शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कसले डुबाउँछ अर्थतन्त्र ?
मदन लम्साल
एकथरी मानिसहरु नेपालको अर्थतन्त्र डुब्ने भयो भनेर कोकोहोलो मच्चाँउदै छन् । अर्थतन्त्र कुनै जहाज हो र डुब्नलाई ?हिजो यी मानिस अर्थतन्त्रलाई राजा र राजतन्त्रले बचाँउछ भनेर विश्वास गरिहिँडथे । त्यसै भएर निजीक्षेत्रमा स्वनामधन्य भनिएका सबै  इन्द्रका वरिपरि अप्सराहरु झुम्मिएझैं राजाकै वरिपरि झुम्मिरहन्थे । भूतकालमा राजाले आफ्नो अर्थतन्त्र डुब्नबाट बचाउन निकै कसरत गरेकै हुन् । त्यसैले देशको अर्थतन्त्र उनकै इशारामा नाचिरहन्थ्यो । मौसमले राजाको जहाजलाई डुब्नबाट जोगाउन सकेन र पो !

त्यसपछि यी मानिसले बहुदलका वीरबलहरु, गिरिजादेखि देउवा, लोकेन्द्रदेखि माकुनेसम्ममा अर्थतन्त्रको वर्तमान र भविष्य देख्न थाले । त्यसैले सबै यिनकै पछि लागे । यसमा उल्लेखनीय के छ भने नेपाली काङ्ग्रेसले 'खुला बजार अर्थतन्त्र'को नीति अगाडि सार्यो । काङ्ग्रेसको खुला बजार अर्थतन्त्रको अर्थ बजारमा जसले जे गर्न पनि खुला छ भन्ने हो । डाँकाहरुको भाषामा भए यसलाई 'लुटतन्त्र' भन्थे । तर, राजनीतिक भाषामा लुटतन्त्र वा छूटतन्त्रबीच ताङ्खविक भिन्नता नहुने हुनाले यसलाई जे तन्त्र भने पनि हुन्छ । त्यसैले काङ्ग्रेसले यसलाई खुलातन्त्र भनेको हो ।

एमालेको त कुरो सधैं बेग्लै हुने भैहाल्यो । त्यसैले त ऊ 'ए' माले हो र 'बी' माले वा 'सी' माले होइन । उसले पञ्चायतको नियन्त्रणमुखी अर्थतन्त्र र काङ्ग्रेसको 'खुलातन्त्र'को बीचमा बसेर 'मिश्रति अर्थतन्त्र' अर्थात् त्यसलाई 'शिखण्डीतन्त्र' पनि भन्न सकिन्छ, लाई आत्मसात् गर्दै आयो । जे कुरामा पनि एमालेले तेस्रो धार वा तेस्रो लिङ्गी अवधारणा अँगाल्दै आएको छ । जेहास् एमाले र काङ्ग्रेस अर्थात् एमाङ्ग्रेसले आआफ्ना क्षमताले भ्याएसम्म अर्थतन्त्र डुब्नबाट जोगाएकै हुन् ।  त्यो अर्थतन्त्र पार्टीको , व्यक्तिको वा देशको कसको भन्ने प्रश्न भने नसोधेकै राम्रो ।

यसैबीचमा बाहुबली माओवादी सत्ताभित्र र बाहिर जताततै छाए । यिनीहरुले त देशको पूरै अर्थतन्त्र आफ्नोनियन्त्रणमा लिएका छन् । त्यसैले यिनीहरु बरु आफू डुब्लान् तर आफ्नोअर्थतन्त्र डुब्न दिने छैनन् । विगत १०-१२ वर्ष नेपालको अर्थतन्त्र यिनीहरुकै इशारामा चलेको छ भन्दा फरक पर्दैन ।यसरी नेपालको पूरै अर्थतन्त्र विभिन्न राजनीतिक दलका हातहातमा सुरक्षित छ, डुब्ने कुरै छैन । अर्थतन्त्रलाई थप डुब्नबाट जोगाउन यी विभिन्न दलका भ्रातृ र भगिनी सङ्गठनहरु, ट्रेड युनियनहरु मुठ्ठी कसेर र दिलोज्यान दिएर लागेकै छन् । यिनीहरु भएसम्म कसरी डुब्छ अर्थतन्त्र ?त्यसमाथि निजीक्षेत्रभित्रका चेम्बरहरुले काम गरी नै रहेका छन् । यिनीहरु कहिले भ्याट नतिर्नेलाई डुब्न नदिन लबी गरी हिँड्छन्, कहिले स्वदेश होस् कि विदेश आफूले भनेको ठाउँमा, आफूले भनेजसरी नै लगानी गर्न पाउनुपर्छ भनेर मरिमेटेर लागेकै छन् । यस्ता गम्भीर प्रयास हुँदाहुँदै अर्थतन्त्र डुब्ने प्रश्नै आउँदैन ।

