वाह वाह फेसबुक !
मदन लम्साल
हिजोआज जता गयो उतै देश बिग्रेको, भत्केको र निराशाजनक कुरा हुन थालेको छ । तर, यी सबै कुरा बिर्साउन सक्ने एउटै साथी बनेको छ - 'फेसबुक' । वास्तवमा यो जमाना नै टि्वटर वा फेसबुककै छ । जसले फेसबुकको महङ्खव समयमा बुझेर यसमा दर्ता भयो उसले सुख पायो । किनकि एकपटक फेसबुक खोलिसकेपछि २/४ घण्टा बितेको त पत्तै हुँदैन, अनि कोसँग दुःखी र निराश हुने समय बाँकी रहन्छ र ? त्यसैले त अहिले को छैन फेसबुकमा ? पत्रकारदेखि कलाकारसम्म, हबलदारदेखि चित्रकारसम्म, डाक्टरदेखि इञ्जिनीयरसम्म सबै फेसबुकमा 'रजिष्टर' भइसकेका भेटिन्छन् । त्यहाँ आफूले नै आफ्नो नाम दर्ता नगरेको भए पनि कसै न कसैले फोटोसहित आफ्नो जन्मपत्री राखिदिइसकेको हुन सक्छ । अझ तपाईं 'पब्लिक फिगर' खासगरी कलाकार हुनुहुन्छ भने त तपाईं एउटैको फेसबुकमा दुइ/तीनओटा प्रोफाइल पनि हुन बेर लाग्दैन ।
फेसबुक अहिलेको फेशन हो । जो यसमा 'हुक्ड' हुँदैन, ऊ आधुनिक कहलिन सक्तैन । अफिसमा बोर लागेको बेला वा बोस रिसाएको बेला फेसबुकमा हराउन पाउनुको मजा बोसहरुलाई के थाहा ?फेसबुकभित्रको जीवन यति रोमाञ्चकारी छ कि वास्तविक जीवनमा अप्ठयारो परेका बेला साथी भनेर एक सुको खर्च गर्न पनि पसिना निकाल्नेहरु फेसबुकभित्र बडो 'उदार' र 'फय्राङ्क' भएर प्रस्तुत भएको पाइन्छ । अझ साथीका लागि आफू जे गर्न पनि तयार भएको उद्गार पाइन्छ । त्यसमा पनि अझ विपरीतलिङ्गी छ भने त भाषाको भाव नै बलिदान गर्न आतुर भएको हुन्छ ।बाहिरी दुनियाँजस्तो कठोर फेसबुकको संसार छैन । त्यसैले त एकदुई पटकको इमेल वा मेसेज आदानप्रदानपछि नै ई-साथीको व्यक्तिगत वा पेशागत जीवनभित्र घुस्न थालिहाल्छन् अपरिचितहरु पनि ई-बक्समा आएर ।फेसबुकभित्र छिरिसकेपछि कुनै चलचित्र वा नाटक हेर्न गइरहनु पनि पर्दैन । किनकि यसका सदस्यहरुले एक से एक मोडलिङ गरेका जस्ता फोटोहरु त्यहाँ राखेका हुन्छन् । यस्तो लाग्छ, फेसबुकका सदस्यहरु धेरैले त्यसरी फोटो राख्दा कुनै चलचित्र निर्देशकले फिल्म खेल्न बोलाइहाल्छ कि भन्ने आशय देखिन्छ । फोटो मात्र होइन, कथा, कविता, गजल, हरेक किसिमका लेख पनि फेसबुकभित्र हेर्न पाइन्छ ।
नाटक वा चलचित्रको 'क्लाइमेक्स' त्यसबेला अनुभव हुन्छ, जुनबेला मेसेजको जवाफ नपाएको भनेर रिसाएका मानिसहरुको लामो गुनासोले भरिएका थुप्रै मेसेज बक्स फेसबुक खोल्नेबित्तिकै भेटिन्छन् । मेसेज पढ्दा यस्तो लाग्छ, फेसबुकका ती मेसेज पढेर जवाफ दिनेबाहेक मानिसको जीवनमा अरु केही काम नै बाँकी छैन ।अझ कतिपय बाहिर कहिल्यै त्यति नदेखिएका र नसुनिएका वास्तविक बजारमा फ्लप भइसकेका वस्तु तथा सेवाहरुको विज्ञापन फेसबुक मेसेजभित्रै देख्न पाइन्छ । वास्तविक बजारमा अरुले नहेरिदिएपछि फेसबुकमा भने पनि आफ्नो अस्तित्व देखाउन पाउने प्लेटफर्म बनाइदिएकोमा फेसबुकका जन्मदाता जुकर्रवर्गलाई जति धन्यवाद दिएपछि कमै हुन्छ ।फेसबुकको यो अलौकिक दुनियाँको कनेक्सन रोक्न कतिपय सरकार र कम्पनीहरुको कार्यलाई यो लेखक घोर विरोध गर्दछ । साथै फेसबुकमा आउने मेसेजको जवाफ दिन, त्यहाँ नयाँ साथी बनाउन, आफ्ना फोटो, कथा र कवितालाई 'अपलोड' गर्न र आएका कतिपय मेसेज 'डिलिट' गर्न पनि अफिसको आठघण्टे समयले नपुग्ने भएकाले अबदेखि सरकारले नै नेपालमा अफिसको काम गर्ने समय आठबाट २ घण्टामा सीमित गरिदिओस् भनेर जोडदार माग पनि गर्दछ ।