रामराज्य नयाँ नेपाल
मदन लम्साल
नेपालमा अहिले रामराज्य चलिरहेको छ । विश्वास लागेन ? ल पढ्नुस् ।
नेपालका राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेल । देशका प्रमुख व्यक्तिहरु नै राम भएपछि भएन त रामराज्य ? अझ मन्त्रिमण्डलमा गृहराज्यमन्त्री नै रामकुमार राई छन् । अझ ३४ जना सभासदहरु नै रामनामी छन् । कसैका नाम अगाडि राम, जस्तै रामवचन ऐर । कसैको नामका बीचमै राम, जस्तै शालिकराम जमकट्टेल । त्यस्तै कसैका नाम पछाडि राम, जस्तै रमनीराम । कसैका अगाडिपछाडि दुवैतिर रामैराम, जस्तै रामआरती राम । यत्तिका रामहरु देशको निर्णायक ठाउँमा पुगेको अवस्था भएपछि भएन त रामराज्य ? रामसँगै आउनुपर्ने सीता, भरत, लक्ष्मणहरु पनि थुप्रै छन् संविधानसभाभित्र रामराज्य बनाउनलाई । त्यसैले रामराज्य भएन भनेर शङ्का गर्नेहरुलाई माथिका नामहरु काफी छन् ।
आखिर के हुन्छ त रामराज्यमा ?रामराज्य भनेको देशको यस्तो परिस्थिति हो, जसमा कुनै नागरिकलाई रोग, भोक र शोकले छुन सक्तैन । जताततै शान्ति नै शान्ति हुन्छ, उज्यालो हुन्छ, विकास हुन्छ । मानिसहरुले आफूले रोजेको काम गर्न स्वतन्त्र हुन्छन् । यी सबै परिस्थिति अहिलेको नेपालमा विद्यमान छन् ।जस्तै, नेपालमा अहिले यति मानिस रोग, भोक वा शोकले पीडित छन् भनेर राज्यको कुनै निकायले कुनै त्यस्तो तथ्याङ्क निकालेको छैन । बरु यही साता केन्द्रीय तथ्याङ्क विभागले नेपालमा २ करोड ६६ लाख जनसङ्ख्या भएको र आधाभन्दा अलि बढी महिला र बाँकी पुरुष भएको आदि आदि तथ्याङ्क निकालेको छ ।जहाँसम्म शान्तिको कुरा छ, त्यो सबैलाई थाहा छ, नेपालमा जे छ शान्ति नै शान्ति मात्र छ । कसैलाई केही गर्नु नै छैन, न त सरकारलाई, न कुनै राजनीतिक दललाई, न विद्यार्थीलाई, न त कुनै उद्योगी व्यवसायीलाई ।केही गरेका छन् भने उनीहरुले बेलाबेलमा सम्झौता, वार्ता, बैठक, छलफल, संवाद, सहमति, बन्द, हडताल, अवज्ञा, तालाबन्दी, मोर्चा गठन आदि गरेका छन् । उद्योगी व्यवसायीले पनि एजेन्सी, कमिशन, लबी, भाडा उठाउनेलगायतका कामसम्म गरेका छन् 'लौ न केही न केही त गर्नै पर्यो' भनेर । यसरी सबैलाई पुगेकै छ । सबैको विकासै विकास छ । सबैलाई शान्ति नै शान्ति छ । यो भन्दा शान्ति दुनियाँमा कहाँ खोज्न जाने ?
प्रश्न रहृयो सुरक्षाको । सुरक्षा भन्ने कुरा प्रधानमन्त्री, मन्त्री र नेताहरुलाई चाहिने कुरा हो, जो भूपूदेखि वर्तमान सबै मन्त्री तथा ठूला नेताहरुले पाइरहेकै छन् । साना भारेभुरे नेताका कुरा नगरौं । किनकी विभिन्न सङ्घसङ्गठन आदि चलाएर बसेका त्यस्ता नेता त देशभरि गरेर पौने ३ करोड जनसङ्ख्यामध्ये झण्डै २ करोड नै होलान् । उनीहरुलाई सुरक्षा दिनुपर्ने कुरा भएन । बाँकी जनता अल्पमतमा परे । लोकतन्त्रमा अल्पमतको यसै अर्थ छैन ।उज्यालो र विकासको त कुरा गर्नै परेन । किनकी दिउँसो उज्यालै हुन्छ । रातिमात्र अँध्यारो हुने हो । विकासको त गोष्ठी, सेमिनार, अन्तरक्रिया नेपालमा जति संसारमै विरलै होला ।यस्तै आफूले रोजेको काम गर्न यहाँ जति छूट दुनियाँमा कहीँ कसैलाई पनि छैन । यहाँ आफ्नो कामबाहेक प्राय: सबैले अरुको काम पनि गर्न पाएकै छन् । यहाँ पुलिस बैङ्क लुट्न स्वतन्त्र छन्, शिक्षकहरु विद्यार्थी र स्कुल लुट्न । विद्यार्थीहरु बाबुआमालाई लुट्न । नेता र दलहरु, उद्योगी र व्यापारीलाई दुहुन स्वतन्त्र छन् । उद्योगी व्यापारी सर्वसाधारणलाई दुहुन र मजदूर उद्योगलाई लुट्न ।यसरी यहाँ सबैकुरा 'चेन अफ कमाण्ड'मा नै चलिरहेको छ । अर्थात् सबैकुरा एउटा प्रणालीभित्र 'इकोसिष्टम'मा जस्तै व्यवस्थित रुपमा चलिरहेको छ । भनेपछि यस्तो अवस्थामा रहेको नेपाललाई 'रामराज्य !' नभनेर के रावणराज्य भन्ने त !