तीतोमीठो
काठमाडौंका गल्ली जिन्दावाद

मदन लम्साल
काठमाडौं महानगरपालिकालाई फोहोर थुपार्ने ठाउँ अपुग भएर हो वा बाबुराम भट्टराईलाई मुस्ताङ चढ्न अझ फराकिलो बाटो चाहिएर हो, झण्डैझण्डै ‘गल्लीको शहर’का रुपमा परिचय बनाउन आँटेको काठमाडौंका गल्लीलाई सडकमा बदल्ने काम शुरु गरिएको छ । काठमाडौं भनेकै गल्ली नै गल्लीको शहर हो भन्ने कुरा बिर्सेजस्तो अभिनय गरेर यसरी दिनदहाडै अर्काका घर र सडकपेटी भत्काउँदै हिँड्ने कार्यलाई विकास भन्ने कि विनाश भनेर धेरै काठमाडौंबासी अहिले चार छक्क परेका छन् ।गल्ली काठमाडौंबासीको परिचय हो । यसमा ऐतिहासिकता मात्र छैन, काठमाडौंको सम्पूर्ण संस्कृति लुकेको छ । गल्लीहरुको विकासमा नै देशको विकास टिकेको छ । यसैमा त पर्यटकको आकर्षण पनि रहेको छ । आज विश्वभरबाट पर्यटकहरु यिनै मखन, इन्द्रचोक, असन, भेडासिं, मासङ, ठमेल, लाजिम्पाट, कमलादीजस्ता गल्ली हेर्न भनेर त आउँछन् नेपाल । यिनै गल्लीहरुमा हुर्केर खेतान, चौधरी, ज्योति र गोल्छाहरु उद्योगपति बने ।
आफ्ना जवानीका दिनहरु यिनै गल्ली सम्झेर आज कति बूढाबूढीहरु भावविभोर हुन्छन् । सन् १९८० ताकादेखि अहिलेसम्म चिकँमुँगल र झोछेंजस्ता गल्लीमा कति पर्यटकले आफूलाई स्वर्गमा पुगेको अनुभूति लिएर स्वेदश फर्किए होलान्, त्यसको बयानै गर्न सकिन्न ।गल्लीको यति गौरवपूर्ण महङ्खव भएको काठमाडौंलाई फराकिलो, आधुनिक सडक विस्तार गर्ने कुरा पश्चिमा शैलीको अन्धाधुन्ध नक्कल र उनीहरुको संस्कृतितिर हाम्रो अति झुकाव रहेको दह«ो प्रमाण हो । यसैले यो नेपालको संस्कृति, परम्परा र विकास विरोधी कदम हो ।दुईचार मिटर जग्गा मिचेर घर, टहरा, पसल आदि बनाएको कुरालाई लिएर सडक फराकिलो बनाउने नाममा ती संरचना भत्काइनु आफैमा विकास विरोधी कार्य हो । एक त, एक दुई जनाले सडक मिचेर घर बनाएको पनि होइन । झण्डै ८० प्रतिशतले त्यसो गरेका छन् ।
दोस्रो, हिजो जग्गा मिचेर घर बनाउन्जेल सरकार, महानगरपालिका के हेरेर बस्या’थ्यो ? अर्काको, त्यो पनि मूल सडकको घर, जसमा भाडा नै दशगुणा बढी ठोक्न पाइन्छ, त्यसै भत्काउन पाइन्छ ? भत्काउने भए कि त दसै गुणा बढी मुआब्जा तिर्नुप¥यो सरकारले ! मूल सडक पछाडि घर भएकाहरुले आफ्नो घर भएको ठाउँसम्म गाडी, दमकल लान पाएनन् भनेर पनि सडक फराकिलो बनाउने यो अभियानको समर्थन गरेको बुझिएको छ । पछाडि घर भएकाहरुले अगाडि ठूला घरहरु छन् भन्ने जान्दाजान्दै कारसार किन्नु नै गलत कुरा हो । पछाडि घरवालाहरुको यो अति उपभोगवादी व्यवहार पनि हो । त्यस्तै कार किन्नेले पनि पार्किङको आफै व्यवस्था गर्नुपर्छ, नत्र टुँडिखेलमा लगेर गर्नु नि ! वा अहिले कोटेश्वर भक्तपुरतिर कता हो, ठूलै बाटो बनाइदिएको छ रे जापानिजले, त्यतै पार्क गर्न गए भइहाल्छ । यसो पिकनिकतिर गएजस्तो पनि हुन्छ, नयाँ गाडी चलाउन पनि राम्रोसँग जानिन्छ । जहाँसम्म नियमकानून मिचेर तोकिएभन्दा बढी जग्गामा भवनहरु बनाएको भन्ने कुरा छ, आखिर नेपालमा नियमकानून कसले पो पालना गरेका छन् र ? अहिले सरकार चलाउनेहरु हिजोको सरकारले गलहङ्खयाएर जङ्गलतिर लखेटेका कारण कानून मिचेर हुन्छ या मान्छेका घाँटी थिचेर, आफै सरकारमा पदासीन हुन आइपुगेको सबैलाई थाहै छ ।
फेरि यो देशमा ठूलाठालु, साहू, महाजन, काठमाडौंका सभ्य बासिन्दालाई मात्र नियमकानून लागू हुने, कानूनको नाममा उनीहरुको घर भत्काइदिने, तर काठमाडौंभित्रै खोलाकिनार मिचेर स्थायी बसोबास बनाएका झोपटपट्टीवालालाई चाँहि छूट हुने, यो बुझी नसक्नुछ । यो देशमा ठूलाठूला भएर जन्मिनु पनि अभिशापजस्तो छ ।सडक फराकिलो बनाउने यो अभियानको सबैले विरोध गर्नुपर्छ । यसको विरोधमा सबै नेपाली जुट्नुपर्छ । यसका लागि सङ्गठन बनाउने, पर्चाबाजी गर्ने, ‘डोर टु डोर क्याम्पेन’ गर्ने, बन्दको आयोजना गर्ने, आदि जे–जे गर्न सकिन्छ, सबै गर्नुपर्छ । समग्रमा अब ‘सडक क्रान्ति’ नै शुरु गर्नुपर्छ ।सरकारले जेल तोकोस् वा नेल ठोकोस् वा जसले जेसुकै भनून् काठमाडौंलाई गल्ली नै गल्लीको शहर कायम राख्ने हाम्रो अभियान जारी रहनेछ । काठमाडौंका महान् गल्लीहरु जिन्दावाद