कमण्डलु ब्राण्ड बैङ्कर
मदन लम्साल
आजचाँहि कुनै बैङ्क वा वित्तीय संस्था (बैंवि) का अध्यक्ष वा प्रमुख कार्यकारी फरार भएको समाचार कतै पनि देखिएन । अचम्मै भयो बा ! हैन अध्यक्षहरु हिजोआज बढी नै ज्ञानी हुन थालेकी क्या हो ? कि राष्ट्र बैङ्क (राबै) धेरै नै बुद्धिमानी हुँदै आएको हो ? चोपिला समाचार पढ्ने, लेख्ने बानी परिसकेकाले हो कि किन हो, यस्तो समाचार नदेख्दा कताकता के नभएजस्तो, के नपुगेको जस्तो अथवा भनौं नुन, अमिलो नपुगेको अचारजस्तो लागिरहँदो रहेछ ।
हुन त यी मिडियावालाहरु पनि भएको कुरा हो भन्दैमा सबैथोक लेख्दै हिँड्छन्, के के न ठूलै 'स्कूप' मारेजस्तै । बैङ्क फाइनान्स भनेकै पैसा राख्ने र झिक्ने ठाउँ हो । मह काढ्नेले हात चाट्छ भनेझैं पैसा झिक्ने र राख्ने ठाउँ नै आफ्नो हुने दुईचार हर्ताकर्ताहरुले केही पैसा झिकेर चलाए होलान्, त्यसबाट यसो घरजग्गा जोडे होलान्, देशविदेश घुमे होलान् त कुन ठूलो कुरा भयो र ? उनीहरु कतै गए भन्दैमा सबै पैसा खाएर सिध्याए भन्ने अर्थ लगाउन मिल्दैन नि ! एनएसएमका योगन्द्र श्रेष्ठकै उदाहरण काफी छ । उनी फरार भए पनि उनैले लगानी गरेको 'स्टार मल' पुतलीसडकमा ठाडो शिर लगाएर उभिएकै छ । त्यस्तै, उनले लगानी गरेका इन्स्योरेन्स, बैङ्क, हाउजिङ सहकारी पनि ज्यूँका त्यूँ छन्, कहीँ भागेका छैनन् । ८ महीनाअघि राबैंका हाकिमहरु आएर एनएसएमको फाइल हेरेर सबै ठीक छ भनेर सही धस्काएर गएकै हुन् । केही महीनामै योगेन्द्र भद्रभलाद्मीबाट 'नटवरलाल' बनेका होइनन् होला । फरार भनिएका अरुहरुले पनि यस्तै उस्तै केही गरेकासम्म न होलान् ।
बैंविमा पैसा राख्नेले झिक्न जाँदा पाएनन् भन्दैमा पत्रपत्रिकाले 'फरार' भनेर लेखिहाल्नु पर्छ र ? उनीहरु फरार नभई यसो छुट्टी मनाउन मात्र गएका पनि हुन सक्छन् वा स्वास्थोपचार गराउन विदेशतिर पुगेका पनि हुन सक्छन् । विदेशोपचार गराउन केवल राजनीतिक दलका नेता, सभासद् आदि मात्र गइररहनुपर्छ भन्ने छ र ? जहाँसम्म निक्षेपको पैसा चलायो भन्ने कुरा छ, पैसा भन्ने कुरा एकठाउँमा अडिँदै अडिँदैन, यो त कतै न कतै बग्छ वा चुहिन्छ चुहिन्छ । त्यसैले त पैसालाई 'तरलता' भन्ने गरिएको नि ! अब धेरै बैंविका कार्यकारीले धेरै पैसा घर, जग्गा, शेयर (घजशे)मा खन्याए होलान् । त्यसमा उनीहरुले के अपराध गरे त ? घर सबैलाई चाहिने नै कुरा भएकाले उनीहरुले त्यसमा लगानी गरे । अब अहिले आएर यी घजसेको भाउ नै घटयो त के गरून् बैंविका डयाडीमम्मीहरुले ? फेरि यै बेला पारेर राबैंले पनि उसलाई मन परेको बैंविमा मात्र पैसा राख भन्ने मौखिक उर्दी जारी गरेछ । त्यसपछि केही बैंविका डयाडीहरु फरार नभए के फरिया लाएर नेपालमा बसिरहन्छन् त ?
राबैंले समयमा किन हेरेन ? सर्वसाधारणको बचतको रक्षा किन गरेन ? वा यस्ता घटनाका कारण बैङ्किङ प्रणालीप्रति नै जनविश्वास गुमेर अर्थतन्त्र बर्बाद हुनबाट राष्ट्र बैङ्कले जोगाउनु पर्ने होइन ? भन्ने खालका प्रश्नहरु तपाइंका मनमा आएका हुन सक्छन् । तर, तपाईंले के बिसन मिल्दैन भने राष्ट्र बैङ्क भनेको नेपालको राष्ट्र बैङ्क (नेराबैं) हो, अमेरिकाको होइन । नेराबैंमा नयाँ गभर्नर, दुई डेपुटी र जम्मा डेढ दर्जनजति कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँहरुले त्यत्रा २ सय ३० बैंविको स्याहार-सुसार, अनुगमन गर्न कसरी भ्याउनुहुन्छ भन्ने कुरा बुझ्नु पर्दैन ? उहाँहरु पनि मानिस नै हो, भगवान् त होइन । त्यसमा पनि काम, क्रोध, लोभ, मोह,ईर्ष्या, मद, मार्त्सय आदि सबै मनुष्य चोलाका गुण उहाँहरुमा पनि होलान् । उहाँहरुले दिनको ८/१० घण्टा नेराबैंमा गएर काम गर्नुभएकै छ । अर्जुनले धनुषवाण पर्रा छोडेसरी सक्दो छिटोछिटो निर्देशनहरुको पर्रा पनि छोडेको छोडयै हुनुहुन्छ । यत्रो काम गरिरहँदा पनि राष्ट्र बैङ्कले केही गरेन भन्न मिल्छ ?
त्यसो भए अब के गर्ने भन्ने प्रश्न उठ्न सक्छ । उत्तर हो- केही पनि नगर्ने । केही गरेरै त समस्या धेरै भएको हो । राबैंका हाकिमहरुले यो कुरा राम्ररी बुझ्नु भएको छ । त्यसैले त उहाँहरु अहिले पनि 'चुप्पी साधेर' बस्नुभएको छ । केही गर्नैपर्ने नै हो भने रुद्री, चण्डी पाठ लगाउने, यज्ञ, होम आदि शुरु गर्न, गराउन सकिन्छ । देशमा धेरै मानिसको आत्मामा राक्षस, भुत, प्रेत, पिचास आदि पसेर दु:ख दिइरहेकाले नै सबैतिर यी नराम्रा खबर आउन थालेका हुन् । त्यसमध्ये सबैभन्दा पहिले यी 'काम नगरी खाने र खुवाउने' प्रवृत्तिका पिचास र भुतहरु मन्छाउने यज्ञ शुरु गर्नुपर्छ । त्यसपछि मात्र यी भुत-पिचासबाट मुक्ति मिल्छ । नत्र भने यहाँ 'बोलबम बोलबम' भन्दै कमण्डलु बोकेर हिँड्नुको विकल्प छैन भन्ने यो मनुवाको ठहर छ । आखिर कमण्डलु बोके पनि बैङ्कर त बैङ्कर नै हुन् ।
Admin 2011-06-10