शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

खोइ ! कहाँ छ भ्रष्टाचार ?
मदन लम्साल
ट्रान्सपेरेन्सी इण्टरनेशनल भन्ने संस्थाले भ्रष्टाचारको सूचीमा रहेका १ सय ७८ देशहरुमध्ये नेपाललाई १ सय ४६ औं स्थानमा रहेको तथ्याङ्क सार्वजनिक गरेछ । अर्थात् विगतका वर्षहरुमा झैँ यो वर्ष पनि ट्रान्सपेरेन्सीले नेपाललाई एक अति भ्रष्ट मुलुकका रुपमा दर्याएछ । गत वर्ष नेपाललाई उसले १ सय ४३ औं भ्रष्टको स्थानमा परेको देखाएको थियो । चाहिने कुरा हो र यो ? संसारमा कसैले पनि यसलाई पत्याउनेवाला छैन ।

भ्रष्टाचार कसले, कसरी, कहिले, किन, कहाँ गर्यो ? के यी कुरा ट्रान्सपेरेन्सीले कतै छापेको छ ? छैन । भ्रष्टाचार भएको भए पो छाप्नु । नेपालमा भ्रष्टाचार भएकै छैन । पहिलो कुरो त भ्रष्टाचार गर्नलाई देशमा पैसो पनि त हुनुपर्यो । असारमा ल्याउनुपर्ने बजेट कात्तिकमा पनि आउलाजस्तो छैन । अब बजेटै नआएपछि न त विकास निर्माणका काम हुन सकेका छन्, न गाउँ शहरमा पैसा गएको छ । न त ठेकेदारहरुले ठेक्का पाएका छन्, न सरकारी कर्मचारीले काम र दाम । पैसा नै नभएपछि कसले कसरी भ्रष्टाचार गर्ने ? होइन, भ्रष्टाचारको त्यो सूची त पोहोरको हिसाबमा पो आधारित हो त भन्नुहोला । तर, पोहोर पनि त अहिलेजस्तै बजेट ढिला आएको थियो नि ।

बजेट ल्याएपछि त भ्रष्टाचार भयो नि भन्ने कुरा पनि उठ्न सक्छ । तर, कागजमा बजेट ल्याएर मात्र पैसा फल्ने हो र ? बजेट ल्याउन त सरकारी ढुकुटीमा पैसा पनि त हुनुपर्यो । सेना, प्रहरीलगायत सरकारी कर्मचारीलाई तलब, भत्ता, विदेश भ्रमण, तालीम, चियाचमेना ख्वाउनै पर्यो । अनि ६ सय १ माननीय विधायक सभासद्ज्यूहरुलाई पनि कहिलेकाँही संसद्मा गइदिएर भोट हालेको, सुतेको आदि बापत तलबभत्ता पनि ज्यूनार गराइदिनै पर्यो । (मन्त्री, प्रधानमन्त्रीहरुको फोन खर्च, हेलिकप्टरबाट जिल्ला भ्रमण आदि खर्चको त कुरै नगरौं ।) यति गरिसकेपछि कहाँबाट पैसा बचेको हुन्छ र त्यसमा भ्रष्टाचार गर्ने ?विदेशबाट नेपाली मजदूरले पठाउने पैसाले जस्तै पेट्रोल, डिजेल राख्ने जेनेरेटर, बस, कार र खाने लाउने कुरा आदि सबै कुरा भारत र चीनबाट ल्याउनुपर्यो । बाँकी सुनदेखि सनग्लाससम्म, वाइनदेखि वासिङ्मेशिनसम्म सबै थोक विकसित देशबाट झिकाउनैपर्यो । अनि कहाँ हुन्छ देशमा पैसो बाँकी र बजेट बनाउने अनि भ्रष्टाचार गर्ने ?

नत्र भने माओवादी लाटो छ र बजेट ल्याउन रोक्नलाई । बजेट आएर गाउँमा पैसा जान सके त धेरैजसो त्यो पैसा उसकै कार्यकर्ताको पोल्टामा पुग्छ भन्ने उसले राम्ररी बुझेको छ नि । पैसै नभएको कागजी बजेट ल्याउन दिएर वामपन्थी धर्मको पालना नगरेजस्तो बेकारमा किन देखाउने भनेर पो उसले बजेट ल्याउन नदिएको । माओवादीले यो पनि राम्ररी बुझेको छ कि आफूजति अरु दलहरु धनी छैनन् । समयमा बजेट नआए अरुलाई राजनीतिमा टिक्न गाह्रो हुन्छ भन्ने पनि उसले बुझेको छ ।माओवादी मात्र होइन, केहीलाई छाडेर प्रायः सरकारी कर्मचारीहरुले पनि बजेटको महत्व राम्ररी बुझेकै छन् । ढुकुटीमा पैसा भएको भए बजेटको कसरी उपयोग गर्ने, गराउने उनीहरुले जानेका थिए ।

यसरी पैसै नभएर बजेट नै ल्याउन नसकेको देशमा भ्रष्टाचार व्यापक छ भनेर प्रतिवेदन निकाल्नु हास्यास्पद कुरा हो । आजसम्म नेपालमा भ्रष्टाचार भएको छ भनेर कुनै नेपाली संस्थाले प्रतिवेदन निकालेको छैन न पुलिसमा, न सरकारी कर्मचारीमा, न ठेकेदारहरुमा, न शिक्षा वा स्वास्थ्य क्षेत्रमा, न मन्त्रीहरुमा । ए बाबा कतै भ्रष्टाचार भएको भए पो कसैले देख्नु र लेख्नु । यति स्वच्छ, हराभरा नेपाललाई भ्रष्ट भनेर ट्रान्सपेरेन्सीले कसरी भन्न सकेको हँ ?बरु ट्रान्सपेरेन्सी भने पनि उसको प्रतिवेदन ट्रान्सपरेण्ट अर्थात् पारदर्शी छैन । पक्कै पनि उसैलाई कुनै देशले घुस खुवाएर त्यस्तो प्रतिवेदन निकाल्न लगाएको हुनुपर्छ भन्ने यो स्तम्भकारको अनुमान छ ।