मन्त्रीहरूको नयाँ काम
मदन लम्साल
देशमा मन्त्रीहरुको उत्पादन धेरै भएका कारण बेलाबेलामा उनीहरुको कार्यक्षेत्र र अधिकारका विषयमा झगडा हुने गरेको छ । साथै, समय परिवर्तनसँगै नेपाल सरकारका मन्त्रीहरुको पनि कार्यक्षेत्र परिवर्तन हुँदै गएको छ । यो कुरा नबुझेकाहरुले नेपाली मन्त्रीहरुलाई कामचोर, ठग, राज्यकोष लुटेरा, भाषणपोके, बेइमान, विदेश भ्रमणमुखी आदिआदि भनेर मनमनै गाली गर्ने गरेका छन् । कुरा नबुझेर प्रम हुनुअघि नै झलनाथ खनाललाई एक जनाले गाला चड्काएका थिए । कुनै दिन कुरा नबुझेकै कारण सर्वसाधारणले मन्त्रीहरुमाथि जाइलाग्न बेर छैन । त्यसैले सर्वसाधारणको जानकारीका लागि प्रमलगायत नेपाली मन्त्रीमन्त्राणिहरुको नयाँ कार्यक्षेत्र र अधिकार तथा आवश्यक योग्यताबारे यहाँ केही स्पष्ट पार्न खोजिएको छः
प्रम
प्रमको एउटै र सबैभन्दा महङ्खवपूर्ण काम भनेको आफ्नो प्रधानमन्त्री पद जोगाइराख्नु हो । यसका लागि आफ्ना मन्त्रीहरुका हरेक बदमासी, कानून उल्लङ्घनका घटनालाई नदेखेजस्तो गर्न सक्ने धैर्य प्रममा हुनुपर्दछ । सरकारको स्थायित्वविना राजनीतिक स्थायित्व हुँदैन । राजनीतिक स्थायित्वविना आर्थिक विकास सम्भव छैन । यसकारण देशमा आर्थिक विकासकै लागि पनि पद जोगाइराख्नु नयाँ नेपालका प्रमको मुख्य कार्यभित्र पर्दछ । यदाकदा भाषण गर्दा शान्ति, संविधान, रोजगारी सृजना, आर्थिक विकासजस्ता शब्दावली उच्चारण गर्ने जिम्मेवारी भने प्रमकै हो ।
अम
स्पष्टै छ, अर्थमन्त्री (अम) को एकमात्र काम र अम्मल भनेकै आफ्नो र सरकारको बजेट बनाउने र बढाउने हो । त्यसबाहेक भन्सार, करका दरबन्दीमा चलखेल गरेर तरबन्दी नगरे त अम नै किन हुनु र ? त्यसै भएर त हरेक अम मन्त्रालय छिर्नेबित्तिकै बजेट बनाइहाल्ने काममा तल्लीन भइहाल्छन् । त्यसबाहेक अमको मुख्य काम स्वैच्छिक कर घोषणाको नीति हरेक वर्ष ल्याउने हो । ताकि जसलाई कर तिर्न मन लाग्छ, उसले सधैं तिरिरहन्छ । कर तिर्न मन नलाग्नेले कहिल्यै तिर्नु पर्दैन ।
विम
विदेशमन्त्री (विम) को पनि नामबाट काम के हो प्रस्ट बुझिन्छ । लोक अर्थात् स्वदेशमा मात्र सम्बन्ध विस्तार र सुधार गरेर हुँदैन । त्यसैले अर्काको लोक वा परलोक (अर्थात् विदेशसम्बन्ध) पनि सुधार गर्ने काम मुख्य हो । त्यसो गर्न पुराना पासपोर्ट जलाउने, नयाँ चलाउनेदेखि सधैं विदेशबाट आफन्त सबैको भन्सार छलाउनेसम्म जे-जे गर्न सकिन्छ, सबै गर्ने हो ।
सूम
