शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

तीतोमीठो


सम्पन्न भयो आईटी क्रान्ति


मदन लम्साल


धेरैओटा क्षेत्रको चौतर्फी विकास गरेर नेपालको विकास गर्ने भन्ने कुरा गँजडीका गफ मात्र भए भनिए पनि सूचनाप्रविधिमा जसलाई ‘आईटी’ भन्छन् क्यारे, मा चाहिँ क्रान्ति नै भइसकेछ भन्दा हुन्छ । यसका प्रमाण सरकार, सडक, गल्ली र गाउँका डाँडापाखा सबैतिर छ्यासछ्यास्ती भेटिन थालेका छन् । हरेक महीनाजसो हुन थालेका आईटीसम्बन्धी गोष्ठी, सभा, सम्मेलन, सेमिनार, राउण्ड टेबल, मेलाहरुले नै पनि नेपालमा आईटी क्रान्ति भइसकेको पुष्टि हुन्छ । अस्ति भर्खर ‘आईसीटी एक्स्पो’ सिद्धियो । अब अर्को आईटी मेला ‘क्यान इन्फोटेक’ जनवरीमै शुरु हुँदै छ । फागुनमा ‘इलेक्ट्रो टेक’ हुँदै छ । कहिले हो, वर्षको एकदुईचोटि सफ्टवेयरसम्बन्धी ‘सफ्टेक’ मेला हुन्छ । यति भइसकेपछि अब हार्डडिस्कहरुको ‘हार्डेक’ मेला पनि पक्कै होला । मोबाइल मेला त हुने गरेकै छ । यसमा पनि महिलाले बोक्ने र पुरुषले बोक्ने मोबाइलका छुट्टाछुट्टै मेला हुन सक्छन् । यसरी आईटी मेलाहरुमा पनि विशिष्टीकरण, समावेशीकरण, विकेन्द्रीकरण आदि कुरा पक्कै समेटिँदै जाने नै छन् । आखिरमा गएर आईटी क्रान्तिको उद्देश्य पनि राजनीतिक क्रान्तिको जस्तै ‘हुने खाने’ र ‘हुँदा मात्र खाने’हरुबीचको विभेद अर्थात् ‘डिजिटल डिभाइड’लाई कम वा अन्त्य नै गर्दै लाने नै हो ।

यति मात्र होइन, अहिले हरेक गल्लीगल्लीमा मोबाइल र कम्प्युटर मर्मत केन्द्र खुलेका छन् । कतिपय चामल र दाल बेच्ने पसल मोबाइल पसलमा परिणत भएका छन् । हिजोआज हरेक बाटोघाटो, चोक र बजारमा शुटधारी, शर्टधारी वा दारीधारी पुरुष र धोतीचोलो, मिनीस्कर्ट वा जिन्सवाला महिला कानमा सेता र काला तार झुण्ड्याउँदै, गुन्गुनाउँदै हिँडेका देखिन्छन् । लाखौं नेपाली आज चाहे कलेज जाने हुन् वा कर्पोरेट हाउस, कपनदेखि कुरिनटारसम्म, मेचीदेखि काली सबैतिरका नेपाली कानमा एमपी थ्री नठुसीकन बस्नै नसक्ने भएका छन् । अफिस अफिसमा फेसबूक, ट्वीटर, यूट्युब आदिले थुप्रैलाई रोजगारी सृजना गरिदिएको छ । हुँदाहुँदा अब त फेसबूक सञ्जालको नाममा अफिसको काम छाडेर ‘गरिखान देऊ’ भन्ने ब्यानर बोकेर सडकमा आउनेहरु पनि बढेका छन् । कलेज छाडेर वा बाउआमाको आँखा छलेर ‘हट कण्टेण्ट डाउनलोड’ गर्न साइबर क्याफे धाउनेहरु यो देशमा कति छन् भन्ने न त विद्यालय वा कलेजका गुरुहरुलाई थाहा छ, न त तिनका अभिभावकलाई । यो भन्दा ठूलो सूचनाको क्रान्ति कति नै चाहिएला र नेपालजस्तो सानो देशलाई ? आईटीका माध्यमबाट कर्मचारीहरुको जनसम्पर्कमा भएको प्रगतिको मूल्याङ्कन पनि शायद कुनै कम्पनीको एचआर म्यानेजरले अहिलेसम्म गरेकै छैन होला । फेसबूक, ट्वीटरजस्ता सामाजिक सञ्जालवालाहरुले कुनै दिनदेखि आफ्ना कारणले कम्पनीहरुको पीआर अर्थात् जनसम्पर्क बढेका कारण रोयल्टी उठाउन शुरु गर्न बेर छैन ।

