कञ्जुस एडीबी
मदन लम्साल
एशियाली विकास बैङ्क (एडीबी)ले सन् २०११ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत मात्र हुने भविष्यवाणी गरेछ । विगतका वर्षहरूमा पनि एडीबीले यस्तै खालको भविष्यवाणी गर्ने गरेको थियो जुन ठयाक्कै त के अलिअलि पनि मिन्दैनथ्यो ।
आखिर नमिल्ने अनुमान नै गर्नु थियो त, यसो दुइ/चार प्रतिशत बढाएरै भन्दिएको भए केही समय भए पनि नेपालीहरू मख्ख पर्थे । यो वृद्धिदर अनुमान गर्ने कुरामा एडीबी अलि कञ्जुस नै देखिन्छ । बरु विश्व बैङ्कले भने शून्य दशमलव १ प्रतिशत भने पनि बढी वृद्धि हुने अनुमान गरिदिएछ । यस मामलामा नेपाल सरकार त झन् निकै उदार देखिएको छ । उसले २०११ मा नेपालको आर्थिक वृद्धि ४ दशमलव ५ प्रतिशत हुने बताएको छ । सधैँ अस्थिर रहेको नेपाल सरकारले त त्यति धेरै वृद्धि हुने कुरा गरेको छ भने नेपालमा स्थायी डेरा जमाएर बसेको एडीबीले वृद्धिदर बढाएर भन्न किन कञ्जुस्याइँ गर्यो बुझ्न गार्हो भएको छ । उत्तर र दक्षिणका छिमेकीहरू १० प्रतिशत हाराहारी वृद्धिको गतिमा कुदिरहेका छन् भने नेपाल १० न सही ७/८ प्रतिशतको गतिमा पनि कुद्न सक्दैन भन्ने अनुमान एडीबीले कसरी गर्न सकेको होला ? एडीबीले पक्कै पनि नेपालको विभिन्न क्षेत्रमा भइरहेको वृद्धिलाई देख्न सकेन होला । त्यसैले उसले थोरै वृद्धि मात्र अनुमान गर्यो ।
विश्वका कतिपय ठूला र विकसित देशमा भन्दा धेरै बैङ्क, फाइनान्स, सहकारी, महकारी, तरकारी पसल नेपालमा खुलिरहेका छन् । बैङ्क र फाइनान्सको मात्रै सङ्ख्या करीब २ सय पुगिसकेको छ । यिनका शाखा, उपशाखा पनि जोड्ने हो भने हजारौँ बैङ्क तथा फाइनान्स देशमा खुलिसकेका छन् । वित्तीय क्षेत्रमा योभन्दा ठूलो विकास के चाहियो ? सहकारी, महकारी र तरकारीको त हिसाबै छैन । झण्डै हरेक नेपालीका घरमा मौरीका घार छन् । घरघरमा सहकारी र तरकारी पसल खुलेका छन् ।
मिडिया नै हेरौं न । यति सानो देशमा मासिक, पाक्षिक, साप्ताहिक, अर्धसाप्ताहिक, दैनिक आदि गरेर झण्डै ४ हजार पत्रिका प्रकाशन हुने गरेको तथ्याङ्क आर्थिक सर्वेक्षणको छ । ब्रोडसिट राष्ट्रिय दैनिक नै १५/१६ ओटा पुगिसके । त्यत्तिकै सङ्ख्यामा टेलिभिजन स्टेशन छन् । अझ एफएम रेडियो त ५ सयजति पुगिसकेछन् । यिनले देशमा कति विकास गरे होलान् र आफ्नो विकास पनि कति गरे होलान् ? हिसाब निकाल्न गार्हो छ । शायद यस्ता हिसाब थाहा नपाएर पनि एडीबीले नेपालको वृद्धिदर थोरै आँकेको हो कि ?
देशमा हवाईजहाज कम्पनी पनि २०/२५ ओटा खुलेका छन् । सिमेण्ट, स्टील, घिउ, मैदा, बिस्कुट, चाउचाउलगायतका हरेक क्षेत्रमा त्यस्तै २०/२५ का दरले कम्पनी देशभरि खुलेका छन् । यी सबै क्षेत्रलाई चाहिने कम्प्युटर, मोटर, जेनेरेटर, र इन्भर्टरलगायत सप्लाई गर्ने कम्पनी त झन् कति छन् कति । त्यति मात्र कहाँ हो र ? यी सबैका विज्ञापन बनाएर, छपाएर आफ्नो र देशको पनि विकास गर्ने भनेर झण्डै ५ सय विज्ञापन एजेन्सी पनि देशभरि स्थापना भइसकेका छन् । त्यस्तै यी विभिन्न क्षेत्रको विकास पनि गर्ने भनेर हरेक क्षेत्रमा मातृ सङ्गठन, भ्रातृ सङ्गठन, पितृ सङ्गठन र ती सबैका सौता सङ्गठन पनि खुलेका खुल्यै छन् । यिनले देशको आर्थिक वृद्धिदर बढाउन दिनरात कति मेहनत गरिरहेका होलान् ? सहजै अनुमान गर्न सकिन्छ । यी सबै गतिविधि देशमा हुँदाहुँदै पनि एडीबीले किन यति थोरै वृद्धिदर प्रक्षेपण गर्यो भन्ने अनुमान गर्न गार्हो भइरहेको छ । कम्रेड प्रचण्डले हरेक कुरामा भन्ने गरेजस्तै यसमा पनि भारतकै हात पो छ कि ? जे भए पनि तथ्य पत्ता लगाउन आवश्यक छ । तसर्थ भन्ने पत्ता लगाउन प्रधानमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोग गठन गर्नुपर्यो । यसमा सबैले पहल गर्न जरुरी देखिन्छ ।
Admin 2011-02-25