गरीबीविरुद्धको लडाइँ
मदन लम्साल
हामी नेपाली बहादुर छौं भन्ने कुरा त भन्नै पर्दैन, सबैलाई थाहा छ । बहादुर हुनुको सबभन्दा ठूलो प्रमाण लडिरहनु हो । त्यस्तो लडाइँ जोसँग गरे पनि हुन्छ । तर, लडाइँ निरन्तर हुनुपर्छ । हिजो नेपालीले विदेशी शत्रुविरुद्ध लडेकै हो । अझ भन्ने हो भने हामी गरीबी, भोक, रोगविरुद्ध मात्र होइन, आफै विरुद्धसमेत लडिरहेकै छौं । नलडी केही प्राप्त पनि हुँदैन भन्ने तत्व ज्ञान नेपाली जातिलाई सम्भवत: संसारमा सबभन्दा बढी छ ।
गहन विचार गर्दा भने हिजोआज हामी गरीबीका विरुद्ध अलि बढी नै लडिरहेको भान हुन्छ । राजनीतिमा लाग्नेहरु धेरैले आफ्नो गरीबीविरुद्ध लडेर विजय पाइसकेका छन् । तैपनि उनीहरुले आफ्नो लडाइँ जारी राखेका छन् र गरीबीलाई झन् टाढा भगाएका छन् । यसमा कतिपयले अवैध तरीकाले गरीबी घटाएको भनेर आलोचना पनि हुन्छ । तर, त्यो नबुझेर भनिएको हो । लडाइँमा जुनसुकै उपाय लगाए पनि हुन्छ भन्ने पुरानै मान्यता हो, तसथ गरीबीविरुद्धको लडाइँमा पनि जुनसुकै उपाय लगाउन पाइनुपर्ने नै हो ।
हिजो पनि शाह राजाविरुद्ध राणाहरु लडेरै आफ्नो गरीबी निवारण गरेका थिए । शाहहरु गरीब हुँदै गएपछि फेरि राणाविरुद्ध शाहहरु लडे र आफ्नो गरीबी हटाए । हिजोआज राणा र शाहविरुद्ध लडेर आएका भनिएकाहरुले आफ्नो गरीबी राम्रैसँग घटाएका छन् वा पूरै हटाएका छन् । आफ्नो गरीबीविरुद्ध लड्न कसैले आफ्नो शरीर बेचिरहेका छन् भने कसैले रातो पासपोर्ट । केही नहुनेले आफ्नो इमान जमान बेचेर भए पनि आ-आफ्नो दरिद्रताविरुद्ध लडिनै रहेका छन् ।
गरीबीविरुद्ध केवल राजनीतिकर्मी वा सरकारी कर्मचारी मात्र लड्ने होइनन् । उद्योगी व्यवसायी पनि लडिनै रहेका हुन्छन् । त्यसो गर्न उनीहरु नक्कली बिल बनाउनेदेखि हि्वस्कीका बोतलका बिर्को उडाउनेसम्म गर्न बाध्य हुन्छन् ।
लडाइँ धेरै ठाउँमा धेरै कुरामा हुन सक्छ । लडाइँ कपालको चायाविरुद्ध हुन सक्छ भने चुनावमा प्रतिद्वन्द्वीविरुद्ध पनि हुन सक्छ । अहिले बैङ्क तथा उद्योगी व्यवसायीबीच बैङ्क ब्याजको विषयलाई लिएर वाक्युद्ध अर्थात् बोलीको लडाइँ चलिरहेको छ । त्यस्तै बैङ्क र घरजग्गा व्यवसायीहरु आ-आफ्नो नाफाका लागि आफै आफै भित्रभित्रै लडिरहेका छन् । तर, त्यसमध्ये कतिपय बैङ्कका सीईओ र कतिपयका सञ्चालक समितिका मानिसले आ-आफ्ना गरीबीविरुद्ध लडेर धनलक्ष्मीलाई आ-आफ्नो घरभित्र ल्याउन सफल भएका देखिन्छन् । त्यसमध्ये कतिपयचाँहि लड्दालड्दै आफै थचारिन पुगेका छन्, एनएसएम फाइनान्सका अध्यक्ष योगेन्द्र श्रेष्ठ वा गोर्खा विकास बैङ्कका पूर्वअध्यक्ष डीबी बम्जन जस्तै ।
जे होस्, जताततै गरीब र गरीबीविरुद्ध लडाइँ जारी नै छ । अब बाँकी रहेका गरीबहरुको पनि आफ्नो गरीबीविरुद्ध लड्ने पालो आउँछ जस्तो छ । एकदिन पालो सबैको आउँछ । तर, अबको लडाइँ भने राजनीतिक दलका नेता र सर्वसाधारणका बीच हुने देखिन्छ । त्यो चाँहि सबैभन्दा 'इण्टरेष्टिङ' होला जस्तो छ ।
किनभने नेताहरुले आफ्नो गरीबीविरुद्ध लड्ने काम धेरै सिध्याइसके, प्राय: सबै धनी भइसके । आफ्नो गरीबी घटाउने क्रममा नेताहरुले कति गरीबहरुलाई बन्दुकले उडाए र कतिलाई झन्झन् गरीब बनाए । त्यसैले अब गरीबीविरुद्ध लड्ने पालो सर्वसाधारणको हो । गरीबीका कारक नेताहरुका विरुद्ध लड्न सर्वसाधारणसँग बन्दुक नहुने हुनाले उनीहरुले पक्कै पनि अब नेताहरुलाई जहाँ भेटयो त्यहीं हात र लातले भए पनि कुटीकुटी लडनेछन् भन्ने ठोकुवा गर्न सकिन्छ ।
Admin 2011-05-13