं वर्षअघिदेखि भइरहेकै छ । अहिले पनि नेपालले पचासौं लाख युवायुवती भान्छे, चौकीदार, कुल्ली आदि रुपमा भारतभरि पठाइरहेकै छ । त्यस्तै, भारतले पनि तरकारी बेच्नेदेखि सरकारी ठेक्कापट्टा पड्काउने सम्मका भारतीयहरुलाई नेपाल पठाएकै छ ।

नेपाल तीनतिरबाट भारतले घेरिएको छ । नेपालले भारत पठाउने निर्यातभन्दा भारतबाट नेपाल आउने आयात तीन सय गुणाजति छ । त्यसैले नेपाल भारतलाई भन्छ- हामीलाई विश्व बजारमा पुग्ने निकास देऊ र अलिकति बिहारी विकास पनि देऊ । भारत नेपाललाई भन्छ- मैले त गर्नसम्म गरेकै छु । पचासौं लाख नेपालीलाई काम दिएर गाउँगाउँका मानिसको खल्तीमा भारतीय नोट भरेकै छु । बाटो, नहर, स्कूल, हेल्थ पोष्टलगायत बेलाबेलामा सरकारका नेताहरुलाई कक्टेल डिनर पार्टी र टोष्ट पेश गरेकै छु । बरु तिमी यसो बिजुली, पानी र ढुङ्गाको खानी भारततिर पठाइदेऊ, अनि नेपालले खोजेको निकास र विकास सहज बनाइदिउँला ।

नेपाल फेरि भन्छ- भारतले जति दिए पनि जनताको पेट भर्न सकिएन, भारतबाट नेपालमा हजारौं सामान आयात हुन्छ तर नेपालबाट भारत बीसओटा सामान पनि निर्यात गर्न सकिएन । भारत फेरि भन्छ- त्यो त नेपालको आफ्नो कमजोरी हो । कुरोको चुरो के रहेछ भने नेपाल बेलाबेलामा घुर्क्याउने र जोरीचाहिँ खोज्ने तर जलस्रोत र खनिजले भरिपूर्ण आफ्नो धनको 'तिजोरी' चाहिँ नखोल्ने । अनि कहाँबाट नेपालमा निस्कन्छ निकास र हुन्छ विकास ?नेपाल भन्छ- सबै गएर राजनीतिमा हलो अड्कियो । अड्किएको हलो फुकाउन सहयोग गर । नेपालको उन्नतिले तिम्लाई पनि केही न केही हुन्छ विश्वास र भर । भारत थप्छ- राजनीतिक भेटवार्तादेखि गोलमेच सम्मेलन गराएकै छु । सभासद् बोक्ने बसदेखि ठाउँठाउँका लागि एम्बुलेन्स उपलब्ध गराएकै छु । त्यो भन्दा बढी के गर्न सकिन्छ र ?  अब पनि तिमी आफै केही गर्न सक्तैनौ भने जे गर्छौ गर नभए मर ।

यसरी भारत नेपालप्रति उदासीन देखिन्छ भने नेपाल भारतप्रति अझै पनि आशावादी । त्यसै भएर भारतीय नेताहरु नेपाल भ्रमणमा आउने क्रम स्वाट्टै घटेको छ ।  तर, नेपालका राजनीतिक नेताहरु भने हूलका हूल दिल्ली दरबार धाउने क्रम झन् बढेको छ । तपाईंले यी पङ्क्तिहरु पढुञ्जेल पनि कति नेपाली नेताहरु दिल्लीमै होलान् वा दिल्ली उड्ने क्रममा होलान् ।नेपालको रोग नै राजनीतिक हो, भन्ने थाहा पाएपछि यो पङ्क्तिकारको दिमागमा नेपालको राजनीतिक निकासका लागि एउटा अचुक उपाय फुरेको छ । भारतले नेपाललाई थुप्रै कुरामा सहयोग गरी नै सकेको छ । अब थप एउटा सहयोग माग्नुपर्‍यो, त्यो उसले दियो भने नेपालका सबै समस्याको एकैचोटि समाधान हुन्छ । त्यो हो- नेपाली सबै राजनीतिक दलका सबै ठूला नेतालाई राँचीको प्रख्यात अस्पतालमा एक एकओटा बेडको व्यवस्था गरिदिने र सबैलाई त्यहीँ लगेर उपचार गराइदिने । बस्, अब यति मात्र सहयोग भारतले गरिदिने हो भने नेपालका सबै रोगको उपचार हुनेछ भन्ने यो मनुवा ठोकुवा गर्दछ । त्यसपछि त नेपालले निकास पाउनेछ र नेपाल-भारत दुवै तर्फो उद्योग व्यवसायको पनि विकासै विकास हुनेछ ।

Admin 2011-03-18