शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेपाल हावासेवा निगम
मदन लम्साल
नेपाल वायुसेवा निगम (उडान कोड आरए) ५३ वर्षलागेछ । आरएले 'म ५३ वर्षपुगें है' भनेर गीत र निबन्ध प्रतियोगिता पनि आहृवान गरेको रहेछ । तर, सूचनामा यो कहाँ बुझाउने भनेर ठेगाना स्पष्ट बुझिने गरी लेखेको रहेनछ । त्यसैले यो 'आरए निबन्ध र गीत' यहाँ प्रस्तुत गरिएको छ । आशा छ, निर्णायक मण्डलले पूर्वाग्रह नराखीकन दुवै विधामा यसलाई प्रथम पुरस्कार प्रदान गर्ने नै छ ।

"मेरो नाम नेपाल वायुसेवा निगम । म वायुसेवा अर्थात् हावामा सेवा गर्छु, हावामा सेवा गर्ने गरेकै कारण मेरो नाम 'वायुसेवा' राखिएको हो । बेलाबेलामा म हावा हावा काम पनि गरिरहन्छु । मेरा हावा कामका बारेमा त जगजाहेर छँदै नै छ । त्यसैले मेरो नाम परिवर्तन गरी 'नेपाल हावासेवा निगम' राख्नु उपयुक्त हुन्छ भन्ने आरएको व्यवस्थापन र सरकारलाई मेरो सुझाव छ ।

म र थाई एअरवेज एकै समयतिर जन्मिएका हौं । ऊ धेरैभन्दा धेरै बच्चा जन्माएर पैसा कुम्ल्याउने धूनमा मस्त छ । परिवार नियोजनको जमानामा पनि यत्तिका छाउराछाउरी जन्माइहिँड्ने थाई नकचरोलाई के भन्नु र खै ! अलिअलि त लाज हुनुपर्ने हो ! सँगै जस्तो जन्मिएको दाजु म 'सन्तोषम् परमम् सुखम्' ठानेर ससाना दुइटा बच्चा खेलाएर बसिरहेको छु । थाई मोरो भने ८५ ओटा ठूला बच्चा जन्माएर संसारका ३५ देशका ७२ शहरमा आफ्ना पखेटा फिँजाएर हामीलाई गिज्याएसरी आकाशमा उडिरहेको छ । जति उमेर बढ्दै जान्छ, थाई उत्ति जवान र फुर्तिलो हुँदै गएको छ । म भने बाघ भएर पनि कुपोषणको शिकार भएको सोमालियालीजस्तो भएको छु ।

मलाई मेरो सुसारेहरुले राजनीतिक भागबण्डा, कमिशन आदिको चक्करमा कहिले लाउडा, कहिले चेज त कहिले धमिजा काण्ड मच्चाएर मेरो पखेटा काट्ने काम गरे । न त नयाँ बच्चा जन्माउन दिए, न बाँझो बनाए ! त्यसले गर्दा म त एड्स लागेको रोगीजस्तो र उद्देश्यविहीन भएर बाँचिरहेको छु । यी दुई रोगी, लिखुरे छोराछोरी लिएर म कति दिन जीवनको उडान भरिरहन सकुँला थाहा छैन ।त्यसमा थप दु:ख दिने सुसारेहरुको त कुरा गरी साध्यै छैन । म रोगीमाथि गीर खेल्न कहिले लिम्बू आएर ममाथि घोडा चढ्छ, कहिले कंस कार चढेर आउँछ, कहिले हिसी नपरेकी महिला आउँछे त कहिले बजारमा बिके-नबिकेका पुरुषहरु आएर मैमाथि हैकम चलाउँछन् ।

म लडें भने मेरो भाग खाउँला भनेर मुख बाउनेहरु पनि थुप्रै छन् । उनीहरुका कारण पनि मलाई बेलाबेलामा विनाकाममा बिनसित्तीका कुराहरुमा विवादमा ल्याइन्छ ।हिजो मलाई यी विविध खालका 'भाइरस'ले आक्रमण गर्नुअघि म आर्थिक सामाजिक रुपमा धेरै स्वस्थ थिएँ । भलै अझै पनि स्थिर पूँजी मसँग थुप्रै छ । केवल छैनन् त चाहिने जति सन्तानहरु । तर, मेरो त्यही सम्पत्तिमा आँखा लगाउनेहरुका कारण आज म 'न भूतो न भविष्यति' को स्थितिमा छु । अन्त्यमा मेरो वेदनाको सानो गीत प्रस्तुत गर्दै मेरा शुभचिन्तकहरुबाट बिदा लिन चाहन्छु ।

'आर ए' 'आर ए' रारा
थिएँ सबैको प्यारा
खोज्दै आउँथे सारा
तर बिस्तारै हुँदैछु टाढा
त्यसैले ...
कि त जलाऊ, कोर सलाई
यसरी अर्धमृत नपार मलाई
हैन भने मलाई जिउन देऊ
स्वतन्त्र उडान भर्न देऊ ।"

Admin 2011-05-27