शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

गरीबी घटेको चिन्ता
मदन लम्साल

नेपालको गरीबी ३१ बाट १३ प्रतिशतमा झर्यो भनेर तथ्याङ्क विभागले गत महीना प्रतिवेदन निकालिदियो । सरोकारवालाहरुसँग सल्लाह नगरीकनै यस्तो गम्भीर कुरा उसले त्यसरी स्वाट्टै सार्वजनिक गरिदिन हुन्थेन । यसले नेपालका प्राय: दलका नेता, बुद्धिजीवी, पत्रकार, सरकारी कर्मचारी, व्यवसायी, दातृनिकायका पदाधिकारी, गैरआवासीय नेपाली (एनारान) आदि सबैलाई गहिरो चिन्तामा डुबाएको छ ।अब नेपालका नेताहरुले कसका नाममा राजनीति गर्ने ? गरीबी नै घटेपछि देशको विकास भयो भनेर मान्नै पर्यो । जब देशको विकास नै भइसकेपछि के गरिदिन्छु भनेर नेताहरु जनतालाई भन्न जाने ?बुद्धिजीवीहरुले कसका नाममा रणनीति विश्लेषण गर्ने ? पत्रकारहरुले कसका बारेमा समाचार लेख्ने ? कर्मचारीहरुले कसका लागि विकासका, गरीबी निवारणका योजना बनाउने ? दातृनिकायहरुले कसका नाममा गाउँगाउँमा कार्यक्रमहरु चलाउँदै हिँड्ने ? व्यवसायीहरुले कसका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम चलाउने, कसका लागि दान दिने ?

दशैंमा पिकनिक मनाउन नेपाल पसेका गैरआवासीय धनी र नेपालीमूलका मानिसहरुलाई गरीबी घटेको तथ्याङ्कले अझ चिन्तित तुल्याएको हुनुपर्छ । किनकि उनीहरुले खाडी मुलुक, कोरिया र मलेसियामा काम गर्न गएका गरीब नेपाली कामदारहरुले नेपाल पठाउने गरेको पैसामा आफूले नेपाललाई ठूलै उपकार गरिरहेको डिङ हाँक्ने गरेका छन् । आफूहरुले चाहिँ नेपालमा सुको नपठाउने र लगानी गर्न 'राम्रो वातावरण' भएन भनेर प्रत्येक वर्ष ठूलै हल्लाखल्लाको खेती पनि गर्ने गरेका छन् । नेपालमै गरीब घटेपछि विदेशमा धन कमाउन जाने नेपाली कामदार अब पक्कै घट्ने नै छन् । विदेश जाने कामदार घटेपछि विदेशबाट आउने पैसा त घट्ने नै भयो । एनारानको सङ्ख्या पनि स्वात्तै घट्ने भयो ।

नेपालको गरीबी घटेकोमा सबैभन्दा बढी पीर त नेपालको इतिहासमै सबैभन्दा छिटो धनी बन्न सफल माओवादी नेता तथा कार्यकर्ताहरुलाई परेको हुनुपर्छ । किनकि हिजो सबैले नेपाली काङ्ग्रेसलाई सबैभन्दा धनी दल भनेर गाली गर्थे । त्यसपछि काङ्ग्रेसभन्दा एमाले धनमा धेरै अगाडि देखियो । तर, अहिले माओवादी दल मात्र होइन, यसका हरेक ठूलासाना नेता तथा कार्यकर्ता सबैभन्दा धनी देखिएका छन् । समाजमा उनीहरुको रबाफ र धनको प्रदर्शनबाट पनि यो पुष्टि हुन्छ । १० वर्षयता यसै पनि धेरै धन भएकाहरु आफ्नो धन जोगाउन पनि माओवादीको छाता ओढेको त सबैलाई थाहा नै छ । यसपालिको दशैंमा त माओवादी कति धनी छ भन्ने राम्रोसँग उजागर हुन पायो । माओवादीको एउटा सामान्य नेताको पनि अन्य दलका नेताको भन्दा ठूलो र महँगो गाडी देशैभरि गाउँगाउँमा कुदिरहेको देखिन्थ्यो । अरुको घरमा एउटा खसी भए माओवादी नेताका घरमा दुई/चारओटा खसीबोका काटिनु सामान्य कुरा देखिन्थ्यो । अझ आफूकहाँ मात्र होइन, माओवादी नभए पनि आफ्ना सम्धी-सम्धिनी, नाता-गोताकहाँ समेत माओवादी नेता-कार्यकर्ताले खसीबोका पुर्‍याउँदै हिँडेको देखिन्थ्यो ।

यी सबै खुशीकै कुरा हुन् । किनकि यी देशमा गरीबी घटेका प्रमाण हुन् । तर, माओवादीका लागि भने यो चिन्ताको विषय हो । किनकि गरीबको विकास गर्ने भनेर जन्मेको माओवादी दलले देशमा गरीबहरु नै निमिटयान्नसरह भएपछि अब कसका लागि भनेर राजनीति गर्ने ? यसरी माओवादीलाई मात्र होइन, गरीबीको विषयमा चिन्ता र सरोकार राख्ने भनिएका कसैलाई पनि गरीबी घटेकोमा खुशी होइन दु:ख लाग्छ । किनकि देशमा गरीब धेरै रहिरहनुमा नै यी सबैको हित छ । त्यसकारण गरीबी घटेका कारण अहिले देशमा चिन्ता, दु:ख व्याप्त छ भन्न सकिन्छ । गरीबी घटेकोमा के तपाईं पनि चिन्तित हुनुहुन्छ ? चिन्ता हटाउने उपाय एनारानसँग सोध्नुस्, उनीहरु त्यही सेवा गर्न पाऊँ भनेर अहिले नेपालमा जम्मा भएका छन् । आफूआफूमा मुक्का र लात्ती बर्साएका छन्, टेबल, कुर्सी माइक भत्काएका छन् ।