शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 03, 2012
  

तीतोमीठा

नक्कल र नेपाल पर्यायवाची


अरुको नक्कल गर्ने कुरामा विश्वमा अग्रपङ्क्तिमा को होला ? तपार्इंले पक्कै चिनिया वा भारतीय भन्नुहुनेछ । तर, हामी नेपालीहरुजति नक्कली काम गर्न पोख्त दुनियाँमा कोही जन्मेकै छैन भन्ने यो पङ्क्तिकारको दाबी छ । यसको पुस्ट्याइ गर्न लाखौ मध्ये तलका केही उदाहरण पर्याप्त छन् । किरण शूज भन्ने एउटा कम्पनीले गोल्डस्टार नामको जुत्ता बनाएर नेपाल मात्र होइन, कताकता भारततिर पनि बेच्न शुरु गरेछ । नक्कल गर्न सिपालुहरुलाई त्यति भए पुगिहाल्यो । अहिले बजारमा हेर्दा गोल्डस्टारजस्तै देखिने नाम र डिजाइनमा दर्जनौ नक्कली जुत्ता नेपाल तथा भारतीय बजारमा छ्यासछ्यास्ती पाइन्छन् । जस्तै सोल्डस्टार, होल्डस्टार, ग्ल्याडस्टार आदिआदि । त्यस्तै घिउ, तेलदेखि चकलेटसम्म, साबुनदेखि स्याम्पूसम्म भारतका कतिपय प्रसिद्ध ब्राण्डलाई जस्ताको तस्तै नेपालीकरण गरेर चलाएका उदाहरण पनि थुप्रै छन् ।

विगतमा केही उद्यमीले कार्पेट व्यवसाय शुरु गरेका थिए, तिनका पछाडि ह्वारर्र अरु उद्यमीले कार्पेट को व्यवसाय गर्ने नक्कल गरे । गार्मेण्ट, पश्मिनामा पनि त्यस्तै भयो । त्यही कारणले त्यसपछि ती उद्योग ध्वस्त भए । व्यवसाय नै गरेको भए पो चल्नु, नक्कल गरेपछि जे हुनु थियो त्यही भयो । त्यसपछि चाउचाउ उद्योग आए । तिनको नक्कल गर्दै कतिपय अरु चाउचाउ उद्योग आए । तर, जसरी आए त्यसैगरी गए पनि । अहिले मिडिया उद्योगमा त्यस्तै छ । एउटाले कुनै नयाँ कुरा ल्याउछ । त्यसको नक्कल ठूला हुन् कि साना सबै मिडियाले तुरुन्तै गरिहाल्छन् । रियल इस्टेट र बैङ्किङ व्यवसाय पनि यो रोगबाट अछुतो छैन । त्यसैले त रियल इस्टेट अहिले बैङ्करहरुको रक्तचाप बढाउने गरी आराम गरेर बसिरहेको छ ।

नेपाली चलचित्र उद्योग त भारतीय चलचित्र उद्योगको बिग्रिएको फोटोकपीजस्तो छ, भनिदिए हुन्छ । भारतमा बलिउड भएपछि नेपालमा ‘कलिउड’ नभनी भएको छैन । दोस्रो, चलचित्रका नामहरु त फोटोकपी मात्र होइन, दुरुस्तै उतार्ने गरिएको छ । जस्तै अवतार, रावण, धर्मात्मा, गुरुदक्षिणा, कानून, प्रतिघात, प्रहार, मैदान, इन्साफ, अग्निपथ, अनमोल, फर्ज, आतङ्कवादी, सीमारेखा, मजदूर, घातक, दोस्ती, डर, विष, क्रोध, राम बलराम, अपराध, किस्मत, जङ्गबाज आदि । यस्ता नामको सूची लामो छ । अझ हिन्दी सिनेमाबाट कथावस्तु र गीत–सङ्गीत नै नक्कल गरिएका नेपाली चलचित्र त कति छन् कति, गनिसाध्य वा भनिसाध्यै छैन । विदेशी र खासगरी भारतीय विज्ञापनहरुको पूरै वा आंशिक नक्कल गरेर बनाइएका कतिपय नेपाली विज्ञापनले त अवार्ड नै पाएका उदाहरण छन् । इण्टरनेटबाट विदेशी विज्ञापन डाउनलोड गर्ने । सक्कल बमोजिम नक्कल उतार्ने अर्थात् प्राविधिक भाषामा नेपालीमा डबिङ वा कपिङ गर्ने कतिपय विज्ञापन एजेन्सीले अवार्ड नपाए पनि नेपाली कम्पनीहरुबाट काम पाएका छन् । आआफ्नो रोजीरोटी चलाएका छन् । यी सबै हेर्दा यस्तो लाग्छ— नेपालको नाम नै ‘नक्कल’बाट अप्रभश भएर बनेको हो ।

यसरी हरेक क्षेत्रमा विदेशी होस् या स्वदेशी, वस्तु होस् वा सेवाको जस्ताको तस्तै नक्कल गरेर आफने व्यवसायको विकास गर्ने शीप नेपालीहरु सँग टन्नै छ । वस्तु तथा सेवा मात्र किन, बैङ्कका नक्कली एटीएमदेखि अमेरिकन डलर, भारतीय रुपैयाँ र नेपाली नोटसम्म नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छन् ।यसरी नेपाली समाजले प्रत्येक क्षेत्रमा टाढा र नजिकका सबै देशबाट केही न केही नक्कल गर्दै आएको छ । नक्कल गर्नु नेपाली समाजको अभिन्न अङ्ग बनिसकेको छ, जुनविना नेपालीहरु बाच्नै सक्तैनन् । नक्कल गर्नु नेपाली समाजका लागि सृजनशीलता मात्र होइन, जीवनयापनको आधार पनि हो । आखिर नक्कल गर्नु पनि त एउटा सृजनशीलता नै हो । बरु हाम्रो शब्दकोशमा नक्कल र नेपाललाई पर्यायवाची शब्दका रुपमा परिभाषित गरे हुन्थ्यो कि