त्यस्तै मोबाइल र च्याट बक्सहरुबाट ‘रजनीकान्त’ वा ‘ओबामा’सम्बन्धी असङ्ख्य जोक छिनछिनमा आदानप्रदान गरेर कर्मचारीहरुलाई उत्साहित बनाइराखेका कारण कम्पनीको कति उत्पादकत्व बढ्यो भनेर लेखाजोखा पनि अहिलेसम्म कसैले गरेको छैन होला । आजका युवा किताब पढ्नतिर ध्यान दिँदैनन् वा स्कूलकलेज हापेर डिस्को वा साइबर जान्छन् भनेर चिन्ता गर्नुपर्ने पनि कुनै कारण छैन । पढ्ने र पढाउने, सिक्ने र सिकाउने कुरामा पनि आईटीका कारण धेरै परिवर्तन आइसकेको छ । विद्यार्थीहरुले ट्रिपल डब्ल्यूबाट सजिलै आउने ट्रिपल एक्सबाट पनि आआफ्नो क्षमता तिखार्न सक्छन् । अब सरोकारवाला वा मेला आयोजकहरुले युवाहरुलाई कसरी आवश्यक आईटी उपकरणहरु उपलब्ध गराउँदै जाने भन्नेतिर सोच्नमात्र थाल्नुपर्दछ । त्यस्तै अब नर्सरी पढ्ने हरेक बच्चालाई समेत टचस्क्रीन भएको मोबाइल उपलब्ध गराउनुपर्छ । सबै अफिसमा कर्मचारीलाई वाईफाई, सबै केटाकेटीलाई निरन्तर इण्टरनेटको सुविधा घरमा पनि उपलब्ध गराउनुपर्छ ताकि जनसम्पर्क विस्तार गर्न चाहनेले सो गर्न पाऊन् वा जनसङ्ख्या विस्तार गर्न चाहनेले पनि आईटीकै माध्यमबाट त्यसो गर्ने मेलोमेसो भ्याऊन् ।

नेपालको निजीक्षेत्रले त गरेकै छ । अब नेपाल सरकार पनि नेपालमा आईटीमा क्रान्ति गर्न भनेर लडिरहेकै छ । यसका लागि उसले एक ठाउँमा ‘आईटी पार्क’ बनाइदिएको छ । अस्ति नै एउटा उच्चस्तरको आईटी आयोग पनि बनाइदिएको थियो । भोलिका दिनमा पनि यस्तैउस्तै केही न केही त पक्कै गर्ला । एक त अहिले अलि जाडो पनि छ र दोस्रो, प्रायः मन्त्रालयका वेबसाइटहरु बिग्रिएकाले अहिले सरकार अलि सुस्ताएजस्तो देखिएको मात्र हो । के–के न गरुँला भनेर सरकारले भनिरहेकै छ । शहरका घरहरु भत्काउँदै हिँडिरहेकै छ । भनेपछि आईटीमा पनि सरकारले केही न केही त पक्कै गर्ला । त्यसको छनक त रातिराति कार वा बाइकमा हिँड्नेहरुको मुख ट्राफिकलाई सुँघाएर गर्न थालेको छ । त्यसका लागि कसले के खाएको वा पिएको छ भनेर पत्ता लगाउन एउटा ‘ब्रेथलाइजर’ भन्ने आईटी उपकरण पनि ल्याएको छ रे सरकारले ।।