शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

मन्त्रिमण्डल होइन मन्त्रालय पुनर्गठन
मदन लम्साल
संविधान बनाउन सरकारका इतर हुन् या भितर सबै दलका नेताहरुलाई केवल दुई कुरा चाहिएको टड्कारो देखिन्छ । अहिलेको झगडा त्यसकै लागि हो । एउटा गोजीमा टन्न पैसा, अर्को पद अर्थात् पाए प्रधानमन्त्री नपाए धान, चामल या आपूर्ति-सापूर्ति जे भए पनि कुनै एक मन्त्री । यस विषयमा घोर उत्तरवादी होस् कि दक्षिणवादी दल सबै एउटै डयाङका मूला वा एउटै ग्याङका गुण्डाजस्ता देखिन्छन् । त्यसैले अहिले भएका सभासद्मध्ये, एक दर्जन उद्योगी-व्यवसायी सभासद्हरुलाई छाडेर, सबैलाई मन्त्री बनाइदिनुपर्छ ।

उद्योगी-व्यवसायीलाई मन्त्री बनाउनु हुँदैन भन्नेचाहिँ पटक्कै होइन । समस्या, देशमा राजा नरहेकाले उनीहरुलाई कसले मनोनित गरेर मन्त्री बनाइदेलान् भनेर मात्र हो । हैन उनीहरु पनि सभासद् बन्दाका बखतजस्तै माओवादी होस् या खाओवादी कुनै न कुनै दलकै सिफारिशमा मन्त्री बने भने त अति उत्तम भइहाल्यो । यति भएमा भदौ १४ मा 'रेडिमेड' संविधान बनेर आउने पक्का हुनेछ । तर, नयाँ मन्त्रालयको चयन र नामकरण भने दलहरुको स्वाभाव, उनीहरुको इच्छा आकाङ्क्षा आदि सबै कुरालाई समेटेर समावेशी किसिमको हुनुपर्छ ।

जस्तै, एक त एमाओवादी दललाई दिने मन्त्रालय र काङ्ग्रेसलाई दिने मन्त्रालय एकै प्रकृतिको हुनुहुन्न । दोस्रो, काङ्ग्रेस, एमाले, एमाओवादी र सद्भावनालगायत मधेशी दलहरुको मन्त्रीमा भाग करीब ९९ प्रतिशत हुनुपर्छ अनि मात्र बाँकी दलहरुलाई भाग दिनुपर्छ । वास्तवमा अब मुलुकको 'अग्रगामी छलाङ'का लागि मन्त्रिपरिषद् होइन, मन्त्रालयहरु नै पुनर्गठन हुनु अपरिहार्य भइसकेको छ ।

तेस्रो, जुनजुन दलले जुनजुन मन्त्रालय सम्हाल्ने हो, त्यस मन्त्रालयमा सो दलबाहेक अन्य कुनै दलको र प्रधानमन्त्रीको समेत हस्तक्षेपको कुरै छाडौं सुझावसमेत हुनुहुँदैन ।
दलहरुको स्वभाव, अहिलेसम्म उनीहरुले देशका लागि गरेको योगदानको कदरस्वरुप निम्न दलका लागि निम्न किसिमका नाम र काम भएका नयाँ मन्त्रालयको सिफारिश गरिन्छ :