वर्षमा एकपटक हुने क्यान इन्फोटेक र आईसीटी मेलामा जाने र सूचनाप्रविधिको महङ्खव र 'डिजिटल डिभाइड'को प्रभावबारे बोल्ने सूचना तथा सञ्चारमन्त्री (सूम) को प्रमुख काम हो । तर, जहाँ बोल्दा पनि सूमले आफ्ना भाषणमा बनेपाको आईटी पार्कको महङ्खवका विषयमा भने बोल्न छुटाउन पाउँदैनन् ।
वाम
फोहोरबाट मोहर बनाउने, वागमती र टुकुचाको पानीलाई निर्मल चक्की हालेरै भए पनि ४ वर्षभित्र शुद्ध बनाएर काठमाडौंवासीलाई शुद्ध जल ख्वाउने प्रतिबद्धता वातावरणमन्त्रीको कार्यक्षेत्रभित्र पर्दछ । विकसित देशलाई नेपालले वातावरणमैत्री काम गरेको छ भन्दै हिँड्ने र 'कार्बन ट्रेडिङ'बाट नेपाल अमेरिकाजस्तै धनी बन्छ भनेर नेपाललाई भन्दै हिँडिरहने काम पनि वामकै हो ।
श्रम
नामले नै स्पष्ट छ, श्रममन्त्रीको काम । अर्थात् कसरी नेपाली युवायुवतीलाई विदेशका कुनाकुनामा श्रमिक बनाएर लखेट्न सकिन्छ भनेर श्रम गरिरहने । साथै, विदेशमा नेपाली कामदारलाई अलपत्र पार्ने उपाय निकाल्ने ताकि तिनीहरुलाई उद्धार गर्ने शिलशिलामा विदेश भ्रमणमा जाँदा फेरि कुनै नयाँ देशमा नेपाली युवालाई पठाउन मार्केटिङ गर्न सकियोस् ।
कृम
किसानहरुले फलाएको ठूला काउली, बन्दा, धेरै फलेका केराका घरी उपहार ग्रहण गरिरहने नै कृषिमन्त्री (कृम) को मुख्य काम हो । अर्थात् किसानहरुले आफै ऋणधन गरेर र पसिना काढेर देशलाई खाद्यान्न पूर्ति गर्ने क्रममा आउने क्रिम खान कृषिमन्त्री नियुक्त हुन्छन् । कृषकले फलाएको धान, गँहु, मकै खान मुसा, लोखर्केसँग मन्त्रीले प्रतिस्पर्धी गर्नुपर्छ ।
वम
वनमन्त्री अर्थात् वम । वनमन्त्रीलाई जङ्गलीमन्त्री पनि भन्न सकिन्छ । जङ्गल धेरै बढ्दा जङ्गली जनावरको बिगबिगी बढ्न सक्ने डरले सकेसम्म वनजङ्गल सखाप पार्ने मुख्य काम वमको हो । यसो गर्ने क्रममा ढलेका रुख, काठ, दाउरा बेच्दा आउने खुद्रा पैसा वमको बोनस कमाइ हो । जङ्गलतिर गएका बेला यसो हरिण, मृग, बँदेलको शिकार गरेर खानु वमको अधिकार नै हो ।
बाँकी मन्त्रीजस्तै स्वास्थ्य, कानून, शिक्षा, पर्यटन, यातायात, वाणिज्य, ऊर्जा, भौतिक योजना, खेलकुद, उद्योग आदिको मुख्य काम पनि सबैको नामले नै स्पष्ट छ । प्रायः सबै मन्त्रीको नयाँ र मुख्य काम भनेको मन्त्रालयलाई आफ्नो निजी बिर्ता सम्झेर काम गर्ने र त्यसबाट सकेसम्म छिटो र धेरै लाभ लिने हो । बल्लतल्ल बनेको नयाँ सरकारका मन्त्रीहरुलाई यो कार्यनिर्देशका पक्कै लाभकारी हुने विश्वास गरिन्छ ।
Admin 2011-03-04