शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

तीतोमीठो :लगातारको नेपाली कीर्तिमान 

मदन लम्साल


प्रकृतिले उपहार दिएका संसारकै अग्ला शिखर र धेरै खोलानाला मात्र छैनन् नेपालमा । स्वयम्ले नै सृजना गरेका र सगरमाथालाई पनि माथ गर्ने र अझ हाम्रा शहरका फोहोरका टाकुराभन्दा पनि अग्ला किसिमका कीर्तिमानी काम हामी नेपालीहरुले अथक रुपमा गरी नै रहेका छौं । ती सबैको बयान गरी साध्य छैन । तीमध्ये केही नमूना मात्र यहाँ पेश गरिन्छ ः हामी नेपाली मायावी छौं । हाम्रो देशका एउटा सभासद्को कूटनीतिक राहदानीमा अर्को नेपाली विदेश शयर गर्ने कुरा सामान्य नै हो । अझ एक सभासद्ले तीनतीन ओटासम्म कूटनीतिक राहदानी बोकेर एकै समयमा तीन तीन देश घुमिरहेको असामान्य काम हाम्रा नेपालीले नै गरिरहेका छन् ।

हामी पारदर्शी छौं । त्यसैले हामी आफ्नोबाहेक अरु सबै कम्पनीको सबै तथ्याङ्क पत्रपत्रिकाले सार्वजनिक गरिदेओस् भन्ने चाहन्छौं । त्यसैले हाम्रो निजीक्षेत्रका कतिपय कम्पनीले आपूmले गर्ने कारोबारभन्दा उसले छल्ने करको अङ्क ठूलो हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । त्यति मात्र होइन, पारदर्शितालाई सरकारी कर्मचारी र सरकारका मन्त्रीहरुले आफ्नो मूलमन्त्र नै बनाएका छन् । त्यसैले टेबल मुनिबाट घूस लिने र दिने चलनलाई फ्यालेर उनीहरुले सीधै र टेबल माथिबाटै घूस लिने÷दिने परम्परा शुरु गरेका छन् । फलस्वरुप नेपाल दक्षिण एशियामै अफगानिस्तानपछिको दोस्रो ठूलो भ्रष्ट देश हुन पुगेको छ । अब अफगानिस्तानलाई पनि पछि पार्ने प्रयास जारी छ । नयाँ नेपालको सृजना गर्न युद्ध लडेर आएको र संसद्मा सबभन्दा ठूलो दल भएको नेपाली माओवादी दलले नभएका लडाकूका नाममा ‘सुत्केरीको नाउँमा टाउको मैले खाएँ’ भन्ने गीतमा जस्तै अर्बौं रुपियाँ भ्रष्टाचार गरेर अफगानिस्तानलाई पछि पार्नेतर्फ ठूलै छलाङ मारिसकेको छ । हामी लडाकू हौं । हामी विदेशमा बसेर राम्रै पेशा वा व्यवसाय गरिरहेका भए पनि शुटटाईमा सजिएर, सभासम्मेलनमा अङ्ग्रेजी बोले पनि लड्नुपर्ने बेला आएपछि कसैलाई छोड्दैनौं । त्यसैले पछिल्लोपटक काठमाडौंमा भएको एनआरएन सम्मेलनमा हात र लात हानाहान गरेर नेपालीको गौरवशाली परिचय दिन पछि परेनौं ।

हामी अति नै मेहनती त हुँदै हौं । त्यसैले त भिसा नै नपाउने इराकजस्ता देशमा गएर ज्यान र इमान गुमाउन सधैँ तयार छौं । ५/१० हजार रुपैयाँमा महीनाभर घोडाको लिदी सोर्नेदेखि अर्काको श्रीमती चोर्नेसम्मको काममा जोतिइ नै रहेका छौं । हिजो गुप्ताङ्गमा सुन कोचेर देशदेशावरका सिमाना वारपार गर्ने गराउने हामी नै थियौं । आज प्रतिबन्धित ड्रग ओसारपसार गर्ने पनि हामी नै छौं । अझ हाम्रो आफ्नै एअरपोर्टमा लगेज तोड्ने र सरकारी गाडी देख्नासाथ फोड्ने कुरामा शायद हामीलाई विश्वमा कसैले भेट्नै सक्दैन । हामी नेपालीपन बढ्नुमा गर्व गर्छौं । त्यसैले स्वदेशमै तथा विदेशमा बसेका नेपालीले नेपाली नागरिकता नपाएर के भो र ? विदेशमै बसीबसी विदेशीलाई हामीले नेपाली राहदानी बाँडिरहेकै छौं । छिमेकी देश बङ्गलादेशका मात्र वार्षिक २५ हजार मानिस नेपाली राहदानीमा खाडी मुलुकमा काम गर्न जान थालेको पनि वर्षौं भइसक्यो । भारतीय र तिब्बतीहरुले नेपाली नागरिकता र राहदानी पाउने कुरा त असल छिमेकीको नैसर्गिक अधिकारको कुराजस्तै भइहाल्यो ।

हामी धर्म मान्दैनौं । तर, विदेशीको डलर लिएर उसको धर्म प्रचार गर्न गराउन सडकदेखि संसद् तताउने हाम्रो धर्म हो । त्यसो गर्न नपाए हामी धान लुट्छौं, संविधान जलाउँछौं । तर, संसारको अगाडि बुद्धको र शान्तिको कुरा गरेरै सरकार पनि चलाउँछौं । अझ आफ्नै दाजुभाइ मारीमारी सार्वजनिक रुपमा धर्मको महङ्खवको प्रवचन सुनाउन कत्ति पनि धर्मराउँदैनौं । कसले भन्छ, हामीलाई वीर भए पनि बुद्धु छौं भनेर ? बरु हामी त वीर पनि छौं र बुद्ध पनि आफै हौं । बुद्धले बनाएको कीर्तिमान धान्ने जिम्मा बुद्ध एयरलाई छाडिदिनुपर्छ । अब सबै नेपालीले सके नक्कली नभए सक्कली पासपोर्ट बोकेर आफ्नो मुलुक छोड्न सके सर्वथा नयाँ कीर्तिमान बन्ने पक्का छ ।