राबैको पस र बैङ्कहरुको सातो
मदन लम्साल
गत बुधवार राष्ट्र बैङ्क (राबै) ले अचानक पत्रकार सम्मेलन (पस) गर्यो । पत्रकारले भन्दा पहिले बैङ्कका सीईओहरुले यो हुँदै छ भन्ने थाहा पाइसकेका रहेछन् । थाहा नहोस् पनि कसरी ? कतिखेर गभर्नरलगायत राबैका उच्च अधिकारीलाई रुघा लाग्छ, कतिखेर उनीहरुको मुड सप्रिन्छ वा बिग्रन्छ भन्ने हेक्का त बैङ्क चलाउनुपर्ने भएपछि राख्नैपर्यो । नत्र बैङ्क चलाउने कसरी ? कुन बैङ्क वा सीईओमाथि बैङ्कहरुको पनि बैङ्क राबैका बाबै (बाबु बैङ्कर) को सुदृष्टि वा कुदृष्टि पर्ने हो भन्ने कुराको ख्याल त राखेरै काम गर्नुपर्यो नि ! अलिकति तलमाथि पर्यो भने त फेरि एनएसएमका योगेन्द्र र गोर्खा बैङ्कका बमजनको जस्तै हालत हुन के बेर लाग्छ र ? त्यसमा अझ राष्ट्र बैङ्कले समेत पुलिसको काम पनि गर्न पाउनुपर्छ भन्ने राबैको माग रहेको सन्दर्भमा बबुरा बैङ्करहरु नडराई भो र !
भन्न त स्वयम् गभर्नरले फिल्मी शैलीमा 'कोही पनि डराउनु पर्दैन' भनेर आश्वासन पत्रकार सम्मेलनमा दिनुभएछ । तर, परिस्थिति नै ठीक नभएका बेलामा उहाँले भनेर मात्र विश्वास गरिहाल्न पनि त अप्ठेरो छ नि ! किनकि राष्ट्र बैङ्ककै निगरानीमा रहेको गोर्खा विकास बैङ्क 'टाइटानिक' जहाज डुबेसरी डुब्दै छ क्यारे । त्यो थाहा पाएर होला शायद राबैले 'राम राम' भन्नुसिवाय यो बैङ्कलाई काँध थाप्न त गएन । अब ५/५ अर्ब निक्षेप भएको बैङ्क, जसको साँच्चैको खराब ऋण भनेको बढीमा पचासै करोड होला, लाई त राबैले बचाउन सकेको छैन भने सानोतिनो निक्षेप सङ्कलन भएका र एनपीए (खराब ऋण प्रतिशत) धेरै भएका अन्य कतिपय बैङ्कहरुलाई कसले बचाउला र ? शायद पशुपतिनाथले पनि सक्तैनन् । त्यसैले आजकल बैङ्करहरु थर्कमान छन् ।
हुन त यो बेमौसमको झरी परिरहेका बेला राबैले पस नै किन गर्यो बुझ्न नसकेर पनि बैङ्करहरु झन् त्रस्त भएका हुन सक्छन् । त्यसैले सबैले आआफ्नै किसिमको अनुमान लगाएर बसेका छन् । कसैकसैले त अब देशको अर्थतन्त्र खत्तमै भइसकेकोले यो कुरा ढाकछोप गर्न राबैले यो बेला पस गर्यो बाबै भन्नेहरु पनि छन् । कसैकसैले भने गोर्खा, युनाइटेड विकास बैङ्क, एनएसएमलगायतमा भएका हालसालैका प्रकरणहरुका कारण बैङ्किङप्रति घट्दो जनविश्वासको कारक राबै नभएको भनेर आफ्नो प्रतिरक्षा गर्न यसो गरेको भनरे बुझेका पनि छन् ।
देशमा लगानी गर्ने वातावरण सहज नहुनुमा राबैले लिएका केही नीतिहरु गलत थिए भनेर चार छ महीनाअघि नै गर्नुपर्ने स्वीकारोक्ति ढिलै भए पनि राबैले गर्यो भनेर बुझ्नेहरु पनि छन् । त्यस्तै ल्याउने बेलामा अव्यावहारिक नीति ल्याएर बैङ्किङ क्षेत्रलाई अप्ठेरोमा पार्ने अनि त्यस्ता नीतिहरुको नकारात्मक प्रभाव अर्थतन्त्रमा देखिन थालेपछि राबैका विगतका व्यवस्थापनलाई दोष थुपारिदिएर आफू पानीमाथिको ओभानो बन्न पस गरी हिँडेको भनेर आरोप लगाउनेहरु पनि थुप्रै छन् ।
जे होस् पस गरेर राबैले जेजे बोले पनि जजसले जे-जसरी बुझे पनि गभर्नरले स्पष्ट रुपमा एउटा सत्य कुरा भनेका छन् कि 'चमत्कार भए मात्र देशको शोधनान्तरस्थितिमा सुधार आउँछ ।' कुरा ठीकै हो । जबसम्म राजनीतिक दल र यिनका नेताले संविधान नदिएर देशलाई बलात्कार गरिरहन्छन्, देशमा चमत्कार त कसरी सम्भव हुन्छ र ? अनि कसरी सुध्रन्छ देशमा लगानीको वातावरण ? यसमा राबै बाबैको मात्र दोष कहाँ छ र ?
Admin 2011-05-20