हेर्दै बसे !
मदन लम्साल
बारीमा बाढी पस्यो
बालीमा कीरा पस्यो
जाली देशीविदेशी गाउँ पसे
गाउँका युवाचाहिँ खाडीमा फसे ।
शिक्षामा देश फेल भयो
राजनीतिमा झेलैझेल भयो
विदेशीका के कुरा
आफ्नाले नै देश डसे ।
जताततै छ पानी नै पानी
देश धनी, छ जडीबुटी र खानी
तर छैन, बिजुली अनि खाने पानी
बिचरा गरीब भोकै र प्यासै बसे ।
विद्यार्थी स्कूल-कलेज जलाउने
नेताहरु चन्दाको धन्दा चलाउने
ऊर्जाशील युवा सबै दलका झण्डामुनि
लुटेरा र ज्यानमाराले मुलुकको घाँटी कसे ।
के विकास सुझाए अर्थशास्त्रीले ?
केके कुरा बुझाए कुन्नी विज्ञले ?
कहाँ गए दाताका त्यत्तिका डलर ?
र, हाम्रा सपना खाल्डोमा खसे ।
कसरी बने नेता र कर्मचारी यति धनी ?
सेना र प्रहरीभित्र पनि भ्रष्टाचारी
कहाँ चुक्यौं हामी हिजो यसरी ?
सबै इमानदार दुला पसे ।
जताततै छ बेथिति अनि व्यभिचार
काम गर्नेका पछि लाग्छ अख्तियार
अर्थतन्त्र सङ्कटमा चुर्लुम्म डुबेको छ
जान्ने बुझ्ने जति विदेशतिरै बसे ।
पशुपतिनाथको देशको पशुवत् चाला
सबै आनन्दले हेर्दै बसे !
Admin 2011-06-24