एमाओवादीका लागि उपयुक्त मन्त्रालय

नाम काम
१. लुट, हत्या र आतङ्क मन्त्रालय शान्तिलाई स्थापना गर्ने
२. पैसैपैसा मन्त्रालय देश विदेशबाट विभिन्न स्रोतबाट जुटेको राजस्व चलाउने काम गर्ने
३. काम नगरी माम मन्त्रालय काम नगरे पनि चन्दा, तलब, ठेक्का पाउनु पीएलए र कार्यकर्ताको नैसर्गिक अधिकार स्थापित गर्ने ।
४. घात, प्रतिघात, अन्तर्घात र क्रान्ति मन्त्रालय दलहरुभित्रै आफ्नै सहकर्मीसँग घात र अन्तर्घात् गर्ने कलाको विकास गर्दै देशमा विविध क्रान्ति गर्नका खातिर ।
५. गरीब विकास तथा सैद्धान्तिक मन्त्रालय देशमा गरीबको विकास अर्थात् गरीबी बढ्नुमा नै दलको विकास र दलको विकासमा नै देशको विकास हुने भएकाले विगतमा मार्क्स, लेनिन, माओ, स्टालिनलगायतकाले प्रतिपादन गरेको सिद्धान्तलाई हुबहु लागू गर्न प्रतिबद्ध ।
६. हातहतियार तथा खरखजाना मन्त्रालय देशको अहिलेको एक र प्रमुख समस्या भनेकै लडाकू, गुण्डाहरुसँग हतियार रहेकाले त्यसलाई अझ व्यवस्थित र विकसित गर्न ।

एमालेका लागि सुहाउने मन्त्रालय

१. निर्णायक मन्त्रालय दलभित्र पनि विभिन्न गुट, उपगुट र कुटाकुट हुने तर कुनै पनि कुरामा निर्णयमा पुग्न नसक्ने भएकाले कसरी, कहिल्यै पनि निर्णयमा पुग्न नसकियोस् भनेर काम गर्न ।
२. मौका मन्त्रालय २०४६ सालयता सबैभन्दा बढी समय सरकारमा रहेकाले त्यो परम्परालाई कायम राख्न कहाँ, के मौका प्राप्त गर्न सकिन्छ भनेर लाग्नका लागि ।

काङ्ग्रेसका लागि सुहाउने मन्त्रालय

१. ज्येष्ठ नागरिक मन्त्रालय दलमा बूढा तथा अशक्त र अक्षमहरुको सङ्ख्या बढ्दै गएकाले त्यसैको विकासका लागि समर्पित
२. लाठीमुँग्रा मन्त्रालय देशमा प्राय: सबै ठूला दलका सैन्य दस्ता गठन भइसकेको परि्रेक्ष्यमा काङ्ग्रेसमा पनि त्यसको तयारीका लागि काम गर्न ।

सद्भावनाका लागि सुहाउने मन्त्रालय

१. फुटाउ र कमाउ मन्त्रालय दल जतिपटक फुटायो त्यति नै फाइदा हुने र कमाउने एउटा माध्यम पनि हुनाले देशमा यो संस्कृतिको विकास र जगेर्ना गर्नकै लागि ।


यदि माथि उल्लेख गरिएबमोजिम मन्त्रालय बनाएर दलहरुलाई जे गर्न पनि छूट दिएर देश पूरै उनीहरुलाई मात्र जिम्मा लगाउने हो भने संविधान पनि समयमै बन्नेछ र देशमा ज-जसलाई जेजे चाहिएको हो, त्यही त्यही प्राप्त हुनेछ । त्यसमा अहिले विद्यमान मन्त्रालयहरुको कामअनुसार नाम पनि निम्नअनुसार परिवर्तन गर्नुपर्ने हुन सक्छ । जस्तै-
१. निर्माण मन्त्रालय : ठेक्कापट्टा मन्त्रालय
२. शान्ति मन्त्रालय : भागशान्ति मन्त्रालय
३. परराष्ट्र मन्त्रालय : विदेश भ्रमण मन्त्रालय
४. शिक्षा मन्त्रालय : बेरोजगार उत्पादन मन्त्रालय
५. अर्थ मन्त्रालय : भ्याटमाफी मन्त्रालय
६. श्रम तथा यातायात मन्त्रालय : वैदेशिक रोजगार तथा सिण्डिकेट मन्त्रालय
७. उद्योग मन्त्रालय : खुला आयात मन्त्रालय ।

Admin 2011-07-22