'हालत पतला छ’
मदन लम्साल
हिजोआज तपाईंको हालखबर के छ भनेर सोध्दा प्राय: सबैबाट एकै किसिमको जबाफ पाइन्छ- 'हालत पतला छ' । नहोस् पनि कसरी ? खर्चको तुलनामा कर्मचारीले पाउने तलब पातलो हुँदै गएको छ । बैङ्कमा पैसा राख्न जाने पातलिँदै गएका छन् । अब ऋण लिन खोज्नेहरु पनि पातलिने होलान् । हरेक व्यवसाय, कम्पनीमा पैसा माग्न आउनेभन्दा दिन ल्याउने पातलिएका छन् । शेयरबजार होस् या घरजग्गा, बेच्न चाहनेभन्दा किन्न आउने पातलिएका छन् । अर्थात् पाए सबै लिन मात्र चाहने छन्, दिन चाहने कोही छैनन् । तर, सबैले लिन मात्र चाहेपछि र दिने नभएपछि लिन चाहनेहरुको 'हालत त पातलो' हुने नै भयो ।
यो लिन चाहने तर दिन नचाहने संस्कृतिले बलियोसँग जरा गाडिसकेको छ । यो एक राष्ट्रिय रोग नै बनिसकेको छ भन्नुपर्ला । यसले गर्दा देशभित्र तरलताको हाहाकार छ । वर्षौंदेखि तपाईंले चिनेको, जानेको अनि मानेको साथीले पनि तपाईंलाई पैसा दिनुपर्ने छ भने तपाईंको फोन उसलाई मरिगए लाग्दैन । तपाईं मोबाइलमा फोन गर्नुहुन्छ, ऊ उठाउँदैन । उसको अफिसमा फोन गर्नुहुन्छ । रिसेप्सनिष्टले तपाईंको तीनपुस्ते सोधिसकेपछि मात्र 'उहाँ त हुनुहुन्न' भन्ने जबाफ दिन्छिन् । मानौं, तपाईंको साथी अर्कै ग्रहतिर बस्नेजस्तो । अनि तपाईंको हालत पतला नभए कस्को हुन्छ त ? तपाईंको साथीको पनि लिनुपर्ने पैसा उठ्न नसकेर हालत पतला भएको हुनुपर्छ ।
केही समयअघि उद्योग वाणिज्य क्षेत्र र नेपालका ट्रेड युनियनहरुका बीचमा कसले बढी लिने भन्ने विषयमा धेरै लामालामा बैठक बसे । भाषण, तासण भए । सम्झौता पनि भए । तर, त्यसक्रममा जस लिन नपाएका युनियनहरूले फेरि आन्दोलन शुरू गरिदिए । त्यहीबीच यो प्रकरणबाट आफूले कुनै फाइदा लिन नपाएको भन्ठानेर तत्कालीन उद्योगमन्त्रीले नेउवा महासङ्घसँग सल्लाह नै नगरी एकतर्फीरुपमा त्यस नयाँ मजदूर युनियनको कुरा सुनेर मजदूरहरूको तलब सुविधा बढाइदिए । यसलाई उद्योग वाणिज्य क्षेत्रले मानेको छैन । पहिलेभन्दा बढी दिनुपर्ने कुरा पर्यो अनि कसरी मान्ने ? आखिर व्यवसायीको हालत सम्झौता माने पनि पतला छ, नमानेर मजदुर उदण्डता सहनुपरे पनि पतलै छ ।
यसरी तपाईंले गम खाँदै जानुभयो भने हरेक ठाउँमा हरेक व्यक्ति कसैलाई दिनुभन्दा आफूले के फाइदा लिन पाउँछु भन्ने मात्र देखिन्छ । उद्योग वाणिज्य क्षेत्रभित्रको झगडा पनि उही हो । युनियन र व्यवस्थापनको रस्साकस्सी पनि त्यही हो । विभिन्न दलहरुबीचको वार्ता, सहमति, जनता जनार्दनका लागि जलस्रोत, देश विकास, निकास, विभिन्न देशबीचका सन्धिसम्झौता, सम्बन्ध, आदि भनेर जेजे व्याख्या गरे पनि आखिरमा गएर यही कसले बढी लिने भन्नेमा कुरो नमिलेर 'हलो' अड्किने गरेको देखिन्छ । हलो जहाँ अड्कियोस्, हालत पतला मुलुककै हुने हो ।
एउटा नीति कथा छ । एक जना 'क' भन्ने व्यक्ति इनारमा खसेछ । 'ख' भन्नेले देखेर 'क' लाई उद्धार गर्न इनारमाथिबाट आफ्नो हात देऊ भनेछ । 'क' ले जीवनमा कहिल्यै 'दिन' भन्ने जानेकै रहेनछ, केवल लिनमात्र जानेको रहेछ । उद्धार गर्न हात दिँदा पनि आफ्नो हात दिन नजान्दा झण्डै इनारभित्रै कसो ज्यान गएनछ । 'ख' ले बल्ल यो कुरा बुझेछ र 'मेरो हात लेऊ' भनेर 'क' लाई भनेछ । त्यसपछि त 'क' ले तुरुन्तै आफ्नो हात माथि दिएछ र 'ख' ले उसलाई बचाएछ । हामीमध्ये को-को 'क' हो र को-को 'ख' बन्ने भन्ने कुरा यो आर्थिक सङ्कटबाट मुक्त भएर अर्थतन्त्र सुधारका बाटोमा पुग्दा कोको सकुशल माथि उत्रनेछन्, त्यसबेला मात्र भन्न सकिएला । अहिले हेर्दाचाहिँ सबैको 'हालत पतला' नै देखिन्छ । त्यसैले तपाईं पनि आर्थिक सङ्कटको इनारभित्र पर्नुभएको छ वा पर्ने सम्भावनामा हुनुहुन्छ र कसैले हात माथि देऊ भन्दा दिनुहुन्छ कि आफूले मात्र लिने दर्शनमा अडिग रहेर आफूसमेत अरूलाई पनि डुबाउँदै हुनुहुन्छ ? यो भने समयले नै बताउला ।
Admin 2011-06-03