उल्टा अरबीहरू
मदन लम्साल
गत हप्ता यूएइको दुबई, शारजहा र अबुधाबीको भ्रमण गर्ने सौजन्य प्राप्त भयो । तातो हावा र मरुभूमि मात्र भएको देश विनाकाममा किन जाने भन्ने सोच नआएको होइन । तर, 'जाम भने जामतनी, दुईचार दिन घुमेरै आमतनी' भन्ने गीत सम्झिँदै लागियो मरुभूमितिर इत्तेहाद जहाज चढेर ।
जहाज चढेदेखि नै यसका एअरहोष्टेज घरीघरी नेपाली, अङ्ग्रेजी, चाइनिज आदि आफू जुन भाषामा बोल्ने हो त्यै भाषामा के खाने र के पिउने भनेर हैरान पार्दा रहेछन् । कहिले कोट लगेर झुण्डाइदिउँ भन्ने, कहिले बियर, हि्वस्की वा स्याम्पेन के खाने भनेर सोधिरहने । उनीहरुको देशमा चाहिँ जहाँ पायो त्यहाँ नपाइने मदिरा प्लेनमा भने सोधेको सोध्यै । मरुभूमिमा गए पनि सुक्खा लाग्दैन भनेर होला शायद त्यस्तो बिजुलीपानी सिञ्चन गरेका जस्तो लाग्यो । जेहोस् ४ घण्टामा अबुधाबी पुगिहालियो ।
ल उनीहरुले त हामीले मरुभूमि देखिहाल्लान् भनेर होला जताततै हरियो चउर, फूल र ठूल्ठूला सडक, बिल्डिङ आदिले छोपेर कतै पनि धूलो, बालुवा हेर्नै दिएका होइनन् । चार दिन पालिस लाउन नपाए पनि जुत्तामा धूलो, मैलो नलाग्ने र बालुवा पनि नटाँसिने । यहाँ जस्तो एकै दिनमा कमिजको घाँटीफेरो ध्वाँसे पनि नहुने ।
हदैसम्मका बाठा पनि रैछन् अरब देशका मान्छेहरु । बाठा पनि कतिसम्म भने एअरपोर्टदेखि होटलसम्म, मलदेखि पेट्रोलपम्पसम्म जताततै नेपालीलाई काममा लगाएका । हाम्रा दाजुभाइ पनि के कम । देशमा पो सानातिना काम नगर्ने । उता त गधाको लिदी सोहर्नेदेखि घरमा अरबीका बच्चा स्याहार्नेसम्म काम दैनिक बाह्र, चौध घण्टासम्म पनि बडा खुशीका साथ गरिनै रहेछन् । दु:खको कुरा के भने बेलाबेलामा कि बाटो काट्न नजानेर वा मादक पदार्थ सेवन गरेर वार्षिक केही सय नेपाली दाजुभाइले ज्यान पनि गुमाउँदा रहेछन् ।
कसैकसैले भन्थे अरबीहरुले धेरै काम नेपालीले भन्दा उल्टो गर्छन् । उनीहरु उदाहरण दिन्छन् अरबी लेखाइको । अरबी भाषा दाहिनेतिरबाट देब्रेतिर लेखिन्छ, देब्रेतिरबाट दाहिनेतिर लेखिनेभन्दा ठयाक्कै उल्टो । अरबमै गएर हेरेपछि त त्यस्तो उल्टो काम धेरै देखियो । जस्तै हामी नेपालमा गाडी दाहिनेतिर बसेर चलाउँछौं, उनीहरु देब्रेतिर ।
अरबमा पुगेका कतिपय नेपालीहरु पाए खुल्लम्खुल्ला मदिरापान गरेर बाटोमा 'जङ्गबहादुर राणाको घोडा किन्ने' खालको हल्ला गर्दै हिँड्ने रहेछन् नपाए आफ्नो मात्ने तलतल मेटाउन स्प्रिट पनि पिउँदा रहेछन् । त्यही क्रममा पनि केहीले ज्यान गुमाउँदा रहेछन् ।
हामी यहाँ नेपालमा देशको हरियालीलाई मरुभूमिमा परिणत गर्दैछौं । त्यही थाहा पाएर होला अरबीहरु भने ठीक उल्टो गरेर देखाउन मरुभूमिलाई हरियालीमय बनाउने काममा लागेका देखिन्छन् ।
प्राकृतिक स्रोतसाधन बेच्ने कुरामा पनि अरबीहरु नेपालीहरुभन्दा ठयाक्कै उल्टा रहेछन् । सबैलाई थाहा छ, अरबीहरु पेट्रोल बेचेर पैसा कमाउँछन् अनि त्यै पैसाले खानेपानीचाहिँ किन्छन् । हामी बरु उनीहरुकै पेट्रोल धेरै पैसा तिरेर किन्छौं । तर, भोकै मरे पनि पानीचाहिँ बेच्दैनौं । पानी, बिजुली पनि कतै बेच्छन् त ?
तर, सबै थोक उल्टो गर्ने अरबीहरुबाट हामी सबै सुल्टो काम मात्र गर्ने नेपालीले सिक्नु पनि त भएन ।
Admin 2011-05-06