शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सुन्दरी उत्पादन बढाऔं, आत्मनिर्भर बनौं
मदन लम्साल

कसले भन्छ, नेपालमा उत्पादनयोग्य उद्योगको सम्भावना छैन भनेर ? केही वर्षयता देशका शहरशहर नगरनगरमा भइरहेका सुन्दरी उत्पादन गर्ने उत्साहलाई मात्रै हेरे पुग्छ । यसले देशमा उत्पादनयोग्य उद्योगको भविष्य छैन भन्नेहरुलाई गलत साबित गरिदिएको छ । सन् १९९४ मा हिडन ट्रेजर भन्ने संस्थाले गरेको मिस नेपाल प्रतियोगिताको शुरुआतसँगै नेपालमा संस्थागत रुपमै सुन्दरीहरु उत्पादन गर्ने सिलसिलाको शुभारम्भ भएको मानिन्छ । त्यसपछि त कति सुन्दरी उत्पादन भए भन्ने तथ्याङ्क सुन्दरी प्रतियोगिता आयोजना गर्नेहरुसँग पनि छैन भनेर ठोकुवा गर्न सकिन्छ ।

मिस नेपाल, मिस नेशनल, मिसेस नेपाल, मिस एअर होष्टेज, मिस टिन, मिस नेवा, मिस शेर्पा, मिस गुरुङ, मिस मगर, मिस काठमाडौं, मिस धरान, मिस पोखरा, मिस विराटनगर, मिस कोशी, मिस लिटिल पेजेण्ट । अझ कलेजकलेजमा उत्पादन हुने मिष्टर र मिस कलेज सुन्दर सुन्दरीहरुको त हिसाबै छैन । सबै लेख्न थाल्ने हो भने यो सूची धेरै लामो हुन्छ । एउटै जातजातिभित्र पनि फरक थरको सुन्दरी प्रतियोगिता हुन शुरु भएको छ । जस्तै नेवार जातिमा मिस नेवा छँदै छ, मिस शिल्पकार पनि हुन थालेको छ ।

यी प्रतियोगिताले देशमा असङ्ख्य सुन्दरी उत्पादनको सम्भावनालाई उजागर गरेको छ । जस्तै नेवार जातिमा किन मिस नेवा वा मिस शिल्पकार मात्रै ? अब मिस ताम्राकार, मिस तण्डुकार, मिस महर्जन, मिस जोशी, मिस श्रेष्ठलगायत सयौंथरी मिस र मिसेस सुन्दरीहरुको प्रतियोगिता गरेरै सुन्दरीहरुको उत्पादन बढाउन सकिन्छ । नेवार जातिमा मात्र नभई यसरी नै सबै जातिका सुन्दरीहरुको उत्पादन प्रशस्त गर्न सकिन्छ । देशको जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको बाहुन, क्षत्री जातिबाट मिस बाहुन, मिस क्षत्री सुन्दरीहरु उत्पादन गर्ने त अझैसम्म कसैले सोचेकै देखिँदैन । त्यो पनि शुरु गर्ने हो भने देश सुन्दरी नै सुन्दरीमय बन्नेछ ।

तैपनि खुशीको कुरा छ कि मिस तेस्रो लिङ्गी र मिस होचा-पुड्काजस्ता क्याटेगरीमा समेत सुन्दरीहरु उत्पादन शुरु भएको छ । बरु पुरुषहरु सुन्दर नहुने भएकाले हो वा त्यतातिर ध्यान नपुगेर हो, आयोजकहरुले पुरुष सुन्दर प्रतियोगिता त्यति फसटाएको छैन । मिष्टर फलानो कलेज र मिष्टर हृयाण्डसम भन्ने एकाध उदाहरणबाहेक सुन्दर पुरुष उत्पादनको क्रम अघि बढ्न सकेको छैन । यसलाई पनि आयोजकहरुले मनन गर्ने हो भने सुन्दरसुन्दरी उत्पादन गरेरै मात्र पनि देश आत्मनिर्भर बन्न सक्ने देखिएको छ । शायद, यसैका लागि इमामी र युनिलिभरजस्ता कम्पनीले पुरुषका लागि पनि सौन्दर्य प्रसाधन 'मेन्स एक्टिभ' र 'मिष्टर हृयाण्डसम'जस्ता उत्पादन बजारमा ल्याएको हुनुपर्दछ ।

थाइल्याण्डलगायत कतिपय देशमा मोटी सुन्दरीहरुको पनि प्रतियोगिता गरेर 'जम्बो क्वीन' जस्ता उपाधि दिने गरिएको छ । नेपालमा जम्बो क्वीनहरु नभेटिए दाउरी वा चाउरी सुन्दरी उत्पादन गर्न सकिन्छ । यूरोप, अमेरिकातिर यस्ता सुन्दरीहरुको मोडलिङ र फिल्म उद्योगमा ठूलो माग छ ।सुन्दर-सुन्दरी उत्पादनबाट हुने 'फरवार्ड' र 'ब्याकवार्ड लिङ्केज'का बारेमा त पाठकहरु जानकार नै हुनुहुन्छ । सुन्दर सुन्दरीहरु उत्पादन बढाउँदा सुन्दरीहरुमात्र नभई विविध खाले फेशनेबल ड्रेस, सौन्दर्य सामग्रीको विक्री पनि हृवात्तै बढ्छ । त्यसैले त सौन्दर्य प्रसाधन उत्पादन गर्ने युनिलिभर नेपालजस्ता कम्पनीहरुले आफ्ना शेयरधनीलाई ५ सय ५० प्रतिशतसम्म बोनस बाँड्न सफल भएका । त्यस्तै फोटोग्राफर, कोरियोग्राफर, लाइटमेन र साउण्ड वुमनजस्ता प्रोफेशनलहरुले रोजगारी पाउनेछन् र यसरी थप 'ब्याकवार्ड लिङ्केज' पनि हुन्छ ।त्यसकारण अब यो जलस्रोत, कृषि, पर्यटन आदिजस्ता क्षेत्रको विकास गर्ने गफ गरेर समय र स्रोत खर्च गरिरहनुभन्दा सुन्दर र सुन्दरीहरुको उत्पादन बढाउनेतर्फनै सबै जुट्नुपर्ने समय आइसकेको छ ।

Admin 2011-02-11