झन् सरकारी कर्मचारी र विभिन्न क्षेत्रका नीतिनिर्माता र अनुगमन गर्नुपर्ने निकायहरुको त कुरै बेग्लै छँदै छ । उनीहरुले बनाउने हरेक नीति र उनीहरुले गर्ने प्रत्येक गतिविधि अर्थतन्त्रलाई पानीमाथि नै राखिराख्ने तर डुब्न भने नदिने अत्यन्तै सन्तुलित छ । चाहे राष्ट्र बैङ्कले अहिले बैङ्क तथा वित्तीय संस्थाहरुप्रति लिएको नीति होस् अथवा हरेक अर्थमन्त्रीले ल्याउने 'स्वयम् कर घोषणा'लगायतका नीति हुन्,  सबै नेपालको अर्थतन्त्रलाई समुद्रको बीचमा पानीमाथि तैरिरहन मद्दत गर्ने खालकै हुने गरेका छन् ।तर, कहीँ कतै सहारा नपाएजस्तो गरी अर्थतन्त्रलाई डुब्नबाट बचाउन यी नेपाली जनता अन्त्यमा कहिले सेनाको आश गरी बस्छन् त कहिले पुलिसकोमा बास बस्न पुग्छन् । बिचरा ! पुलिस र सेनाले नेपाली जनतालाई दिन सक्ने कुरा त दिएकै छन्, तर अर्थतन्त्रलाई सुरक्षा दिन सक्तैनन् भन्ने यिनीहरुले कहिल्यै बुझेनन् । किनकि सेना-पुलिसभित्र पनि व्यापक रुपमा आ-आफ्नैअर्थतन्त्र सुधार्ने होड जो चलेको छ ।

त्यस्तै, कहिले यी जनता न्यायालयले अर्थतन्त्र जोगाइदेला कि भनेर मुख बाउँछन् । न्यायाधीशहरुको पनि आफ्नोबाध्यता र सीमा हुन्छ, काम, क्रोध, लोभ, मोह हुन्छ । ती सबैसँग लडेर आफ्नोअर्थतन्त्र डुब्न नदिने गरी काम गर्न कति गार्हो हुन्छ, सबैले बुझेकै कुरा हो । तापनि न्यायालयभित्र धेरैले आ-आफ्नोअर्थतन्त्र सुधार्न भरमग्दुर प्रयास गरिरहेको कुरा प्रकाशमा आइनै रहेका छन् ।यसरी अर्थतन्त्रलाई डुब्नबाट बचाउन यी विभिन्न क्षेत्रका प्रभावशाली पदवालाहरुले गरेको प्रयासबारे नबुझेका कारण नेपाली जनता त्यसै अर्थतन्त्र डुब्न लाग्यो भनेर तित्रो चरोले जस्तै आकाशै खस्न लाग्यो भन्ने जस्तो गरी रोइकराई गरिरहेका छन् । गणेशमानले भनेझैं नेपाली जनता भनेका भेडा वा पटमूर्ख नै हुन् जस्तो छ । कुरै बुझ्दैनन् । कोही नभए पनि नेपाली अर्थतन्त्रलाई पशुपतिनाथले बचाइहाल्छन् नि ! अहिले बागमतीको फोहोर पानी पिएर पेट दुखेकाले पशुपतिनाथजी स्वयम् बिरामी परेजस्ता छन् र पो अर्थतन्त्रलाई डुब्नबाट जोगाइहाल्न नसकेका !

Admin 2011-07-08