शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

राष्ट्रिय मुसाकाण्ड
मदन लम्साल

मुस्ताङ काण्डपश्चात् देशमा अहिले फेरि अर्को एउटा काण्ड मच्चिएको छ-मुसाकाण्ड । एउटा मुसो नेपाल वायुसेवा निगमको जहाजभित्र छिरेर मलेशिया र हङकङको भ्रमण गर्न भ्याएछ ।  यो कुनै अचम्म मान्नुपर्ने कुरा होइन । किनकी त्यस्ता कति मुसा निगमको जहाज चढेर विश्वका कति देश शयर गरिसके होलान् । तर, यो पछिल्लो मुसो भने ती सबैभन्दा विशिष्ट क्षमतायुक्त साबित भएको छ ।

सर्वप्रथम त यो अत्यन्त राष्ट्रवादी मुसा हो । कति नेपाली सर्वसाधारण र गन्यमान्य एकपटक विदेश पुगेपछि उतै लुकेर बस्ने गर्छन् । तर, यो मुसा जहाजबाटै ओर्लन पटक्कै मानेन । विगतमा पनि जहाज चढेर विभिन्न नामका राजनीतिक मुसाले हङकङ, मलेशियालगायत विश्वका धेरै देश घुम्ने गरेको चर्चा त पढेकै हो, सुनेकै हो । उदाहरणका लागि २०५२ सालतिर शेरबहादुरको सत्ताको पत्ता काट्न खोज्ने अरु थुप्रै सांसद  नामधारी दर्जनौं मुसालाई बैङ्कक घुम्न पठाइएको कुरा जगजाहेर नै छ । उनीहरुले हङकङ, बैङ्कक शयर गर्दा राम्रो होटल, राम्रो कार, मोटो रकम र राम्री केटीको खुलेआम माग गरेका थिए । तर, यो मुसाले भने कसैसँग खाना, पिना, पैसा, ऐश आरामका लागि कुनै बार्गेनिङ गरेन भन्छन् विमानका चालक र यात्रीहरु ।त्यसैले यो मुसा नैतिकवान् पनि रहेछ । गणेश चौथीको लगत्तै यो घटना भएकाले पक्कै पनि यो विशेष मुसो गणेश भगवान्को पक्का वाहन नै हुनुपर्छ ।

त्यसैले नै यो मुसाले कतिपय नेपाली मानिस, नेता अथवा मुसाले नै जस्तो आफै बस्ने घर भत्काउने काम गरेन । जहाजको तार काटेन, जहाज पनि भत्काएन र कुनै विध्वंस गरेन । यो मुसाबाट नेपाली नेताहरुले एक दुईओटा नैतिक पाठ पक्कै सिकेको हुनुपर्छ ।यो मुसाले नैतिक मात्र होइन, कूटनीतिक पाठ पनि सिकाएको देखिन्छ । नेपालमा कुनै व्यक्ति प्रधानमन्त्री हुनेबित्तिकै पहिले भारत जाने कि चीन भन्ने द्विविधामै पिल्सिएर बस्ने गरेको पाइन्छ । त्यस्तै द्विविधैद्विविधामा पछिल्ला प्रम झलनाथले त दुवै देशको भ्रमण गर्न सकेनन् । तर, यो मुसाले एउटै भ्रमणमा एकैचोटि दुई देशको भ्रमण गरेर एउटा तिरले दुई शिकार गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।

त्यसैले यो मुसा पक्का नेपालवादी हुनुपर्छ भन्ने कुरामा दुई मत हुन सक्तैन । यो मुसालाई नेपालको शान्तिसुरक्षाको गार्ड बनाए हुन्छ । किनकी मलेशिया र हङकङजस्ता देशबाट गलत मानिस नछिरुन्, नआउन् भनेर यो मुसाले एक मिनेट पनि जहाजलाई गस्ती गर्न छाडेन । सबैलाई थाहै छ ती देशमा बहुत खतरनाक मानिसहरु पनि बस्छन् अरे । ती कसैगरी नेपाल वा भारत छिरे भने तिनले नेपाल र भारतको सुरक्षामा खतरा निम्त्याउन सक्छन् अरे । भारतले भारतबाट नेपाल आउने जहाजमा गरेको सुरक्षा व्यवस्था बुझेरै यो नेपाली मुसोले नेपाली जहाज र यसका यात्रुहरुको मात्र होइन, सम्पूर्ण नेपालको सुरक्षा गर्न यत्रो साहसिक कदम उठाएको हुनुपर्छ । वास्तवमा यो मुसालाई नेपालको सुरक्षा सेनामा समायोजन गरेर यसलाई 'जर्नेल' बनाउनु अत्यन्त उपयुक्त छ, अथवा एउटा 'मुसा ब्रिगेड'कै स्थापना गरेर नेपालबाट सारा संसारलाई एउटा अर्को चामत्कारिक क्रान्तिको सन्देश पो दिने हो कि ?

तर, यो मुसाकाण्डले एउटा गम्भीर 'कन्फ्युजन' भने सृजना गरेको छ । नेपालबाट मलेशिया र हङकङ पुगेको भनिएको मुसा र खोरमा बन्द गरेर मारिएर मोबाइलमा फोटो खिचिएको भनिएको मुसा एउटै हुन् वा दुइटा ? यो रहस्य पत्ता लगाउन धेरै नै कसरत गर्नुपर्ने देखिन्छ । यो घटनाले तथ्य कुरा पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने र नेपालको पर्यटन उद्योगलाई एकैचोटि माथि पुर्याउने काममा लाग्न नवनियुक्त एमाओवादी सरकारका सामु एक अर्को गम्भीर चुनौती पनि खडा गरिदिएको छ । र, लाग्दछ यो सरकारको आयु पनि मोबाइलको मुसा र जहाजको मुसाका बीचको भिन्नता वा समानता पत्ता लगाउन सक्ने वा नसक्ने भन्ने कुरामै टिकेको छ ।