शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दस लाख पर्यटक आउने पक्का
मदन लम्साल
दश लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यसहित पर्यटन वर्षगत हप्ता धूमधामसँग काठमाडौंमा शुरु भयो । कसैकसैले १० लाख पर्यटक नेपाल आउने कुरालाई 'गँजेडी गफ' को रुपमा लिएका छन् । यो स्तम्भकारको विचारमा त नेपालमा यो वर्ष१० लाखभन्दा पनि बढी नै पर्यटक आउनबाट अमेरिकाले पनि रोक्न सक्तैन । उसले माओवादीलाई आतङ्ककारीको सूचीबाट नहटाए पनि र आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सल्लाह दिए पनि त्यही अमेरिकालगायत विश्वभरका सबै देशबाट पर्यटक नेपाल आउनेछन् ।

विदेशीहरु नेपाल आउने पहिलो कारण त नेपालीहरुको हँसिलो अनुहार हेर्नकै लागि हो । केही वर्षअघि नेपाल पर्यटन बोर्डले गरेको एक सर्भेक्षणले पनि यही देखाएको थियो । आफूलाई जस्तोसुकै अन्याय परे पनि नेपालीहरु नरिसाउने, प्रतिक्रिया नजनाउने, विरोध नगर्ने, गरिहाले पनि आफ्नै घरभित्र बसेर मात्र गरिरहने र आफूलाई केही नभएजस्तो गरी भेडाबाख्रा हाँसेझै हाँसी नै रहने स्वभावका कारण विदेशीहरु हामीहरुलाई हेर्न आउन पर्यटकहरु मरिहत्ते गर्नेछन् ।

सामान्य नागरीकले कुनै कानून मिच्यो भने कारबाही हुन्छ, कुनै उद्योगीले बैङ्क ऋण लिएर तिरेन भने उसको सम्पत्ति जफत हुन्छ, पासपोर्ट रोक्का हुन्छ । तर, राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताले कानून मिचे पनि, मान्छे जलाए पनि, जनतालाई पटकपटक ढाँटे पनि, एउटा काम गर्न भनेर संसद् वा सरकारमा गएर त्यो कहिल्यै पूरा नगरे पनि नेपाली जनता हाँसी नै रहन्छन् । नेपालीहरुको यो अद्भूत हाँसिरहन सक्ने खुबी हेर्न पनि पर्यटकहरु नेपाल आउन चाहन्छन् । एउटा डाँकाले आफ्नो जीवनकालमा १ हजार घर लुट्ला र १ पुस्ताको जीवन बर्बाद गर्ला । तर, एउटा राजनीतिक पार्टी वा तिनका नेताले लाखौं घर र १०औं पुस्ताको भविष्य लुटिरहेको पनि हाँसीहाँसी टुलुटुलु हेरिरहने सभ्य र गौप्राणी नेपाली हेर्न नेपाल नआए पर्यटक कहाँ जाने ? यसरी नियम कानूनभन्दा माथि, 'सुपरपावर' भन्दा पनि 'पावरफूल' नेपालका राजनीतिक प्राणीहरु नेपाल आउने पर्यटकका लागि अर्को आकर्षण हुने निश्चित छ ।

नेपालीको जनसङ्ख्या झण्डै तीन करोड पुगिसकेको छ । पर्यटक त जम्मा दश लाख जति आउने कुरा भएको न हो । देशमा पर्याप्त पूर्वाधार, होटल र मोटल नभएर के भयो र ! 'होमष्टे' को सेवा दिन नेपालीले शुरु गरिसकेका छन् । त्यसैले जाबो दश लाख पर्यटक त तीन करोड नेपालीबीच कहाँ हराउँछन्  कहाँ ? मौरिसस भन्ने देशमा जनसङ्ख्या जम्मा ६ लाख छन् तर त्यहाँ पर्यटक नै १२ लाख जान्छन् रे । त्यस्तै हाम्रै छिमेकी सिक्किममा पनि ६ लाख नै जनसङ्ख्या भएकोमा त्यहाँ पनि त्यसै गरी पर्यटक हुरुरु जान्छन् । तिनीहरुले त पर्यटकलाई आकर्षण गर्न सकेका छन् भने तीन-तीन करोड नेपाली भएपछि दश लाख पर्यटकलाई आकर्षण गर्न कसो नसक्लान् ?

विदेशीकै सेवाका लागि पाएदेखि सबै नेपाली विदेशतिर जान खुट्टा उचालिरहेका बेला स्वदेशमै आउन चाहने ती गोरा विदेशीलाई आफ्नो सेवाभावले आकर्षण गर्न नेपालीलाई कसैले सिकाउनुपर्छ र ! यता आउने विदेशीले उता लाने सम्भावना पनि हुन्छ । त्यो राम्ररी बुझेका नेपालीले विदेशीलाई नेपाल आउन भनेर पक्कै प्रेरित गर्नेछन् । ट्वाइलेट, धारालगायत पूर्वाधार नभएकाले सबै नेपालीले पर्यटकलाई 'होमष्टे' सेवा दिन सक्दैनन् कि भन्ने शङ्का उठ्न सक्छ । तर, कोही पर्यटक पनि नेपाल यूरोप, अमेरिकाजस्तो छ भन्ठानेर आउने नै होइनन् । उनीहरुले पत्रिकामा पढेकै होलान् वा इण्टरनेटमा देखेकै होलान् नेपालका गाउँमा ट्वाइलेट घरभित्र होइन बाहिरै जानुपर्छ भनेर । त्यो अनुभव लिन नै ट्रेकिङ सेकिङ जाने भनेरै उनीहरु यहाँ आउने गरेका हुन् । बरु केही जिल्लाहरुले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर पो पर्यटकलाई चिन्तित बनाएको हुनुपर्छ ।

जेहोस् अहिले धर्म प्रचार गर्न आउने धार्मिक पर्यटन, शान्ति प्रचार गर्न आउने अनमिनजस्तै शान्ति पर्यटन, तेस्रो लिङ्गी र चौथो अङ्गको प्रचारप्रसार, ऐक्यबद्धता, विचार, भावना साटासाट आदि गर्न आउने पर्यटक गरेर कसो नपुग्ला दश लाख ! एक जना सभासद्ले नै सन् २०११ मा २ हजारजति पर्यटक त आफू एक्लैले नेपाल भित्र्याउने घोषणा गरेको कुरा त प्रकाशमा आइसकेकै छ । पोहोरपरारतिर आफ्नो महाधिवेशनमा एनआरएनहरुले एक एनआरएनले एक जना एक पर्यटक नेपाल पठाउने भनेर गफ गरेका थिए । अहिले कुनै सरकारी अधिकारीले एनआरएनलाई डबल नागरिकता दिलाइदिन्छु भनेर यसो सार्वजनिक कार्यक्रममा बोल्दिने हो भने उनीहरुले पनि डबल पर्यटकलाई जहाज चढाएर नेपालतीर पठाउन शुरु गर्ने नै छन् ।यति भएपछि सन् २०११ भित्र नेपाल आउने पर्यटक १० लाख पुग्ने कुरामा किन चिन्ता ? त्यति नपुग्ने नै परिस्थिति आएछ भने पनि विदेशमा बसेर १८० दिन काम गरिसकेका नेपाली (जो एक किसिमका पर्यटक नै हुन्) लाई केही समय फिर्ता बोलाए त नेपाल आउने पर्यटक दश लाख नाघ्ने पक्का छ ।