अब बढ्छ वैदेशिक लगानी
मदन लम्साल
नेपालमा वैदेशिक लगानी नआएको चिन्ता अब हट्ने भएको छ । वास्तवमा वैदेशिक लगानीकर्ताले जे पनि जति पनि मूल्यमा बेच्न पाइने ठाउँमा नै लगानी गर्छ । किनभने त्यही ठाउँबाट मात्र छिटोछिटो नाफा कमाउन सकिन्छ । नेपाल नै यस्तो एउटा मुलुक हो जहाँ जसले जसरी जति मोलमा जे बेचे पनि पूरा-पूरा छूट छ । यहाँ गुँदपाक भनेर चिनी मिसाएर गोबर बेच्न व्यापारीलाई छूट छ । म्याद सकिएको औषधिका टयाब्लेट र क्याप्सुल बेच्न छूट छ । चामलमा ढुङ्गा सरीबरी, रक्सीको नाममा युरिया मलको झोल बराबरी बेच्छन् नेपालका व्यापारीहरु । तैपनि कहिल्यै कसैलाई खास कारबाही हुँदैन ।
अहिले त वाणिज्य विभागले कारबाही गर्यो नि भन्लान् कसैले तर यो त दशैंखर्चको जोहोको मेलो पनि हुन सक्छ । यस्तो कारबाही गर्न चाडवाडकै मुख पर्खेर बस्ने बाध्यता कर्मचारीलाई पर्नुको बाध्यता तिनका अर्धाङ्गिनीबाहेक अरुलाई थाहा छैन । त्यसैले यो विभाग खाद्यसामग्रीको गुणस्तर र मूल्यको विषयमा निरीक्षण गर्ने भनेर हरेक वर्ष दशैंअगाडि एकाएक सपनाबाट ब्यूँझिएजस्तो गरेर बजारमा जागरण कारबाही अगाडि बढाउँछ, वर्षको बाह्रै महीना अनुगमनलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दछ । अनि त्यसपछि ११ महीना 'हाइबरनेशन' अर्थात् सुषुप्त अवस्थामा जान्छ । किन ?
वाणिज्य विभागका आँखा दायाँबायाँ मोडिने फटिकका जस्ता छन् । त्यसैले होला यसले कुनै कोसौं परका अनियमितता गर्ने कम्पनी देख्छ र आँखैमुनिका धेरैलाई देख्दैन । भारतीय औषधि कम्पनीहरु नेपालका विक्रेताहरुलाई तीन सय प्रतिशतसम्म कमिशन दिन्छन् अरे । तब न विक्रेताहरु डाक्टरले प्रेश्क्रिप्सनमा लेखेको कम्पनीको सट्टा अर्कै कम्पनीको औषधि ग्राहकलाई भिडाउछन् । पेट्रोलियममा ५ रुपैया बढ्दा रेलिङ भाँच्ने, सरकारी गाडी जलाउने नेपालका उपभोक्ताहरु औषधिमा यत्रो घोटाला हुँदा पनि साधुसन्त बनेर तिनै नक्कली कम्पनीका नक्कली औषधिमै रमाइरहेका छन् । यस्ता कुरा त कति छन् कति ।
नेपालका निजी विद्यालय तथा कलेज चलाउने प्राय: प्रवर्द्धकहरुले शिक्षाक्षेत्रबाट कमाएको पैसाले शहरमा व्यक्तिगत महल ठडयाएका छन् र थुप्रै सम्पत्ति पनि जोड्न भ्याएका छन् । तर, सरकारले शिक्षामा १ प्रतिशत कर लगाएकोमा उनीहरुले त्यसविरुद्ध आन्दोलन पनि चलाएका छन् । त्यसो भए आफ्नो स्कूल वा कलेजलाई नाफामूलक कम्पनीमा दर्ता गर्न छाडेर सामाजिक संस्थाका रुपमा दर्ता गरेर आउनु भनेर सरकारले भन्दा त्यसो गर्न पनि मान्दैनन् ।भनिन्छ, नेपाल विश्वमै धेरै भ्रष्टाचार हुने देशमा दरिइसकेको छ । तर, सुडान घोटालाकाण्डका केही पुलिस, चिरञ्जीवी र चतुर्वेदीलगायत एकदुई बलिका बोकाबाहेक कसैलाई भ्रष्टाचारमा कारबाही गर्न सकेको छैन । कि हल्ला गरिएजस्तो नेपालमा भ्रष्टाचार छैन ?
सरकारमा गएपछि त आफ्नै सरकारलाई एमाओवादीले हतियार पक्कै बुझाउनेछ भन्ने धेरै मानिसको आशा थियो । तर, बुझाएन । कब्जा गरेको घरजग्गा पनि फिर्ता गरेन । बन्दुकले नै सत्ता, नाम र दाम सबै पाइन्छ भने कसले, कसलाई केका लागि बन्दुक बुझाउने र किन ? यसरी नेपालको शिक्षा, स्वास्थ्य, खेल, पर्यटनलगायत प्राय: सबै क्षेत्रमा विकृति, विसङ्गति, अव्यवस्थापन, भ्रष्टाचार आदि सबै छन् । तर, पनि यस विषयमा नेपालमा जान्ने, सुन्ने, बुझ्ने, देख्ने, लेख्नेहरु कोही, कतै, केही बोल्दैनन् । नेपालको जस्तो लगानीको सहज वातावरण यी सबै कारणले गर्दा अन्य कुनै देशमा नभएको ठोकुवा नै गर्न सकिन्छ । व्यवसाय गर्न अन्तजस्तो अप्ठयारो यहाँ पटक्कै छैन । त्यसैले त नेपाल वैदेशिक लगानीका लागि 'युनिक एण्ड मष्ट एट्रयाक्टिभ डेष्टिनेशन' हुने सम्भावना बढ्दै गएको हो । अब नेपालमा धेरै पर्यटकहरु मात्र हैन, ठूला वैदेशिक लगानीकर्ताहरु पनि लर्को लागेर यहाँ आउनेछन् । अन्तरराष्ट्रिय गुँदपाक र मिनरल वाटर कम्पनीहरु खोल्ने छन् । यही बुझेर नै नेपालले सन् २०१२ लाई लगानी वर्षघोषणा गरेको बुझ्न गार्हो छैन