फुट्नुमै छ विकास
मदन लम्साल
नेपालका हाम्रा उद्योगी व्यवसायी खास गरी विभिन्न पेशा व्यवसायसँग सम्बन्धित एशोसिएशन र सङ्घहरुले देशको आर्थिक विकासका लागि निकै प्रयासहरु गरिरहेका छन् । त्यसका लागि उनीहरु निकै लडेका छन् - चुनाव लडेका छन्, एक-आपसमा हात हालाहाल गरेर लडेका छन्, मुख छोडाछोड गरेका छन् । लडेको लडयै छन् ।
अस्ति भर्खर भएको नेपाल विज्ञापन सङ्घ (आन) कै चुनावको कुरा गरौं न । नेपाली विज्ञापन व्यवसायको 'शान' लाई एउटा उचाइमा पुर्याउन 'आन' का नयाँ र पुराना सदस्यहरुले कोठे गोष्ठीहरु गरे, एक अर्कालाई गालीगलौज गरे, अझ आनको साधारणसभा स्थगित गरेरै राम्रो काम गर्न पाँउ भनेर एकथरीले जिल्ला कार्यालयमा गएर उजुरी-बाजुरी पनि गरे ।
त्यस्तै, नेपाल निर्माण व्यवसायी महासङ्घका सदस्य के कम ? एउटै सङ्गठनमा बस्दा देशको निर्माण गर्न नसकिने ठहर गरेर आठ जिल्लाका निर्माण व्यवसायी मिलेर छुट्टै महासङ्घ खोलेका छन् । कम्प्युटर एशोसिएशन नेपाल प्रगतिका लागि भनेर परारतिर झण्डैझण्डै फुटेको थियो । एशोसिएशन नफुटे पनि यसले १५ वर्षदेखि गर्दै आएको क्यान इन्फोटेक प्रदर्शनी फुटेर वर्षमा दुईदुई ओटा इन्फोटेक शो हुन शुरु भएको छ । यसले देशलाई सूचनाप्रविधिमय बनाइदिएको छ ।त्यसो त नेपालमा शायदै कुनै यस्तो व्यावसायिक सङ्घसङ्गठन होला जो प्रगतिका लागि नफुटेको होस् वा फुट्न नचाहेको वा फुट्ने प्रक्रियामा नरहेको होस् । कोही फुट्न बाँकी भए पनि मौका नपरेर वा साइत नजुरेर नफुटेका हुन सक्छन् । जस्तै नेउवा महासङ्घभित्र अटाउन नसकेपछि यसका एक पूर्वअध्यक्षले नेउपरी सङ्घ खोले । महासङ्घभित्र नअटाएर पूर्वअध्यक्षसँगै नेउपरी सङ्घ आएका उपाध्यक्ष यहाँ पनि अटाएनन् र उनले करीबकरीब चेम्बर मुभमेण्ट नै छोडेको जस्तो छ । नेपाल चेम्बर्श अफ कमर्शमा भने केही गडबड छ जस्तो छ । किनकि यसभित्रको फुटको कुरा त्यक्ति सार्वजनिक भएको छैन । शायद, उसले 'देश विकासका लागि फुटौं' भन्ने नारा अझै आत्मसात् गरेको छैन । तर, जे भए पनि नेपालका हरेक व्यावसायिक सङ्घसंस्थाले देशको आर्थिक विकासका लागि आन्दोलन गरेका छन्, थुप्रै बैठकहरु बसेका छन्, छलफल गरेका छन्, विभिन्न समिति, उपसमिति बनाएका छन्, वार्षिक साधारणसभा गरेका छन्, विदेश भ्रमणमा गएका छन्, सन्धिसम्झौतामा हस्ताक्षर गरेका छन् । देशका लागि गर्नुभाँती गरेका छन् । गुनासो गर्ने कुनै ठाउँ छैन ।
त्यसैले त देश विकासको बाटोमा लमकलमक लम्किरहेको छ ।देशको विकासलाई अब सगरमाथाको चुचुरोमै पुर्याउने हो भनेचाँहि निजीक्षेत्रले पनि राजनीतिक दलहरुबाट फुट्न र लड्न मात्र सिकेर पुग्दैन । देशको आर्थिक क्रान्तिका लागि दलका नेताहरुले जस्तै आयोग बनाउने, सम्मेलन, महाधिवेशन चलाउने, एउटै निर्वाचन बीसौंपटक गर्ने गराउने, समझदारी गर्ने, तोड्ने र फेरि सम्झौता गर्ने, त्याग गर्ने, संघर्ष गर्ने र बलिदान गर्नेजस्ता निर्णायक कार्यक्रमहरु लगातार गरिरहनुपर्छ । फुटेपछि मिल्ने कुरा कहिल्यै गर्नुहुँदैन । यो मुख्य कुरा हो । त्यसपछि त भारतका टाटा, बिडला, मित्तल, अम्बानी हुन् कि अमेरिकाका वारेन बफेट वा स्वयम् बिल गेट्स, सबै नेपालको विकास देखेर हेरेको हेर्यै हुनेछन् ।