अन्ना, अख्तियार र भ्रष्टाचार
मदन लम्साल
भारतमा अन्ना हजारेले भ्रष्टाचारविरुद्ध शुरु गरेको अभियानको ज्वरो ढिलोचाँडो नेपालमा पनि शुरु भएको छ । अस्ति मात्रै नेपालगञ्जमा हजारेको समर्थनमा मानिसहरु तुल बोकेर निस्किए । किनकि भनाइ नै छ नि, भारतलाई रुघा लाग्दा नेपालमा हाछयूँ गर्छन् भनेर । अनशन नै भएपछि त केही हलचल त हुने नै भयो ।
तर, हजारेले भारतका लागि माग गरेका कतिपय कुरा त नेपालले पहिल्यै पूरा गरिसकेको स्थितिमा भ्रष्टाचारविरुद्धको ज्वरो आएछ नै भने पनि नेपालमा त्यो त्यति तात्नेवाला छैन किनकि हजारेले माग गरेको लोकपाल अर्थात् नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुआ) त जमानादेखि भयङ्कर सक्रिय छँदै छ । अब अदुआले यत्तिका वर्षदेखि कतिलाई पोल्यो होला भन्ने त सहजै अनुमान गर्न सकिन्छ । त्यसैले त नेपालमा भ्रष्टाचार प्राय: शून्यको स्थितिमा रहेको देखिन्छ ।
केही वर्षअघि नेपालका कतिपय राजनीतिक नेता र कर्मचारीलाई भ्रष्टाचारीको आरोपमा अदुआले पोलेको पनि थियो । यो भिन्दै कुरा हो कि तीमध्ये केवल एकाध चिरञ्जीवी वाग्ले टाइपका बलिका बोकाहरुलाई मात्र उसिनेर बोसो निकाल्ने काम गर्यो । त्यस्तै हाल सुडान घोटाला प्रकरणमा केही पूर्वप्रहरीहरुको जिउ सुम्सुम्याउनेसम्म काम गर्यो । शायद, यसरी नै अरु बोकाहरुको छाला काढ्ने र बोसो निकाल्ने काममा अदुआ सक्रिय होला नै ।
तर, हाम्रो यति पुरानो अदुआले त भ्रष्टाचारको टाउको, पुच्छर केही भेट्टाउन सकेको छैन भने हजारेले अहिले जन्माउन आँटेको भारतीय अदुआ अर्थात् लोकपालले के नै नापिहाल्ला र ? किनकि भ्रष्टाचार भन्ने जन्तुलाई दुनियाँमा आजसम्म कसैले भेटेकै छैन, शायद देखेको पनि छैन । अब हुँदै नभएको जीवलाई कहाँ भेट्नु ? उही नेपालमा यती भन्ने जनावर पाइन्छ भनेजस्तै हो, भ्रष्टाचार पनि । यदि भ्रष्टाचार भएको भए देशमा यत्तिका प्रकरणहरुको चर्चा हुन्छ, पत्रपत्रिकाका पानाहरुमा भ्रष्टाचारका कथा भरिएका हुन्छन् । तर, कोही पक्राउ पर्दैन । अख्तियारले नै हिजो कतिपय राजनीतिक नेतालाई मुद्दा हाल्यो । पछि फेरि उनीहरु स्वच्छ भएको प्रमाणपत्र बनाएर दियो ।
त्यस्तै, नेपाल वायुसेवा निगममा जहाज किन्दा भ्रष्टाचार भयो भनेर यत्तिका जहाज काण्डका कुरा हुन्छन् तर भ्रष्टाचारी कोही, कहिल्यै फैला पर्दैन । भ्रष्टाचारी भएकै भए त कोही न कोही, कहिले, कुनै न कुनै समय त फेला पथ्र्यो होला नि त ! त्यसकारण न त हजारेको भारतमा भ्रष्टाचारीहरुलाई समात्ने योजना सफल हुन सक्छ त नेपालमा ।
अर्को कुरा, भारतमा हजारेले माग गरेजस्तै यो वा त्यो बिल पास गराएर कसैलाई भ्रष्टाचारी मानेर कीरालाई 'बेगन स्प्रे' छर्किएर मारेजस्तै भ्रष्टाचारी भनिएकालाई साफ गरे पनि यदि उनीहरुको अस्तित्व छ भने त अर्को ठाउँबाट अरु नै रुपमा प्रकट भइहाल्छन् भ्रष्टाचारी । अनि त्यसबेला कसरी चिन्ने भ्रष्टाचारी ? कसरी पक्रने उनीहरुलाई ?त्यत्तिकै महत्वपूर्ण अर्को कुरा पनि छ, भ्रष्टाचारी नभए पनि भ्रष्टाचार नामक भूत भने चाहिने रहेछ । त्यो नहुने हो भने हाम्रोजस्तो देशको कहिल्यै बढ्न नसकेको शिशु प्रजातन्त्र वा लोकतन्त्र कसरी चल्ला ? कसले देला चन्दा दलहरु चलाउन ? अहिलेसम्म त चन्दा, सहयोग, फिरौती आदिका नाममा दलहरु चलिरहेका छन् । भोलि के सीधै रसिदको साटो बन्दुक नै पठाउने दल चलाउने पैसा जम्मा गर्न ? कि त आज नेपाली निजीक्षेत्रले दान, चन्दा, सहयोग आदिलाई एक संस्कृतिकै रुपमा सहज आत्मसात् गरेजस्तै भोलि बन्दुकलाई पनि रसिदकै रुपमा ग्रहण गर्न तत्पर हुनुपर्यो । होइन भने यो भ्रष्टाचाररुपी भूतको कुरा गर्न छाड्नुपर्यो । किनकि यो भूत भूत मात्र हो, वास्तविकता होइन ।
त्यसैले भारतमा अन्ना जतिसुकै अनशन बसे पनि वा नेपालमा तथाकथित नागरिक समाजका अ(ह?)गुवाहरुले हल्ला गरे पनि वा विद्युतीय क्रान्तिकारीहरु (अर्थात् फेसबुक, टि्वटर आदिमा टि्वटको माध्यमबाटक ई-आन्दोलन गर्नेहरु) आरामदायी अफिसमा बसेर कम्प्युटरभित्र बकबक गरे पनि केही हुनेवाला छैन, 'भ्रष्टाचारीलाई कीरा' पनि पर्ने छैन । किनकि नेपालमा कोही भ्रष्टाचारी छँदै छैन । हजारेको हजारौं आन्दोलनले पनि भ्रष्टाचारी फेलै पार्ने छैन ।