मौलिक नेपाली उद्यमशीलता
मदन लम्साल
कसले भन्छ नेपालीहरु व्यापार गर्न जान्दैनन् भनेर ? मिठाइदेखि मिनरल वाटरसम्म, खाद्यान्नदेखि खाना ख्वाउने रेष्टुराँसम्म नेपालको निजीक्षेत्रमा एकसे एक माहिर व्यापारीहरुको विकास भइसकेको छ । हामी नेपालीले 'अ' देखि 'ज्ञ' सम्म अर्थात् औषधिदेखि ज्ञापनपत्र र अझ प्रज्ञापनपत्रसमेत दुरुस्तै फोटोकपी बनाएर व्यापारमा भारत र चीनलाई समेत पछाडि पार्ने प्रतिस्पर्धी क्षमता विकास गरिसकेका छौं ।
यसको अर्थ नेपालको सरकारी क्षेत्र निजीक्षेत्रभन्दा कम व्यावसायिक छ भन्नु बहुसङ्ख्यक सरकारी कर्मचारीप्रति अन्याय हुनेछ । उनीहरु त यसै पनि निजीक्षेत्रलाई व्यापार सिकाउने कलामा सबैलाई उछिन्न सक्छन् भन्ने प्रमाणित भइसकेको कुरा हो । उदाहरणका रुपमा नेपाल विद्युत् प्राधिकरण वा नेपाल आयल निगमका कर्मचारीहरुलाई लिन सकिन्छ । जसले निजीक्षेत्रलाई व्यापारमा कसरी नाफा कमाउने भनेर वर्षौंदेखि सिकाइरहेका छन् । त्यस क्रममा आफ्ना संस्थान डुबाएर भने पनि उनीहरुले आफ्नो र निजीक्षेत्रको नाफाका लागि मरिमेटेर काम गरेका छन् । त्यस्तै वाणिज्य विभागले पनि वर्षमा एक दुईपटक मात्र बजार अनुगमन गरेजस्तो गरेर बाँकी समय निजीक्षेत्रलाई कुस्त कमाउने मौका दिएर 'प्राइभेट सेक्टर फ्रेण्डली' छौं भन्ने सन्देश दिइरहेको छ ।
कतिपय मानिसले वर्षमा एकपटक, त्यो पनि दशैंतिहारजस्ता चाडपर्व अघि मात्रै किन वाणिज्य विभाग सक्रिय हुन्छ भनेर पनि प्रश्न गर्ने गर्छन् । आखिर वाणिज्य विभाग त झन् वाणिज्य व्यापारजस्ता कुरामा पछि पर्नै भएन । अर्थात् दशैंतिहारजस्ता चाडपर्वमै धेरै व्यापार हुने भएपछि बित्थामा वर्षरि नै किन मेहनत गर्ने ? वर्षमा एकदुई पटक मेहनत गरे त पुगिहाल्छ भनेरै ऊ अरुबेला चुप, चाडबाडमा चनाखो हुने गरेको हो भन्ने बुझ्न गाह्रो छैन । फेरि सरकारी कर्मचारी भएर वर्षौभरि व्यापार गरिरहन पनि त भएन नि ! चाडबाडबाहेक अरुबेला अरु नै व्यापार पनि त गर्न पर्यो ।सरकारी कर्मचारीलाई व्यापार गर्न सजिलो पनि छ । अरुले केही भन्लान् भन्नुभन्दा पहिल्यै आफ्नो अफिस कोठा अगाडि 'भ्रष्टाचारीलाई प्रवेश निषेध' भन्ने स्टीकर टाँस्न लगायो वा 'भ्रष्टाचारीलाई कीरा परोस्' भन्ने श्रापअङ्कित भेष्ट लगाएर फोटो खिचायो, पत्रिकामा छपायो । यति गरिसकेपछि आफूले व्यापार गरेको कुरा जगलाई जाहेर नहुने प्रश्नै भएन ।
नेपालीहरु कति व्यावसायिक र चलाख छन् भन्ने कुरा त गत साता गएको भुइँचालोमा पनि देखियो । झण्डै ७ रेक्टर स्केलको त्यत्रो भुइँचालो गयो, त्यत्तिका भवनहरु चर्किए, ढले । तर, एकजना इञ्जिनीयर र एकजना ठेकेदारलाई पनि केही भएन । किनकि आफूले बनाएको भवन कति कमजोर छ भन्ने कुरा उनीहरुलाई थाहा हुने नै भयो । त्यसैले भुइँचालोको धक्का महसूस हुनासाथ पहिल्यै बाहिर कुलेलम ठोकेर उनीहरुले आफ्नो ज्यान र इज्जत दुवै बचाए । अरु त अरु प्रधानमन्त्री जो स्वयम् आर्किटेक्ट इञ्जिनीयर हुन्, भुइँचालो आएको थाहा पाएपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट त्रसित मुद्रामा बाहिर भागेको दृश्य त सबैले देखेकै हो । किनकि उनलाई पनि यो सभासद्हरु उठ्बस् गर्ने भवनप्रति विश्वास लागेन । लागोस् पनि कसरी ? यो पनि सामान्य ज्ञानको कुरा हो कि ठेकेदार र इञ्जिनीयरले नेपालमा आफ्नो सेवाशुल्कबाहेक पनि अतिरिक्त व्यापार नगरी प्राय: कुनै भवन पनि बनाएका छैनन् । देशको अन्तरराष्ट्रिय हवाईमार्गमा त खुलेआम व्यापार गर्ने नेपालका इञ्जिनीयर र ठेकेदारले अन्य भवनमा व्यापार नगरी बसे होलान् भन्ने सोच्नु मूर्खता हुनेछ ।
नेपालीहरुले खानेपिउने कुरामा वा बाटो र भवनजस्ता पूर्वाधारमा मात्र व्यापार गर्न सिकेका होइनन् । उनीहरु हरेक किसिमका सेवा (जस्तै, पासपोर्ट, नागरिकतादेखि मार्कसिट, प्रमाणपत्र र आवश्यक परेका बेला नोटहरुसमेत) स्वयम् उत्पादन गरेर अरुलाई उपलब्ध गराउन सक्ने बनेका छन् । यसले नेपालीहरु प्रविधिमा पनि धेरै अगाडि रहेको कुरा पुष्टि गर्छ । त्यसैले अब मौका पाए भने विश्वभरिका 'मल्टिनेशनल' कम्पनीहरुलाई पनि 'गुँदपाक' ख्वाउन सक्ने हैसियत नेपाली व्यापारीहरुसँग छ भन्ने कुरामा अब द्विविधा रहेन ।